हेलम्बु – औपचारिक उद्घाटन भएर दुई महिनाका लागि राेकिएकाे मेलम्ची खानेपानी परियोजना फेरि काठमाडौंबासीका लागि मृगतृष्णा हुने देखिएको छ।

असार १ गते हेलम्बु नदीमा आएको बाढीले हेलम्बु १ अम्बाथानमा लामो समय लगाएर निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाका सबै संरचना क्षतविक्षत भएका हुन्।

बाढीले क्षतविक्षत बनाएका यी संरचनाको सम्भार र मर्मतमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने देखिएको छ। बाढीका कारण केही संरचना पुरिएका छन्। के–के बगायो? हालसम्म त्यसको कुनै लेखाजोखा हुन पाएको छैन।

बाढीले दुवै तर्फका पहाड काट्दै लगेको छ। बाढीका कारण एकापट्टी दोरिड गाउँ जोखिममा परेको छ भने अर्कोतर्फ खर्चुङ गाउँ पनि जोखिममा परेको छ।

मेलम्ची खानेपानी आयोजनामा पुग्ने सडकसमेत बाढीले बगाएका कारण यसको निर्माण तत्काल सम्भव देखिँदैन।