नेपालमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन फेला

काठमाडौँ– नेपालमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ को नयाँ म्युटेसन फेला परेको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै डेल्टा भेरियन्टको परिस्कृत रुप ‘डेल्टा प्लस’ म्युटेसन भेरियन्ट फेला परेको जानकारी दिएको हो।

नेपालका विभिन्न ठाउँबाट संकलन गरिएको ४८ वटा नमूना परीक्षणका लागि पठाइएको थियो। जसमध्ये ४७ वटामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

डेल्टा भेरियन्ट देखिएको कुल नमुना स्वाबमध्ये ९ जनाको स्वाबमा डेल्टाको उत्परिवर्तित रुप के४१७एन म्युटेसन देखिएको हो।

त्यसलाई आधिकारिक नाम एवाई –१ दिइएको छ। हालसम्म डेल्टा भाइरसको यो रुप नेपालसहित भारत, पोर्चुगल, बेलायत, अमेरिका लगायत १० देशमा पाइएको छ।

मन्त्रालयले नेपालमा भने यससहित डेल्टा र अल्फा बढी संक्रामक र संक्रमितलाई गम्‍भीर अवस्थामा पुर्‍याउन सक्ने भएकाले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न भनेको छ।

मन्त्रालयले भाइरस बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने बताएको छ।

उक्त नमुनाहरु जेष्ठ २६ मा भारतको नयाँ डिल्ली स्थित द इन्सिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा सिक्वेन्सिङका लागि पठाएको मन्त्रालयले जनाएको छ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्