धनुषामा निषेधाज्ञा एक साता थपियो, निजी सवारीसाधन र टेम्पु जोरबिजोर प्रणालीमा चलाउन पाइने

जनकपुरधाम – धनुषामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ। सोमबार कोभिड १९ संकट व्यवस्थापन समिति धनुषामा बसेको बैठकले एक साताको लागि थप खुकुलो गरी निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

धनुषामा पछिल्लो समय कोरोना संक्रमणको दरमा सुधार हुँदै गएकाले उक्त संक्रमणको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रजिअ बास्तोलाले बताए।

स्थानीय प्रशासनले वैशाख २१ गतेदेखि लगाएको निषेधाज्ञापश्चात पहिलो पटक सवारी साधन सञ्चालनमा छुट दिएको छ। निजी सवारी साधन एवं तीनपांग्रे टेम्पु जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरिएको हो।

त्यस्तै, निर्माण सामग्रीलगायत आवश्यकीय व्यवसाय बिहान ६ बजेदेखि साँझ ३ बजेसम्म र औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसल २४ औँ घण्टा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय भएको छ।

होटल, रेष्टुरेन्टले अनलाइन अर्डर तथा होम डेलिभरी र टेक अवे विधिबाट सेवा सञ्चालन गर्न पाउनेछन् भने व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने प्रजिअ बास्तोलाले जनाएका छन्।

विवाह, व्रतबन्धजस्ता सामाजिक कार्यको हकमा १५ जनासम्म व्यक्तिको सहभागितामा स्वास्थ्य प्रोटोकल पालना गरी गर्न सक्ने तथा सो प्रयोजनका लागि दुई वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, हाट बजार, मनोरञ्जन स्थल, ब्युटीपार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालनमा अहिले पनि रोक लगाइएको जिप्रका धनुषाले जनाएको छ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्