ग्राउन्ड जिरो

बगरमा बदलिएको पर्यटकीय गाउँ अम्बाथान र भरोसा गुमाएकी आशा

अम्बाथान- हिमाली काख। चिसो हावा, वारीपारी निश्चल हरियो जंगल। घर अघि बाह्रै महिना अबिरल बगिरहने हेलम्बु नदी। कलकल पानी। आफ्नै मेहनत र सीप। आफ्नै आम्दानीको स्रोत। सिन्धुपाल्चोक, हेलम्बु १ अम्बाथान वेशीकी आशा गुरुङ लामाको परिवारले संसारका खुसी परिवारमध्ये आफूलाई पनि एक ठान्थ्यो।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका १, अम्बाथानकी बाढीपीडित आशा गुरुङ। तस्बिरहरु: दीपा दाहाल

परिश्रम उनीहरुका लागि स्वाभिमान थियो। विदेश भन्दा स्वदेशी माटो प्यारो। आशा र उनका पति धोर्जे त्यही सोच्थे। यस्तै सोचबाट जन्मिएको थियो आफ्नै बाख्रा र बंगुरपालन व्यवसाय। साथमा धोर्जे सिकर्मी र डकर्मीको रुपमा चिनिन्थे। व्यवसाय फस्टाउँदै थियो, आम्दानीको स्रोत बढ्दै थियो। दुई छोराछोरीको भविष्य सुन्दर बनाउने उनीहरुको साझा सपना।

०० 
तर आफ्नै खेतबारीको आडैबाट बग्ने नदिमा अचानक बाढी मडारिएर आयो। परिचित नदी एकाकए बिरानो बन्यो। आशाको परिवारको सपना निमेषभरमै क्षतविच्छेद भयो। बाढीले उनीहरुको खुसी एकाएक निमोठ्यो। उनीहरुको घरखेत, बस्तुभाउ, मेसिन सबै बगरमा विलय भए।

वर्षौँदेखि उकाली–ओराली गर्दै, पसिना बगाएर जोडजाम गरेको सम्पत्ति छिन्नभिन्न भयो। योसँगै उनीहरुको मेहनत र भरोसा पनि टुक्रियो। आशाको परिवार विगत सम्झिँदा अन्य बाढीपीडित जस्तै भक्कानिरहेको छ। तर अनिश्चिताको भुमरीमा ऊ सीमित छ।

बाढीको छालले पल्टाउँदा जसरी उनीहरुको आँखामा अन्धकार छायो, त्यसैगरी उनीहरुको जीवनमा पनि कालो बादल मात्रै मडारिएको छ। बाढीले बितण्डा मच्चाएको एक सातासम्म पनि सुरक्षित गास–बासको आश पलाएको छैन उनीहरुमा।

००
एक साताअघि असार १ गते साँझ करिब सात बजे आफ्नो टोल समूहको बैठकमा भाग लिएर छिमेकी दिदीसँगै आशा हेलम्बु नदी किनारको सडक हुँदै घर फिर्दै थिइन्। अचानक उनको आँखा नदीमा बगिरहेको धमिलो पानीमा पर्‍यो। सँधै शान्त रहने नदीको फेरिएको रुप उनका लागि अनौठो थियो। सफा पानी अचानक बिग्रिएर लेदोमा बदलिएको थियो। उनको मनमा चिसो पस्यो। छिमेकी दिदीलाई उनको जिज्ञासा थियो, ‘आज खोलामा किन धमिलो पानी?’ छिमेकी दिदीको छोटो जबाफ आयो,‘ बर्खा लाग्यो। त्यसैले होला।’

असार १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको बाँध खोल्ने यसअघि आशाले कतै सुनेकी थिइन्। त्यसैको असर पो हो कि? उनको मनमा कुरा खेल्यो। तर त्यसमा उनले छिमेकी दिदीसँग थप कुरा गर्न चाहिनन्। बरु उनका पाइलाले गति लिए। तर उनी घर पुग्दा दृश्य बदलिएको थियो। छिमेकीहरु भागभाग गर्दै थिए। हतास थिए उनीहरु। त्यो देखेर आशा पनि अत्तालिन्। पति धोर्जे घर भन्दा माथिल्लो गाउँमा कसैको घर प्लास्टर गर्दै थिए।

अम्बाथानकी बाढी पीडित फुलमाया गुरुङ ।

‘माथिबाट बाढी आउँदै छ रे, बालबच्चा लिएर भागिहाल,‘ इन्डियन मेसमा काम गर्ने आफ्नी आमाले आशालाई फोन गरिन्। अचानक बम पड्किए जस्तो आवाज आयो। यो आवाजसँगै उनी आफ्ना बालबच्चा च्यापेर भाग्न थालिन्। तर केहीबेरमै उनीहरुलाई बाढीले हुत्यायो। समुन्द्रको छालले जसरी। ढुंगा, लेदो, झार, काठ धाउरासहित आएको छालले हानेपछि आशाको आँखामा अन्धकार छायो।  तैपनि उनी उकालोतिर भाग्ने प्रयास गरिन्। आमाको मन। छोराछोरीलाई बचाउन सकिनसकी जंगलतिर हुत्यादिइन्। बच्चाहरु कहिले झारपात समातेर त कहिले रुखमा झुन्डिएर आफूलाई बचाउने प्रयासमा थिए।

तर बाढीले रुखबिरुवा पनि ढाल्न लाग्यो। चिच्चाइरहेका उनीहरुलाई नेपाली सेनाले उद्धार गरे। बाढीले आशाको घर नजिकै रहेको सेनाको क्याम्प पनि ध्वस्त पारेको थियो। साथै सशस्त्र प्रहरी क्याम्प पनि बगाएको थियो। मेलम्ची खानेपानी आयोजनाको बाँधतर्फ जाने सडक पनि सोत्तर बनाएको थियो। ‘चाइनिज क्याम्प’ पनि बाँकी राखेको थिएन। तर सेना आफ्नो कर्तव्य निर्वाहमा तत्कालै जुटेको थियो।

स्थानीयको उद्धारलाई उसले प्राथमिकता दिएको दिएको थियो। यता आशा हिलोमा आधा गडिसकेकी थिइन्। कसोकसो उनी आफैँ त्यहाँबाट निस्किन्। बाढीको युद्ध उनी एक्लैले जितेकी थिइन्। अर्थात आफूलाई बचाउन उनी सफल भएकी थिइन्। बाढीको बिद्रुप रुप अझै तीब्र बन्दै थियो। ज्यान जोगाउन आशा, उनका छोराछोरी, आफन्त र छिमेकीहरु सेनाको हात समातेर राताराता पहाड चढे।

चट्टानै चट्टानको पहाड चढ्न उनीहरुलाई कम्ता मुस्किल परेको थिएन। त्यसमाथि कोही घाइते थिए। कोही खाली खुट्टै थिए। कोही अर्धनग्न। करिब दुई घण्टाको ठाडो उकालोपछि उनीहरु सुरक्षित ठाउँमा पुगे। तर त्यतिञ्जेल आशाको खेतबारी, बस्तुभाउ र घर बगरमा बदलिएको थियो। बाढीले एकपछि अर्को गर्दै सबै सोत्तर बनाएको थियो। त्यति नभएर जंगल काट्दै थियो। आशाले दुःखजिलो गरी पालेका ४ वटा बंङ्गुर र २० वटा बाख्रा पनि बगिसकेका थिए।

गरगहना र लत्ताकपडासम्म निकाल्न पाइनन् उनले। बाढीले आशासँगै उनको माइतीघर र छिमेकी दावा ज्याङ्बु लामाको पनि सर्वस्व हरण गरेको थियो। उनीहरु पनि आशाको परिवार जस्तै रित्तै थिए। पीडाले थिच्चिएकी आशाले कहालीलाग्दो आफ्नो अनुभव सुनाइन्, ‘खोलामा यस्तो बाढी आउला भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ। यसरी बिनास होला भनेर हामीले कहिल्यै सोचेका थिएनौ। मेरो लागि त्यो एक किसिमको लडाईँ थियो।’

बाढीले कटान गर्दै लगेको तिम्बु बजार।

वास्तवमा यो सबै सपना जस्तै लागेको छ आशालाई। हुरी आयो। जायजेथा सबै उडाइलग्यो। बाढीपीडित सपनाकी आमा फुलमाया पनि उत्तिकै बिरक्तिएकी छन्। आफूसँगै परिवारको उठिबास हुँदा उनलाई आघात पुगेको छ। उनले भनिन्, ‘सयौँ वर्षदेखि यहाँ बस्दै आएका थियौँ। हामी हाम्रै पसिनामा खुसी थियौँ। आज सबै भताभुङ्ग भयौँ।’

असार एक गतेको बाढीले अम्बाथानबाट विस्थापित आशा, फुलमाया र दावाको परिवार अहिले आडैमा रहेको तिम्बु बजारको गोल्मादेवी माध्यमिक विद्यालयद्धारा सञ्चालित गोल्मादेवी होस्टेलमा आश्रित हुन पुगेका छन्। यो आश्रय पनि उनीहरुका लागि अनिश्चित बनेको छ। ‘कहिलेसम्म यसरी चल्ला? छोराछोरीको भविष्य के होला?’ आशाले भनिन्।

अम्बाथानका यी बाढीपीडितलाई होस्टेलमा आश्रय दिने बाहेक अरु सहयोग गर्ने हैसियतमा गाउँपालिका छैन। प्रदेश र संघीय सरकारका प्रतिनिधि हालसम्म यहाँ पाइला नटेको स्थानीयले दाबी गरेका छन्। अर्कोतिर आशा, फुलमाया र दावा परिवारले आश्रय लिएको तिम्बु बजार पनि बाढीले काट्दै लगेको छ।

दोरुङबाट देखिएको तिम्बु बजार र हेलम्बु नदिको बाढी ।

पर्यटकीय महत्व बोकेको यो बजारको सुरक्षाका निम्ति प्रयास शून्य छ। ४४ घर बसोबास गर्ने यो बजार मेलम्ची ग्याङ, ठाडेपाटी गोसाइकुण्ड, मिलारेप्पा, तार्के ग्याङ, आमायाङ्ग्रीलगायत हेलम्बुका हिमाली गाउँहरुको सम्पर्क केन्द्र पनि हो। ‘ट्रेकिङ रुट’ले पनि प्रसिद्ध छन् यी गाउँहरु। तिम्बुमा वडा सम्पर्क कार्यालयदेखि लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,गोल्मादेवी माध्यमिक विद्यालय, स्वास्थ्य चौकीलगायत महत्वपूर्ण कार्यालयहरु छन्।

‘हामीलाई घर अघिको खोलाले पनि पेलेको छ। हेलम्बुले पनि काट्दै ल्याएको छ। रातीराती हामी माथिमाथि भागेका छौँ। आफ्नै घर बिरानो भएको छ,’ तिम्बुबासी वीरबहादुर सुनुवारले भने।

तिम्बुबासी वीरबहादुर सुनुवार।

७८ वर्षीय वीरवहादुरलाई आफ्नो ११ जना सदस्यीय परिवार जोगाउन हम्मेहम्मे परेको छ। खेतीकिसानी उनको मुख्य पेशा। बाढीले त्यसबाट पनि बञ्चित गर्ने हो कि भन्ने चिन्ता उनलाई छ। बाढीले मेलम्ची –हेलम्बु सडकखण्ड क्षतविच्छेद पारेपछि बिरामी उनी उपचारबिहिन हुनुपरेको छ। उनले भने, ‘सडक पनि बाढीले लग्यो। म मुटुको बिरामी। उपचार जाने ठाउँ छैन। जंगलको बाटो हिँड्ने तागत छैन।’ गाउँमा पाइने कोदोमा परिवार निर्भर हुन पुगेको छ।

असार ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्