गत कोपा अमेरिकायता नहारेको अर्जेन्टिना कहिलेसम्म रहला अपराजित?

जारी कोपा अमेरिकाको समूहगत चरणको आफ्नो तेस्रो खेलमा मंगलबार बिहान अर्जेन्टिनाले पाराग्वेसँग खेल्दै छ।

पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई १-० गोलले हराएको थियो। २ खेलबाट ४ अंक भएको अर्जेन्टिना समूह ‘ए’को शीर्षस्थानमा छ। पाराग्वे एक खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ। उसले बोलिभियालाई ३-१ गोलले हराएको थियो।

सन् १९९३ पछि पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने प्रयासमा रहेको अर्जेन्टिना पछिल्ला १५ खेलयता अपराजित रहेको छ। उसले सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग २-० गोलको हार ब्यहोरेयता खेलेका अन्तर्राष्ट्रिय खेलहरुमा ८ जित र ७ बराबरीको नतिजा निकालेको छ।

अर्जेन्टिनाले लगातार तीन बराबरीपछि पछिल्लो खेलमा जित हात पारेको हो। पाराग्वे पनि लय समात्ने प्रयासमा छ। चार खेलको जितबिहिन यात्रापछि उसले पछिल्लो खेलमा बोलिभियालाई हराएको थियो। पाराग्वेले चार खेलयता अर्जेन्टिनासँग हार ब्यहोरेको छैन।

यसबीचमा उसले ३ बराबरी र एक जितको नतिजा निकालेको छ। अर्जेन्टिनाले अन्तिमपटक सन् २०१५ मा भएको विश्वकप छनोटमा पाराग्वेलाई हराएको थियो। त्यतिबेला पाराग्वे ६-१ गोलले पराजित भएको थियो। त्यसयता आफूबीच भएका चार खेलमा दुवै टोलीले एकभन्दा बढी गोल गर्न सकेका छैनन्।

प्रतियोगिताअन्तर्गत मंगलबार बिहान हुने अर्को खेलमा चिली र उरुग्वे भिड्ने छन्। यो चिलीको तेस्रो र उरुग्वेको दोस्रो खेल हुने छ।पहिलो खेलमा अर्जेन्टिनासँग १-१ गोलको बराबरी खेलेको चिलीले दोस्रो खेलमा बोलिभियालाई १-० गोलले हराएको थियो।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्