ग्राउण्ड जेरो

भुकम्पले जन्माएको स्कूल बाढीले यसरी मार्‍यो (भिडियो रिपोर्ट)

हेलम्बु-  ६ वर्षअघि अकल्पनीय भूकम्प गयो। त्यसका अवशेषहरु सहरदेखि गाउँसम्मै अझै जीवितै छन्। भूकम्पले आफ्नालाई निलेको पीडा अझै पीडितसँग छ। घाउका खाटाहरु अझै पुरिएका छैनन्। जायजेथा गुमाउँदा धेरैको टहरोमै बास छ अहिले पनि।

हेलम्बु–२ ग्लाथुमका दामोदर भारतीको परम्परागत शैलीको तीन तले ढुंगामाटोको घर गर्ल्यामगुर्लुम भयो। आफैँले हुर्काएको घरले उनका २१ वर्षीय भाइ नारायणलाई थिच्यो। उनले भाइ र घर मात्रै गुमाएनन्, आफूले वर्षौदेखि ऊर्जाशील समय खर्चेको ग्लालथुम बजारको ‘हेलम्बु एपेक्स’ तहसनहस हुँदा उनी मूकदर्शक बने। जुन स्कूल उनको परिवारसँगै गाउँका अन्य २५ जना अभिभावक मिलेर खोलेका थिए। स्कूल भत्किएपछि उनको गरिखाने ठाउँमा तगारो लाग्यो एकाएक।

आफ्नै गाउँमा स्तरीय शिक्षा लिन पाइरहेका बालबालिका र उनीहरुका अभिभावक चिन्तामा डुबे। अंग्रेजी शिक्षामा समेत स्कूलको नाम कहलिएको थियो। तर स्कूललाई पूर्ववत् अवस्थामा फर्काउने स्थिति थिएन। केही दिनमै अभिभावकको मन पोल्यो। आँगनमै स्तरीय शिक्षा पाइरहेका आफ्ना बालबालिकालाई पढ्न अब कहाँ पठाउने? बालबालिकको भविष्य निर्माणमा उनीहरु फेरि एक जुट भए। मिलेर हेलम्बु नदीको आडैको जग्गामा स्कूल स्तान्तरण गरे। स्कूलभन्दा पूर्वतिर प्रशस्त ठाउँ थियो नै। भूकम्पले भत्काएको दामोदरको सपना फेरि ब्यूँतियो। उनलाई आफ्नो जिम्मेवारी र कर्तव्यले थिचेकाले पनि सपना ठड्याउन  बल पुग्यो।

अभिभावकले स्कूल उठाउन सहयोग गरे। कोही घरका काठ बोकेर आए, कोही ढुंगा बोकेर आए, कोही पैसा बोकेर आए। पुनः जन्मियो स्कूल। तर बदलियो नाम –इस्ट पोइन्ट एकेडेमी। स्तरीय पढाईका लागि काठमाडौँलगायतका सहर धाउन नपरोस् भनेर उनीहरुले आफ्नै आँगनमा पसिना बगाएर स्कूलको टहरो बनाएका थिए। तर त्यो टहरोमा बालबालिकाले कष्ट झेल्न थाले। उनीहरुको सहज अध्ययका लागि दामोदरले विभिन्न सहयोगी संघसंस्थासँग हात फैलाए। संघसंस्थाको मन पनि कटक्क भयो। त्यसपछि स्कूलमा पक्की भवन ठडिए। एउटा १८ र अर्को ६ कोठे पक्की भवन ठडिँदा बालबालिकाले सुरक्षित अनुभुति गरे। ३ असार २०७३ मा स्कूलको नयाँ भवनको उद्घाटन भयो। उद्घाटनका दिन सबैभन्दा खुसी कोही थिए ती बालबालिका नै थिए। दामोदरले पनि खुसीको आँसु झारे।

विद्यालयका प्रिन्सिपल दामोदर भारती।

५ सय ५० विद्यार्थीको भविष्य निर्माण गरिरहेको थियो यो विद्यालयले। कोरोना भाइरस महामारीका बीच पनि यो विद्यालयले आफ्नो विश्वास जितेको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै अध्ययन–अध्यापनलाई निरन्तरता दिएको थियो। बालबालिका घरभित्रै अलपत्र नहुन र उनीहरुको पढाईको लय नबिग्रियोस् भन्ने चाहना दामोदर र स्कूलका अन्य शिक्षकहरुको थियो। यो विद्यालयले दुई ब्याज ‘एसइई’ सकिसकेको थियो। संयोग, तीन वर्षपछि ३ असार मै आएको बाढीले पहिले विद्यालय परिसर उधिन्यो। त्यसपछि भवन उखेलेर ५० मिटर पर खोलामा पुर्‍यायो। अर्को भवन नजिकै पछार्‍यो। विद्यालय ढल्दा ५ सय ५० विद्यार्थी र उनका अभिभावका पनि ढले सरह भए।

आफ्नो पीडा व्यक्त गर्ने शब्दसमेत भेटाएका छैनन् दामोदरले। उनको पृष्ठभूमिमा हेलम्बु नदीले बगर बनाउँदै गरेको घर थियो। उनका बुवा छिमेकीको टहरोमा बाढीबाट बाँच्न सफल आफ्ना गाईभैँसी हेर्दै थिए। छोडेर कतै जाने? तत्काल कसले किन्छ गाईवस्तु? बिलखबन्दमा परेका थिए उनका बुवा। उनकी आमा वर्षाैदेखि क्यानसरकी बिरामी छन्। पछिल्लो पटक आमामा जन्डिस थपिएको छ। वीर अस्पतालको बेडमा उनले जीवन पुकारिएका छिन्। दामोदर खण्डहर बनेको स्कूल पटक–पटक नियाल्न पुग्छन्।

स्कूल खोलामा पुगेसँगै उनका जागै छन्। उनको ऊर्जाशील समय यही विद्यालयको उन्नयनका लागि खर्च भयो। वर्षौँदेखिको त्याग, मेहेनत र सम्झौतापछि बनाएको न स्कुल रह्यो, न घर। अब के गर्ने? अन्यौलग्रस्त छन् उनी। यो बाढीलाई विनाशकारी मात्रै भन्दैनन् उनी। यो उनका लागि चिसो ज्वालामुखी हो। उनले भने, ‘सफा पानी बग्ने नदीमा लेदो मात्रै आयो। घरभन्दा पनि ठूला ढुंगाहरु बगाएर ल्याउने तागत थियो त्योसँग।’

तर उनलाई बालबालिकाको भविष्य बनाउने आफ्नो जिम्मेवारीले सपनामा पनि थिचिरहेको छ। आफ्ना विद्यार्थीहरुको भत्किएको भविष्यको बाटो कसरी बनाउने? यी प्रश्नहरुको जबाफबाट भाग्न सकेका छैनन् उनी। त्यसैले उनको मनमा फेरि आश जन्मिन थालेको छ। उनले फेरि स्कुल ठडाउने सपना देख्न थालेका छन्।

उनले भने, ‘अब फेरि पनि हामी उठ्ने प्रण गर्नुपर्छ। मैले त प्रण गरिसकेँ। मलाई मेरो घर सम्पत्तिभन्दा स्कूल प्यारो छ। बालबालिकाको भविष्य प्यारो छ।’

दामोदरलाई फेरि पनि भूकम्पका बेलाजस्तै सहयोगी मनहरुले भेट्छन् भन्ने आश छ। फेरि पनि अभिभावकको सहयोगमा स्कूल ठडाउन पाइयोस् भन्ने उनको चाहना छ।

तर यतिञ्जेल अभिभावकहरुले बगाएको र भत्किएको स्कूलको भवन नियाल्न आइपुगेका छैनन्। सायद आफै बाढीको मर्कामा परेका छन्। यसबाट दामोदरको मनमा चिसो पसेको छ। दामोदर भने बगाउन लागेको आफ्नो घरको सामाना निकाल्न छोडेर स्कूलमा बचेका सामाग्री निकाल्न सहयोग गरिरहेका छन्। भूकम्पले भत्काएको स्कूल हेलम्बुबासीकै सक्रियतामा ठडडिएको थियो। अब बगेको स्कूलले पनि उनीहरुकै आश गरेको छ। इस्ट प्वाइन्ट जन्मिएमा बालबालिका, अभिाभावक र शिक्षकको अनुहार खुसीले उज्यालिने छ। शैक्षिक उन्नयनले निरन्तरता पाउने छ।

असार ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्