साप्ताहिक विश्लेषण (जेष्ठ ३० देखि असार ५)

नेपालमा काेराेना संक्रमण लुकेर बसेको देखिन्छ

विश्व लगायत नेपालमा पनि प्यान्डेमिकका केही लहरहरु आए  र गए। भविष्यमा अझै कति आउन बाँकी छ थाहा छैन। तर विश्वका विज्ञहरुले अर्को लहर फेरि आउँछ भन्ने जानकारी बेला बेलामा गराउने गरेका छन्। यस प्यान्डेमिक कालमा विश्वमा भइरहेको कोरोना संक्रमणको प्रवृत्तिले पनि त्यस्तै लक्षण देखाउँदछ।

उदाहरणको लागि ब्राजिल जहाँ हालसम्म कोरोना संक्रमणको प्यान्डेमिक लहरमा धेरै चोटी उतारचडाव भइसकेको छ र पछिल्लो समयमा नयाँ संक्रमण र मृत्यु फेरि बढ्ने क्रममा  देखिन्छ। भारत लगायत दक्षिण एसियामा पनि अर्को लहर आउने आशंका गरिएको छ जुन गएका लहरहरुभन्दा ठूलो र भयानक हुने अनुमान गरिएको छ। यस्तो अवस्थामा नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन।

भविष्यमा आउन सक्ने प्यान्डेमिक लहरले देश र समाजमा कस्तो असर पार्न सक्ला भनेर समयमै विगतलाई फर्केर हेरी गहन अध्ययन गरेमा त्यसले भविष्यमा आउन सक्ने सम्भावित खतरालाई केही हदसम्म न्यूनिकरण र रोकथाम गर्न सक्दछ होला।

दक्षिण एसियामा प्यान्डेमिक लहरको कुरा गर्दा समग्रमा यस क्षेत्र, भारत र श्रीलंकामा वर्तमान लहर दोस्रो लहर थियो भने नेपाल, पाकिस्तान र अफगानिस्तानमा तेस्रो लहर। त्यस्तै बंगलादेशमा पछिल्लो समय चौथो लहर देखिएको छ। माल्दिभ्समा भने पहिला थोरै थोरै नयाँ संक्रमण देखिएकोमा वर्तमान लहर पहिलो जस्तो देखिन्छ जुन पहिलाको भन्दा दशाैँ गुणा ठूलो रह्यो।

भुटानमा पनि यो भन्दा पहिल्ला छिटफुट नयाँ संक्रमण देखिएकोमा वर्तमान लहर पहिलो ठूलो लहर भई पहिलाको भन्दा करिब दुई गुणा ठूलो देखियो। जेनै भए पनि के कुरा निश्चित छ भने पछिल्लो लहर दक्षिण एसियाका सबै देशहरुमा हालसम्मकै सबैभन्दा ठूलो लहर साबित भएको छ।

यसै सन्दर्भमा नेपालको विगतका प्यान्डेमिक लहरहरुको बारेमा केही विश्लेषण गरी हेरौँ।

नेपालको वर्तमान लहर जुन हाल ओरालो लाग्दै गएको छ, नेपाल सरकार र WHOको  तथ्यांकका अनुसार तेस्रो लहर हो। पहिलो लहर जुन गत वर्ष २०२० को मे महिनाको चौथो हप्तातिर सुरु भएर जुलाईको दोस्रो हप्तासम्म रह्यो। त्यो लहर निकै सानो थियो। औसतमा देशभरि दैनिक करिब ४००-५०० जना नयाँ संक्रमण देखा परी १-२ जनाको मृत्यु भएको त्यस लहर करिब डेढ महिनामा सकियो।

त्यति बेला कोरोनाका कारण  जनधनको त्यति ठूलो क्षति नभए तापनि त्यसले जनमानसमा कोरोनाप्रति निकै ठूलो त्रास मात्रै होइन जानकारी पनि फैल्याइदियो। तर दोस्रो र तेस्रो लहरले भने हाम्रो समाजमा निकै ठूलो क्षति पुर्‍यायाे। दोस्रो र तेस्रो लहर बीचको तुलनात्मक चित्र टेबुलमा देखाइएको छ।

टेबुलमा उल्लेख गरिए जस्तै नेपालमा दोस्रो लहर सुरु भएको  करिब ८ महिनापछि तेस्रो लहर सुरु भएको थियो अर्थात् दोस्रो लहर सकिएको करिब साढे दुई महिनामै तेस्रो लहर सुरु भयो। दोस्रो लहर बिस्तारै सुरु भई बिस्तारै ओरालो लग्यो र निकै लामो समय सम्म टिक्यो, करिब ६ महिना/ त्यसको विपरित तेस्रो लहर निकै तीव्र गतिमा बढी छिटै ओरालो लाग्यो। यद्यपि उकालो लाग्ने भन्दा ओरालो लाग्ने क्रम केही सुस्त रह्यो। हालसम्म तेस्रो लहरको अवधि करिब सवा दुई महिना भएको छ र यो सायद अरु केही हप्ता लम्बिने देखिन्छ।

प्यान्डेमिकको यस घडीमा दक्षिण एसियाको विगत १५ दिनको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र नम्बर १ मा देखाइएको छ। चित्रमा देखाइए जस्तै दक्षिण एसियामा विगत केही समयदेखि दैनिक संक्रमण र दैनिक मृत्यु घट्दै जाने क्रम जारी देखिन्छ। दक्षिण एसियाको दैनिक संक्रमण एक महिना अगाडि औसत करिब ४ लाखभन्दा धेरै भएकोमा हाल यो संख्या ७५००० जति भइ क्रमश: घट्दै गएको छ।

यद्यपि पछिल्लो हप्ता संक्रमण कम हुने दरमा केही कमि आई दैनिक संक्रमण केही स्थिर देखिन्छ। त्यस्तै दैनिक कोरोना मृत्यु पनि पछिल्लो समय घट्दै आएको छ। दक्षिण एसियाको दैनिक मृत्यु एक महिना अगाडि औसत करिब ४००० भन्दा  धेरै भएकोमा हाल यो संख्या २५०० जति भइ क्रमश: घट्दै गएको छ।

पछिल्लो समय संक्रमण संख्याको हिसाबले मात्रै होइन संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पनि दक्षिण एसियाली देशहरुको कोरोना संक्रमणमा केही कमि आएको देखिन्छ।

चित्र नम्बर २ ले दक्षिण एसियाली देशहरुको गत दुई हप्ताको,जोन्स होप्किन्सविश्वविद्यालय (Johns Hopkins University)र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रवृत्ति देखाएको छ।

पछिल्लो समय नेपाल, भारत, माल्दिभ्स र पाकिस्तानको संक्रमण दर बिस्तारै घट्दै गएको छ भने श्रीलंका र बंगलादेशको संक्रमण दर बिस्तारै बढ्ने क्रम जारी देखिन्छ। स्मरण रहोस्, माथि उल्लेख गरिए जस्तै बंगलादेशमा प्यान्डेमिकको पछिल्लो लहर गत अप्रिल महिनाको पहिलो साता उच्च बिन्दुमा पुगी मे महिनाको दोस्रो सातासम्म निकै कम भइसकेकोमा त्यसपछि लगत्तै १ हप्तापछि नै फेरि उकालो लाग्न सुरु गर्‍याे। हाल त्यहाँ संक्रमण बढ्दै गएको देखिन्छ।

यस्तै श्रीलंकामा पनि यो भन्दा पहिला कहिलै दैनिक १००० भन्दा  धेरै नयाँ संक्रमण नभएकोमा वर्तमान लहर विगत करिब एक महिनादेखि दैनिक २५००-३००० नया संक्रमण देखा परी निरन्तर अघि बढिरहेको छ। यसबाट के कुरा स्पष्ट हुन्छ भने विश्वमा कोरोना प्यान्डेमिकले अझै कुनै एक निश्चित बाटो लिइसकेको छैन र भविष्यमा यसका अनेक रुपको  हामीले सामना गर्नु पर्ने छ। यसबाट हामीले शिक्षा लिई बेलैमा तयारी गर्नु पर्ने देखिन्छ।

माथि उल्लेख गरिए जस्तै पछिल्लो अवस्थामा विश्व र दक्षिण एसियामा कोरोना संक्रमणमा केही कमि आइरहेको अवस्थामा विश्वको तुलनामा दक्षिण एसियाको संक्रमण अनुपातमा पनि केही हप्तादेखि कमि आएको छ। वर्तमान प्यान्डेमिक उच्च बिन्दुमा पुगेको बेला मे महिनाको पहिलो सातातिर विश्वको दैनिक संक्रमण मध्ये ५५% सम्म दक्षिण एसियामा देखिएकोमा हाल यो अनुपात करिब २०%मा झरेको छ। त्यस्तै दैनिक मृत्यु मेको तेस्रो सातातिर दक्षिण एसियामा मात्रै विश्वकै ४०% भन्दा धेरै देखिएकोमा हाल यो अनुपात करिब २५% मा झरेको छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुन १७ का दिन सम्ममा ३२४९३९३२ जनामा यो संक्रमण लागिसकेको छ भने ४३१८१८ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ जुन १३ देखि १९ (बि.सं. २०७८ जेष्ठ ३० देखि अषाढ ५) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यसलेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। 

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गत हप्ता सन् २०२१ जुन १३ देखि १९ (बि.सं. २०७८ जेष्ठ ३० देखि अषाढ ५) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.३ मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। यद्यपि हाल सरकारले पीसीआर कम गर्दै कोरोना एन्टिजेन टेस्ट बढाउँदै लागेको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, अषाढ ५ गते शनिबारसम्म, देशभरि जम्मा २१६७८जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६१९६३५ पुगेको छ। विगत करिब २ महिना देखि गुणात्मक हिसाबले बढ्दै गएको नेपालको संक्रमण संख्या विगत ४ हप्तादेखि केही कम हुँदै गई साप्ताहिक संक्रमण संख्या गत हप्ता २१६७८बाट १२८५७ मा झरेको छ।

तर चित्रमा देखाइए जस्तै परीक्षणको संख्यासँगै दैनिक संक्रमण र मृत्युको संख्या पनि तल माथि भएको देखिन्छ जुन राम्रो कुरा होइन। त्यसले  संक्रमण लुकेर बसेको हुन सक्ने प्रवल सम्भावना देखाउँदछ। अधिकतम परीक्षणमा न्यूनतम संक्रमण देखिनु नै आजको कोरोना नियन्त्रणको लक्ष हुनु पर्दछ।

त्यसै गरी विगत डेढ महिनाभन्दा लामो समयदेखि बढ्दै गएको कोरोना मृत्युमा पनि दुई हप्ता देखि केही कमि आएको छ र साप्ताहिक मृत्यु गतहप्ता ५६७ बाट ३०९ पुगेको छ। यसरी कोरोना संक्रमण र कोरोना मृत्यु दुवै घट्दै आउनु सुखद समाचार हो।

चित्र नम्बर ४ ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइए जस्तै गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा २९% देखिएको छ।

तीनहप्ता अगाडि यो अनुपात ३२% थियो र विगत केही हप्तादेखि यो अनुपात क्रमश: झर्दै गएको देखिन्छ. यसले के संकेत गर्दछ भने हाल नेपालमा संक्रमण काठमाडौँ उपत्यकाभन्दा काठमाडौँ बाहिर फैलिँदैछ। पछिल्लो समय कोरोना संक्रमण बागलुङ, मोरङ, सुनसरी, झापा, मकवानपुर, म्याग्दी, कास्की आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटीदर) (Positivity Rate)


प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। चित्र नम्बर ५ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ।

गतहप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेको देखिन्छ। गतहप्ता पोजिटिभिटीदर न्यूनतम २१.७१% देखि अधिकतम २५.९३%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२३.२८%रह्यो। यसरी विगत करिब डेढ महिनाभन्दा लामो समयदेखि निरन्तर उकालो लागेको नेपालको कोरोना संक्रमणदर अर्थात् पोजिटिभिटी विगत केही हप्तादेखि कम हुँदै गएको छ। चित्रमा देखाइए जस्तै नेपालको संक्रमण दर अझै पनि दक्षिण एसियामा सबैभन्दा उच्च मात्रै छैन अन्यको भन्दा निकै माथि पनि छ।

संक्षेपमा, माथिका तथ्यांकहरुबाट गतहप्ता दक्षिण एसियार नेपालमा प्यान्डेमिक लहर केही ओरालो लाग्दै गएको देखिन्छ। तर विश्वको भौगोलिक स्थिति अनुसार समय समयमा प्यान्डेमिकको स्वरुपमा परिवर्तन देखिनुले कोरोना प्यान्डेमिक अझै अनिश्चित छ भन्ने देखाउँदछ।

तसर्थ अन्यत्रको घटना र विगतको घटनाबाट शिक्षा लिई भविष्यमा कोरोना नियन्त्रणको दीर्घकालीन योजना बनाउनु आवश्यक देखिन्छ। पछिल्लो समय परीक्षण पनि कम गरिँदै लगिएको छ। हाल देशभरि दैनिक करिब ७५००-९५०० पीसीआर र करिब ४५००-५५०० मात्रै एन्टिजेन परीक्षण गरिनु वर्तमान संक्रमण दरको अनुपातमा अति कम हो।

WHOको मापदण्ड अनुसार नेपालमा अझै परीक्षण र कोरोना रोकथामका उपायहरु कम गर्ने बेला भइसकेको छैन। दैनिक जनजीवन र आर्थिक कारोबारलाई पनि चलायमान राख्नको लागि कोरोना संक्रमण नियन्त्रणका उपायहरुका स्वरुप परिवर्तन गर्नु पर्ने देखिछ। पछिल्लो समयमा काठमाडौँ बाहिर संक्रमण ज्यादा देखिनुले पनि थप परीक्षणको आवश्यकता औल्याउँदछ र देशभरि उपयुक्त र दीर्घकालीन तरिकाले प्यान्डेमिक नियन्त्रण गर्नु पर्ने देखिन्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ।

prabinshrestha@hotmail.com

डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्