मन्त्रीहरु कमिसनको मिलेमतोमा व्यस्त भएः कांग्रेस नेता कार्की

मोरङ – प्रदेश सरकार तस्करहरूको चंगुलबाट बाहिर निस्कन नसकेको आरोप नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले लगाएका छन्।

ओखलढुंगास्थित नेपाल प्रेस युनियन शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा प्रमुख सचेतक कार्कीले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको मिलेमतोमा सरिक हुँदा समस्या गम्भीर हुँदै गएको बताएका हुन्।

मन्त्रीहरूले कमिसनको मिलेमतोमा हुँदा प्रदेश सरकारप्रति जनताको विश्वास कम हुँदै गएको कार्कीले दाबी गरे।

उनले भने, ‘कोरोना संक्रमणदेखि स्वास्थ्य सामग्री, औषधि खरिदमा ठूलो मात्रामा अनियमितता भएको सर्वत्र छ। जनताले सहज रूपमा खोप पाउन सकेका छैनन्। सरकार गैर जिम्मेवार बन्दै मौनता साँधिरहेको छ।’

प्रदेशको बजेटलाई मुख्यमन्त्री केन्द्रित बनाएको आरोप लगाउँदै कार्कीले मुख्यमन्त्री जनताको सेवक भन्दा पनि शासक बन्दै गएको बताए।

प्रदेशमा जनताका लागि केही काम नगरेरै मुख्यमन्त्री वाहवाहीमा रमाउन उद्वेलित रहेको उनको भनाइ छ।

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठी चामल दिएर अघाउन लगाएजस्तो भएको भन्दै टिप्पणी गरेका थिए।

सोही क्रममा उनले हालसम्म पनि प्रदेशको नामकरण गर्न नसक्नु प्रदेश सरकारको अकर्मण्यता भएको बताए। एमालेभित्रको वैमनश्यलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार प्रदेशको नामकरण गर्न असफल हुँदै गएको उनको भनाइ छ।

उनले भने, ‘बहुमतको सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसक्नुले सरकारले जनताको भावना बुझ्न नसकेको हो। सरकार शतप्रतिशत गैरजिम्मेवार बन्दै गएको छ।’

असार ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्