११ विधामा ‘आइसिटी अवार्ड २०२१’को अनलाइन नोमिनेशन शुरु

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन आवेदन शुरु भएको छ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला गरिएको छ।

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको छ।

गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० मा सोल्टी होटलमा विशेष कार्यक्रम मार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो।

यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। आइसिटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेका छन्।

विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन्। अवार्डमा प्रतिस्पर्धि आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गरिदिन सकिनेछ।

अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनु पर्नेछ। यस वर्ष गतवर्ष झैं विभिन्न ११ विधामा नोमिनेशन खुला गरिएको छ।

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन्।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन्।

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइवेट सेक्टर) रहेका छन्।

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन्। अवार्डमा गतवर्षको ह्वावे आइसिटी अवार्ड २०२० मा ४०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन १२ भन्दा बढीको जुरी समूहद्वारा ३ महिनासम्म विभिन्न चरणमा विजेताको छनौट गरिनोइएको छ।

स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन विधामा ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन गरिनेछ। अन्य विधाहरूमा पनि विभिन्न ४ चरणका भर्चुअल छनौट र फिल्ड भिजिट समेत सञ्चालन गरिनेछ।

भर्चुअल प्रेस कन्फ्रेन्स आयोजना गर्दै आयोजकले विभिन्न ११ विधाको लागि नोमिनेशन खुल्ला गरेको हो।

कन्फ्रेन्समा बोल्दै आयोजक समितिका संयोजक राजन लम्सालले हरेक वर्ष अवार्डलाई परिस्कृत गर्दै बृहत बनाउन लागि परेको बताए। उनले आइसिटी अवार्ड प्रविधि क्षेत्रमा सम्भावना र उत्कृष्टताको खोजी गर्ने अभियानको रुपमा अगाडी बढेको बताए।

यसैगरी जुरी संयोजक शुशिल पोखरेल र प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले आइसिटी अवार्ड लाई हरेक पक्षबाट स्तरीय र विश्वसनीय बनाउन लागि पर्ने धारणा व्यक्त गरे। प्रा.डा. शुवर्ण शाक्यले नेपालमा भएका अवार्डहरुमध्ये आइसिटी अवार्ड सबैभन्दा विश्वसनीय र निष्पक्ष रहेको बताए।

भर्चुअल कार्यक्रममा बोल्दै्र पुर्वमन्त्री गणेश शाहले आइसिटी क्षेत्रलाई अझ फराकिलो बनाउदै लानुपर्ने र यसको लागि अवार्डले सार्थक बनाइरहेको बताए।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले आइसिटी अवार्डले नेपालको आइसिटी क्षेत्रलाई प्रवद्धन गरेर बताउँदै उनले नीजि तथा सरकारी क्षेत्रको सहकार्यमा डिजिटल नेपालका अभियान सार्थक बनाउनुपर्ने बताए।

कार्यक्रममा पूर्व सहसचिव विरेन्द्र मिश्र, प्रा.डा. शुवर्ण शाक्य, क्यान महासंघका प्रथम अध्यक्ष विमल शर्मा, प्रथम पायोनियर आइसिटी अवार्ड विजेता मुनी शाक्यलगायतले अवार्डको महत्वको बारेमा विचार राखेका थिए।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन्। विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन्।

असार ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्