ग्राउन्ड जिरो

इजरायलको कमाई गणेशे बगरमा बन्दैछ बगर

हेलम्बु – हरिया मकैका बोटहरु चटाचट काटेर हेलम्बु गाउँपालिका २ चुरेटारको पाखामा निला टेन्टहरु गाडिएका थिए। मौसमले आफ्नो रुप फेरिरहेको थियो। छिनछिनमा पानी पर्ने र घाम लाग्ने भइरहेको थियो।

टेन्ट बाहिर राहतका लागि पुरुषहरु तछाडमछाड गर्दै थिए, एउटा चार पाङ्ग्रे गाडी पुगेसँगै। भित्र महिला र बालबच्चा कोचाकोच थिए। उनीहरुको बिचल्ली टाढैबाट महशुस गर्न सकिन्थ्यो। वास्तवमा बाढीबाट बिस्तापितहरुको बिजोग छताछुल्ल थियो।

कोरोना भाइरसको महामारी अन्त्य नभएको निष्कर्षसहित काठमाडौँले निषेधाज्ञाको पालना, अनिवार्य मास्क लगाउने र भौतिक दूरी अपाउनु पर्ने आदेशलाई जारी राखेको थियो। तर यो पाखोमा न भौतिक दूरी थियो न कसैको मुखमा मास्क।

टेन्ट अघिल्तिर बारीका चिसा कान्लामा थ्याच्च बसेर मानिसहरु हेलम्बु नदीको बिद्रुप रुप नियालिरहेका थिए। आफूमाथि परेको बज्रपात सम्झिँदा उनीहरुकाे मन कुँडिएको थियो। पछुतो थियो उनीहरुलाई बाढी आउँदा एक सरो कपडासम्म निकाल्न नपाएकोमा।

गणेशेबगरका तेन्जिन तामाङ अघि र पछि सोनाम तामाङ। तस्बिरहरु /दीपा दाहाल

कसैको आँशु रित्तिसकेको थियो। कसैले आफ्नै भाग्यलाई सरापिरहेका थिए। कसैलाई बिग्रिएको नदीको अनुहार हेर्न पटक्कै मन थिएन। बरु पूर्वपट्टी जंगल हरेर उनीहरुले लामो सास फेर्थे।

थोरै ओरालो झरेपछि हेलम्बु नदीको बितण्डाको असली अनुहार अझ स्पष्ट देखियो। असार ३ गते आएको दोस्रो बाढीले भर्खरै बनाएका नयाँ घरहरु गर्ल्यामगुर्लम पारेर आफैतिर तान्ने तीव्र कोशिसमा थियो नदी। पहिरो आउँदा जरासँगै रुख निस्किएझैँ बाढी आउँदा जगसँगै घरहरु नदीतिरै ढलेका थिए।

भर्खरै बनाएका, सिसैसिसाका झयालसहितका घरहरुसमेत बगर हुँदै थिए। त्यही घरहरुका बीच छट्पटाइरहेका थिए २३ वर्षीय सोनाम तामाङ। उनको केही वर्ष अघि बनाएको घर दुई फ्याँक हुँदै थियो। आधा भाग नदीले कोतरिसकेको थियो। आधा भाग सडकसँगै टाँसिएको थियो। त्यो पनि एक दुई दिनमै बगाउने निश्चित थियो। त्यसैले बचेका सामान निकाल्दै थिए उनी। मामा र केही छिमेकीसँग साथै लागेर।

काठमाडौँ शहरमा बसेर सोनामले आफ्नो भविष्य खोज्दै थिए। कक्षा १२ मा पढ्ने उनी कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएसँगै सरकारद्वारा घोषित निषेधाज्ञाले शहरकै डेरामा सीमित थिए। गणेशबगरमा ४५ वर्षीय बिरामी आमा चोकतानी तामाङ र २० वर्षीय भाइले दुःखजिलो जिविका धान्दै थिए। रोजगारीका लागि सोनामका बुवा इजरायल थिए। इजरायलबाटै आएको पैसाले सोनामको घर गणेशबगरमा ठडिएको थियो केही वर्ष अघि।

पछिल्लो पटक इजरायलमा उत्पन्न तनाबबाट मुस्किलले बचेका सोनामाले आफ्नो जायजेथा र परिवारको उठिबास सहन सकेका छैनन्। तर उनको आउने बाटो बन्द थियो। सोनामले भने,‘ म काठमाडौँमै अड्किएको थिए। बाढी आउँदा कसोकसो आमा र भाइ भागेछन्। भोलिपल्ट आएर हेर्दा सँगैका सबै घरहरु ढलेको देखेँ। हाम्रो घर पनि आधा भत्किएको रहेछ।’ गाउँमा बाढी आएको समाचार सुनेपछि उनी आत्तिएका थिए।

तर परिवारलाई तत्कालै सम्पर्क गर्न सकेनन्। बाढी छिरेपछि हेलम्बु मेलम्ची क्षेत्र सञ्चार, सडक र विद्युत सेवाबाट टाढा छ। आमा र भाइ बाँचे कि बाँचेनन्? उनको मनमा यही प्रश्नले मात्रै बास पायो। चिसो मुटुसहित रात काटे। भोलिपल्ट गुहार माग्दै उनी गाउँ पुगे। सडक भत्किएको थियो। मेलम्ची बजारबाट बाढी बोकेको नदीको किनारैकिनार पैदल हिँडेर उनी गणेशबगर पुगे।

बाटाका भयावह दृश्यले उनका हातगोडा लगलग काँपेका थिए। सास फेर्न गाह्रो भएको थियो। ठूलादेखि साना घरहरुलाई बाढीले निलिसकेको थियो। आँखा अघि उनले बाढीले घर ढालेको देखे। विशाल ढुंगा, हिलो र रुखविरुवा बोकेर बाढीले अरु घरहरुलाई पनि एकपछि अर्को गर्दै उधिनिरहेको थियो। स्कूल, प्रहरी चौकी सबै नदीमा बिलिन थिए। वास्तवमा व्यत्तिगत मात्रै होइन सरकारी सम्पत्ति रित्तिसकेको थियो।

तैपनि आमा र भाइ त भागे होलान! उनको झिनो आश बाँचेको थियो। गाउँको दृश्य बदलिएको थियो। चुरेटारको डाँडामा गणेशबगरका बासिन्दा सीमित थिए। भिडमा उनले आमा र भाइलाई खोज्न थाले। पाखामा पालमुनि ओत लागेर बसेका आमा र भाइ भेटेपछि उनले लामो सास फेरे। उनीहरुको बिजोग अवस्थाले सोनाम स्तब्ध भए। आमा र भाइलाई केहीबेर अगांलो मारिरहे। उनीहरुलाई सकुशल भेटेपछि सोनामको पीर हल्का भयो।

सोनाम तामाङ।

तर गणेशबगरतिर हेर्न सक्ने स्थिति थिएन। तर पनि उनले भाइ र आमालाई सम्हाल्ने आफ्नो दायित्व सम्झिए। भोलिपल्ट उनीहरुका लागि गाउँपालिकाले विभिन्न राजनीतिक दलसँगको समन्वयमा टेन्ट गाड्यो। बाढीबाट बिस्तापितहरु तत्काल सुरक्षित भए। सोनाम नदीले बगाउनै लागेको घरभित्रका सामान निकाल्न व्यस्त थिए। उनले भने,‘ घरको त अब आश छैन। सामानसम्म निकाल्न पाए पछि काम लाग्ला भन्ने सोचेँ।’

सोनाम इजरायलमा रहेका आफ्ना बुवालाई पनि सम्हाल्ने अर्को जिम्मेवारीमा छन्। ‘विदेशमा बस्दा यसै पनि घरको चिन्ता बढी हुन्छ। त्यसमाथि यस्तो बिजोग हुँदा बुवा आत्तिनु भएको छ। तर उहाँ अहिले नै आउने स्थिति छैन। तपाईँ चिन्ता नगर्नुहोस् म सम्हाल्छु भनेको छु’, उनले भने।

तर अब बुवासँग गरेको बाचा उनले कसरी पूरा गर्लान्? गाउँपालिकाले चिसो पाखामा गाडेको टेन्टमा बिरामी आमा र भाइलाई उनले कति दिन राख्लान्? कहाँ बस्ने? सरकारले घर बनाउन के सहयोग गर्छ? यस्ता सयौँ प्रश्नको बाढी आएको छ उनको मनमा पनि। जसरी हेलम्बुमा उनले अझै बाढी घटेको देखेका छैनन्।

उनले भने,‘ आजसम्म गाउँपालिकाले खान दिएको छ। टेन्टमा भए पनि बस्न दिएको छ। तर यसरी सँधैभरी बस्न सकिन्न,’उनले भने। बाढीका कारण गणेशबगरबाट विस्तापित सबैलाई तत्कालै सुरक्षित बसोबासको खाँचो छ। तर स्थानीय, प्रदेश र संघीय सरकारले यसबारे के योजना बनाएको छ? यसबारे स्पष्ट छैनन् उनीहरु।

बाढीले ढालेका गणेशेबगरका नयाँ घरहरु।

बाढीका कारण सोमाले आफ्ना दुई छिमेकी यो बाढीमा गुमाए। सम्झिँदा उनको अनुहार मलिन हुन्छ। आफ्ना मान्छे गुमाएकाको परिवारको पनि यस्तै छ हाल। उनीहरुको सुरक्षित बसोबास, राहत अनिश्चित छ। नदी भन्दा ५० मिटर वरै खेतबारी थिए। खेतसँगै गणेशेबगर बजार थियो। बजार अघि मेलम्ची –हेलम्बु ‘मोटेरेवल’ बाटो थियो। त्यही बाटोले गणेशबगरलाई बजार बनाएको थियो। कसैले होटल चलाउँथे। कसैले किराना पसल थापेका थिए। कसैले बंगुर पाल्थे। कसैले कुखुरा पाल्थे। उनीहरुको जीविका यसरी नै चलेको थियो। सबै बगरमै बदलियो।

अब उनीहरुसँग सरकारको सहयोगको आशबाहेक अरु छैन। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने हतोत्साहित छैनन्। अबको दुई तीन वर्षमै हेलम्बुलाई पहिलेको अवस्थामा फर्काउने उनले बताए।

उनले भने,‘ यहाँका बासिन्दा इमान्दार र परिश्रमी छन्। जे जति नोक्सान भयो भयो। अब यसलाई पुरानै अवस्थामा फर्काउन हामी सबैले मेहेनत गछौँ। प्रदेश र संघीय सरकारले पनि यसमा सयोग गर्नुपर्छ।’

तर गणेशबगरका बासिन्दा ५८ वर्षीय तेन्जिन तामाङलाई भने त्यसप्रति आश छैन।

उनले भने,‘ यसअघि अन्य ठाउँका बाढीपीडितलाई पनि यसैगरी आश्वासन दिन्थ्यो सरकार। तर उनीहरुको वर्षौदेखि बिचल्ली छ। अब हामीले के आश गर्नु?’

गणेशबगरमा १० वटा घर बाढीले ढालेकाे छ।

असार ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्