यातायात कार्यालयको राजस्व संकलनमा वृद्धि

मोरङ – कोरोना भाइरसको महामारीसँगै विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले ११ महिनामा २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

कोरोना महामारीबीच सवारी दर्ता नवीकरण (ब्लुबुक नवीकरण), सवारीसाधन कर, यातायात क्षेत्रको आम्दानी गरी २२ करोड ४८ लाख २० हजार रुपैयाँ संकलन भएको कार्यालयका शाखा अधिकृत सन्तोष कोइरालाले जानकारी दिए।

शाखा अधिकृत कोइरालाका अनुसार राजस्व संकलन हुने क्रममा ०७६/७७ को तुलनामा ०७७/७८ मा राजस्वमा उल्लेख्य वृद्धि भएको हो। गत आर्थिक वर्षमा कार्यालयले १७ करोड ७५ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गर्दा यसपटक जेठसम्म रकम वृद्धि हुँदै २२ करोडभन्दा बढी राजस्व संकलन भएको हो।

कार्यालयका अनुसार जारी वर्ष यातायात क्षेत्रको आम्दानीमा २१ लाख ४६ हजार, सवारी ब्लुबुक नवीकरणमा १ करोड ३५ लाख ७३ हजार र सवारीसाधन करतर्फ २० करोड ९१ लाख रुपैयाँ संकलन भएको हो।

राजस्व संकलनका क्रममा कार्यालयमा वार्षिक करिब ११ हजारको संख्यामा मोटरसाइकलको कर संकलन हुने गरेको छ।

शाखा अधिकृत कोइरालाले यस वर्ष पनि दुई चक्के सवारीसाधनको आयात बढी हुँदा कर पनि वृद्धि भएको जानकारी दिए।

कार्यालयमा गत आर्थिक वर्षमा यातायात क्षेत्रको आम्दानी १ करोड ३ हजार ५ सय, सवारी ब्लुबुक नवीकरणतर्फ ७१ लाख ६२ हजार र सवारीसाधन कर १६ करोड ९३ लाख ३७ हजार गरी १७ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयमा हालसम्म ४ जना कर्मचारी कोरोनाबाट संक्रमित भएको बताउँदै कोइरालाले प्रशासनले जारी गरेको निर्देशन अनुसार सेवाग्राहीको सहजतामा कार्य भइरहेको जानकारी दिए।

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्