मेलम्ची– केही दिनअघि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलाई तहसनहस बनायो। बाढीले घर डुबाएपछि ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन्।

बाढीबाट विस्थापित भएका परिवारमध्ये केहीलाई स्थानीय इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ। केहीले भने आफन्तको आश्रय लिएका छन्।

मेलम्चीमा एक सयभन्दा बढी घरमा क्षति पुगेको छ भने बाढीले खेत बगाएको छ। जमिन बगरमा परिणत भएको छ।

अहिले उक्त क्षेत्रमा नेपाली सेनाको टोलीले विस्थापितहरुलाई सहयोग गरिरहेको छ। बाढीले पुरिएका घरबाट बचेका केही सामानहरु निकाल्न सेनाको टोली खटिएको छ।

बाढीले क्षति पुगेका घरबाट फर्निचर, भाँडाकुडा लगायतका काम लाग्नसक्ने सामान बाहिर निकाल्ने काम भइरहेको छ।