मोरङमा निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ सम्म लम्ब्याइयो

मोरङ– जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञाको समयतालिकामा फेरबदल गरेको छ।

प्रशासन कार्यालयमा सोमबार सम्पन्न डिसिसिएमसी बैठकले निषेधाज्ञा असार १४ गते यथावत कायम राखेपनि समयतालिका परिवर्तन गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले स्वास्थ्य मापदण्ड कायम गर्दै पुस्तक पसल, कपडा, सुनचाँदी, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, विद्युतीय सामाग्री, खाना पकाउने ग्यास, तरकारी फलफूल, खानेपानी, माछामासु, खाद्यान्नलगायतका सबै प्रकारका पसल खोल्न सकिने जानकारी दिए।

यद्यपि पसल खोल्ने समय विहान ५ बजेदेखि १२ सम्मका लागि निर्धारण गरिएको प्रजिअ निरौलाले बताए।

गएको दुई महिनादेखि बन्द रहेको लत्ताकपडा तथा सुनचाँदी व्यवसायीलाई भने यसपटकबाट केही राहत हुने देखिएको छ। प्रशासनले वित्तीय संस्था, स्वास्थ्य क्षेत्र, दुरसञ्चार, सरकारी कर्मचारीले परिचयपत्रको प्रयोगमा आवतजावत गर्दै काममा सक्रिय हुन सक्नेछन्। यसक्रममा वर्कसप भने विहानबाटै सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ।

अर्कोतर्फ, होटल, रेष्टुरा, पार्टी प्यालेस, सेलुन, रंगशाला, कभर्ड हल, ब्युटीपार्लर, जिम, स्वीमिङ, सिनेमा लगायतका स्थानमा लगाइएको बन्देज कायम राखिएको छ। यसक्रममा लामो तथा छोटो दूरीको सवारीसाधनमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउने प्रशासनले जनाएको छ।

प्रशासनले पुस्तक पसल खुला गर्न समय निर्धारण गरेको भएपनि विद्यालय, क्याम्पस, ट्युसन तथा कोचिङ सेन्टर, विश्वविद्यालय लगायतका शैक्षिक क्षेत्रको बन्द यथावत रहेको छ।

कोरोना संक्रमणलाई ध्यानमा राख्दै विवाह, व्रतबन्ध, सामाजिक कार्य नगर्न प्रशासनले आग्रह गरेको छ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्