जर्मनी भर्सेस हंगेरी खेलअघि रंगशालालाई इंद्रेणी रंगले झिलमिल पार्ने माग युइएफएद्वारा अस्वीकार

युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए) ले युरोकप फुटबल अन्तर्गत बुधबार राति हुने जर्मनी र हंगेरीबिचको खेलअघि रंगशालालाई इन्द्रेणी रंगले झिलमिल पार्ने माग अस्वीकार गरेको छ।

म्युनिखका मेयर डिटर राइटरले हंगेरीमा ल्याइएको समलैंगिता र १८ वर्षमुनिका व्यक्तिको लिंग परिवर्तनको पक्षपोषण गर्ने सामग्री सेयर गर्न नपाइने व्यवस्थासहितको नयाँ कानूनको विरोधमा एलिन्ज एरिना रंगशाला इन्द्रेणी रंगले झिलमिल पार्न माग गरेका थिए।

तर युइएफएले भने माग तथा विषयवस्तुको राजनीतिक परिदृष्यलाई मध्यनजर गरि अस्वीकार गरिएको बताएको छ।

राइटरले युइएफएको निर्णयलाई ‘लज्जास्पद’ भनेका छन्। इन्द्रेणी रंगलाई एलजिबिटिआइक्यू प्लस समुदायको प्रतिनिधित्व गर्ने झण्डाका रुपमा लिइन्छ।

जुन महिनालाई विश्वभर प्राइड अर्थात गौरवको महिनाका रुपमा पनि मनाउने गरिएको छ।

विविधता र समावेशिताको सन्देश प्रवाह गर्नका लागि माग गरिएको र त्यसका पक्षमा आफू वर्षौँदेखि रहँदै आएको बताएको युइएफएले राजनीतिक परिदृष्यलाई मध्यनजर गरेर माग अस्वीकार गरिएको उल्लेख गरेको छ।

असार ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्