प्रदेश २ को बजेट खर्च सुस्त गतिमा, ११ महिनामा ३१.४७ प्रतिशत बजेट खर्च

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ। साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए।

प्रदेश सरकारले ०७७।७८ को ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ। चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरेकामा ११ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख अर्थात् ३४.९ प्रतिशत खर्च गर्न सकेको छ।

त्यस्तै, पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले ५ अर्ब ६८ करोड ६५ लाख अर्थात् २९.२३ प्रतिशत मात्र खर्च गर्न सकेको छ।

चालु वर्षको ११ महिनामा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ। यो मन्त्रालयले ४१.१४ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ ३५ करोड ६० लाख ८१ हजार र पुँजीगततर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ।

त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो कुल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गर्न सकेको छ। यो मन्त्रालयले चालुतर्फ ७ करोड ६ लाख ८६ हजार र पुँजीगततर्फ १ करोड ८० लाख १० हजार बजेट खर्च गर्न सकेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ ६६ करोड ४३ लाख ४८ हजार र पुँजीगततर्फ ४० करोड ५४ लाख ६० हजार गरी १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ।

सामाजिक विकास मन्त्रालयले साउनदेखि जेठसम्म चालुतर्फ १ अर्ब ५२ करोड २१ लाख र पुँजीगततर्फ ५८ करोड ४ लाख १ हजार रुपैयाँ गरी २ अर्ब ८ करोड २५ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु वर्षको ११ महिनाको अवधिमा २४.२४ प्रतिशत बजेट खर्च गरेको छ।
चालुतर्फ २० करोड र पुँजीगततर्फ ९२ करोड ७८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ।

यो मन्त्रालयले कुल १ अर्ब १२ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालुतर्फ १० करोड ७ लाख ५३ हजार र पुँजीगततर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ।

सबैभन्दा कम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३.८ प्रतिशत बजेट खर्च गरेको छ।

चालु वर्षको ११ महिनामा यो मन्त्रालयले चालुतर्फ ३४ करोड १० लाख ६१ हजार र पँुजीगततर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्