तीन झापाली चेलीः कोभिडका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापनका सहयात्री

झापा – झापाको बुद्धशान्ति गाउँपालिका ४ की एक किशोरीको कोभिडका कारण मृत्यु भएकाले बुधबार उनको शव व्यवस्थापनको काम गर्नका लागि नेपाल स्काउटको टोली तयार हुँदै थियो।

झापामा नेपाल स्काउटले शव व्यवस्थापन गरेको यो २२ औं पटक भएको शव व्यवस्थापनमा खटिएका नेपाल स्काउटका प्रज्वल कडरियाले जानकारी दिए। त्यस्मा पनि महिला स्काउटले १३ वटा शव व्यवस्थापन गरिसकेको उनले बताए।

बुधबारको शव व्यवस्थापनमा झापाका तीन महिलाको भूमिका अग्रभागमा थियो। तर यो भन्दा अघि पनि धेरै शव व्यवस्थापन गरिसकेकाले स्वास्थ्य प्रोटोकल अपनाएर नै उनीहरू तयारी गरिरहेका थिए।

नेपाल स्काउटका तर्फबाट झापामा तिनै तीन जना महिला शव व्यवस्थापनमा खटिए। भद्रपुरकी शिवानी देवान, बिर्तामोडकी पूजा कँडेल र सुरुंगाकी कृतिज्ञा गौतम कोभिड भएर मृत्यु भएकाहरूको शव व्यवस्थापनमा खटिएका हुन्।

महिलाहरूका लागि शव व्यवस्थापनको काम त्यति सहज भने होइन। त्यस्मा पनि घर परिवारको समर्थन र सहयोगबिना उक्त काम गर्न उनीहरूका लागि संभव पनि थिएन। तर स्वयंसेवी संस्था ‘स्काउट’मा संलग्न भएपछि जुनसुकै विपदमा पनि तयार रहनुको उनीहरूसंग विकल्प पनि थिएन।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर उच्च बनेपछि तराईका जिल्लाहरूमा पनि मृत्युदर उच्च रह्यो। पूर्वी नेपालका झापा, मोरङ तथा सुनसरीमा संक्रमितको बढ्दो संख्यासंगै मृतकको संख्या क्रमशः बढ्न थाल्यो।

मृत्युदर बढेपछि नेपाल स्काउटको प्रदेश नं १ कार्यालयले शव व्यवस्थापनमा स्वयंसेवी भूमिका निर्वाह गर्नका लागि इच्छा व्यक्त गरेपछि नेपाली सेनाले उनीहरूलाई तालिम दियो। त्यसपछि उनीहरू शव व्यवस्थापनमा खटिए।

तीन वटा जिल्लामा ४२ जना स्काउट खटिए। तर संक्रमितको संख्यामा कमी आएसंगै मृत्युका घटना पनि कम हुँदै गएपछि अब उनीहरू शव व्यवस्थापनमा खटिने छैनन्। उनीहरूका लागि झापाको बुधबारको २२ औं शव व्यवस्थापन यो लहरको अन्तिम सेवा भएको छ।

शव व्यवस्थापनमा खटिएकी भद्रपुरकी शिवानी देवानले स्काउटमा लागेर स्वयं सेवाबारे प्रशस्त ज्ञान लिएकाले यो काममा आफू खटिएको बताइन्।

उनले भनिन्, ‘मेरी आमा पनि स्वास्थ्यकर्मी हुनुहुन्छ। घरबाट पूर्ण सहयोग पाएकी छु। सेवा गर्न पाएकी छु।’

विर्तामोड झापाकी स्काउट पूजा कँडेलले असली सेवाको काम आफूहरूले गरिरहेको अनुभूति भएको सुनाइन्।

कँडेलले भनिन्, ‘कसैले त गर्नै पर्ने थियो यो काम। हामीले गर्न पायौं। सेवाभावले गर्न पायौं।’

असार ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्