अन्तिम खेलमा ५ गोल गर्दै स्पेन दोस्रो चरणमा, स्विडेन पनि अगाडि बढ्यो

गोल गरेपछि स्पेनका खेलाडीहरु।

समूहको अन्तिम खेलमा बुधबार स्लोभाकियालाई ५-० गोलले पराजित गर्दै स्पेन   युरो कप फुटबल २०२० को दोस्रो चरण पुगेको छ। स्पेनको फराकिलो जितमा पाब्लो सराबिया, फेरान टोरेस र अल्भारो आयमेरिक लापर्टेले गोल गरे। दुई गोल स्लोभाकियाबाट आत्मघाती भएको थियो। अघिल्ला दुवै खेल बराबरीमा रोकिएपछि दबाबमा देखिएको स्पेनले ३० औँ मिनेटमा अग्रता लिएको थियो।

स्लोभाकियाका गोलकिपर मार्टिन दुब्राभ्काबाट भएको आत्मघाती गोलमा अग्रता लिएको हो। क्रसबारमा लागेर माथी उडेको बल तल झर्नेक्रममा क्लियन गर्न खोज्दा बल आफ्नो गोलपोष्टमा छिरेको थियो। स्पेनले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनायो। आयमेरिक लापर्टेले गोल गरेका थिए। क्रसमार्फत आएको बलमा उनले हेडमार्फत गोल गरेका थिए। स्पेनले ५६ र ६७ र ७१ औँ मिनेटमा बाँकी गोल थपेको थियो।

समूह ‘इ’बाट स्विडेन विजेता र स्पेन उपविजेता बन्दै अगाडि बढेका छन्। ३ खेलपछि स्विडेनले ७ र स्पेनले ५ अंक जोड्यो। बुधबारको अर्को खेलमा स्विडेनले पोल्यान्डलाई ३-२ गोलले पराजित गर्‍यो।  खेलमा २-० गोलले पछाडि परेर पनि पोल्यान्ड बराबरीमा फर्किएको थियो। तर अन्तिम समयमा स्विडेनले तेस्रो गोल गर्‍यो।

 

असार ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्