अटोरिक्सा चालकको पीडाः सरकारै सरकार भएको देशमा हामीलाई हेर्ने सरकार खोइ?

झापा – अलि ठूला व्यवसाय गर्नेले त व्यवसाय नभएका बेलाका लागि भनेर सञ्चित गरेर केही पैसा राखेका हुन सक्लान्। तर जसले दैनिक कमाएर दिनको गुजारा चलाउनु पर्छ, तिनीहरूले भने अहिले आफैलाई ‘फुटेको कर्म’ भन्दै सराप्ने गरेका छन्।

यति लामो भयो बन्दाबन्दीको अवस्था आएको। तर अहिले उनीहरू प्रश्न गर्ने गरेका छन्, ‘सरकारै सरकार भएको देशमा हाम्रा लागि सरकार कहाँ छ?’

साँच्चै दैनिक ज्याला मजदुरी गरेर दैनिकी चलाउनेहरूले त्यस्तो प्रश्न उठाउनु जायज पनि छ। कोरोना भाइरसको पहिलो लहरका बेला राहत वितरणको ‘रवाफ’ देखाएका सरकारका रवाफ सकिएकै हो?

तिनै मजदुरी वा दैनिक १०/२० रुपैयाँ संकलन गरि कमाएर दैनिकी चलाउने अटोरिक्सा चालकको अवस्था दिनदिनै दयनीय बन्दैछ, तर उनीहरूका लागि सरकार छैन। छ त केवल साहु दिनहुँको साँवा नभए पनि ब्याजको ताकेता। तर, उनीहरूसँग अहिले खाएर भरे के खाने भन्ने चिन्ता छ, ब्याज कसरी तिर्लान्?

एउटा सानो झुप्रो घर छेउमा पालले छोपेर थन्काइएका २ वटा अटो रिक्सा छन् । विगत २ महिना यता ती अटोरिक्सा घरबाट बाहिर निस्कन पाएका छैनन्।

अटोरिक्सा थन्किएजस्तै चारजना सदस्य रहेको एक मजदुर परिवारको कयौँ सपना यसैगरि थन्किएका छन् । अटो चलाएकै भरमा घरखर्च जुटाउँदै आएका उनीहरुलाई अहिले अटो थन्किएपछि घरखर्च जुटाउन निकै धौधौ परेको छ ।

झापाको अर्जुनधारा–६ का सुरेश र टिकामाया राई दम्पतिले विगत ६ वर्षदेखि अटो चलाउँदै आएका छन् । ऋण गरेर लिएको अटोबाटै साहुको ब्याज बुझाउनेदेखि घरखर्चसम्म पुर्याउँदै आएका थिए ।

विगत २ महिनादेखिको निषेधाज्ञाले घरमै थन्किएको अटोको किस्ता अब कसरी तिर्ने, छोरा छोरीलाई कसरी पढाउने, घरखर्च कसरी चलाउने यस्तै प्रश्नहरुले आजभोलि राई दम्पतीलाई रातभर निद्रा लाग्दैन ।

‘कमाई खाने भाँडो भनेको यहि अटो थियो त्यो नै थन्किएपछि बिजोग नै भाएको छ ।’ अटो चालक सुरेशकुमार राई भन्छन्, ‘कमाई १ पैसा छैन। त्यसमाथि पनि किस्ताको साहु आएर ब्याज मात्रै भए पनि तिर्नेपर्छ भन्छन्, गाह्रो भयो हामीलाई त ।’

राई दाम्पतिले साढे ५ लाख रुपैयाँ हालेर ऋणमा अटो किन्दै गर्दा यसरी घरमा अटो थन्काएर बस्नुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन् ।

सामान्य अवस्थामा दैनिक अटोले १ हजारदेखि १२ सयसम्म कमाइ हुने गरेको सुरेशकुमार बताउँछन् ।

सुरेशकी श्रीमती टिकामाया सुब्बा राई दुःख सुनाउँदै भन्छिन्, ‘यस्तो महामारीको समय छ केही पोषिलो खानेकुरा खानुपर्ने समयमा आफ्नो भएको कमाई खाने भाँडोसमेत थन्काएर बस्नु परेको छ ।’

उनी भन्छिन्, ‘निषेधाज्ञा अवधिभरको ब्याज मात्र भएपनि नलिदिएको भए हामीलाई केही राहत हुने थियो ।’

राई दाम्पतिले मासिक २४ हजार किस्ता बुझाउँदै आएका छन् । अटो किन्दाको ऋण तिर्नै गाह्रो भइरहेको बेला छोराछोरीलाई कसरी पढाउने, कसरी घरखर्च जुटाउने भन्ने पीर उनीहरुलाई छँदैछ ।

अटोबाट कमाएर नै नयाँ घर बनाउने सपना राई दम्पति थियो । जुन सपनालाई कोरोना महामारीले भङ्ग गरिदिएको छ ।

राई दम्पति त प्रतिनिधि पात्र मात्रै हुन् । ज्याला मजदुरी गरी घरखर्च जुटाउँदै आएका यस्ता सयौँ व्यक्तिहरुको घरमा चुलो बल्दै छ वा छैन कसैलाई थाहा छैन ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसले भयावह स्थिति सृजना नहोस् भन्दै सरकारले विगत केही महिना यता मुलुकभर आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा दैनिक ज्याला मजदुरी गरि छाक टार्दै आएका व्यक्तिहरु निकै समस्यामा पर्ने गरेका छन् ।

सरकारले जारी गरेको निषेधाज्ञाको समयमा सहर बजारका सडक सुनसान रहे । कुनै सवारी साधन तथा अटो रिक्साहरु सडकमा देखिएनन् । राई दाम्पतीको जस्तै अधिकांश अटोरिक्साहरु घरमै थन्किए ।

बुद्धशान्ति २ झापाका अटोरिक्सा चालक सागर श्रेष्ठले बन्दाबन्दीपछि अटोरिक्सा खरिदा गर्दाको ऋणको किस्ता तिर्न सकेका छैनन्। उनले बुझाउनु पर्ने मासिक १८ हजार रुपैयाँ हो। जुन अहिले बुझाउने अवस्था छैन।

श्रेष्ठ भन्छन्, ‘यस्तो बेला पनि सरकारै सरकार भएको देशमा हामीलाई हेर्ने सरकार कहाँ छ? फुटेकै कर्म लिएर आइएछ।’

बुद्धशान्ति ३ का गोपाल घिमिरेले पोहोर साल बन्दाबन्दी कै बेला भएको अटोरिक्सा बेच्नुपर्यो। अहिले पनि उनी भएको रिक्सा बेचेर विदेश जाने सोच बनाउँदैछन्।

घिमिरे भन्छन्, ‘यो देशमा केही नहुने रहेछ भन्ने भइसक्यो। हामीलाई हेर्ने कोही रहेनछ।’

पहिलो चरणको बन्दाबन्दीको अवधिमा स्थानीय सरकारले राहतको व्यवस्था गरेको थियो । तर, यसपालीको निषेधाज्ञामा गरिब तथा दैनिक ज्याला मजदुरी गरी जिविकोर्पाजन गर्दै आएका व्यक्तिहरुले स्थानीय सरकार के गर्दे छ थाहासम्म पाएनन् ।

सरकारले कोही रोगले मर्दैन, कोही भोकले मर्दैन भनिरहँदा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका वर्गलाई समेट्न नसकेको दुखेसो उनीहरुले पोख्ने गरेका छन् ।

असार १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्