बेलबारी नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७० लाख

मोरङ– मोरङको बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

नगरपालिकामा बिहीबार सम्पन्न आठौं नगरसभाका क्रममा चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात ६४ दशमलव ३६ प्रतिशत र पूँजीगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिइन्।

उपप्रमुख पराजुलीले बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, संघीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको बताइन्।

कार्यक्रममा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को योजना तथा कार्यक्रममा कला साहित्य र पत्रकारका लागि भौतिक संरचना निर्माण गर्ने जनाएको छ।

त्यसैगरि, पत्रकार महासंघ प्रदेश १ अक्षयकोषका लागि नगरपालिकाले ५ लाख प्रदान गर्ने जनाएको छ।

नगरसभामा प्रस्तुत मुख्य योजना तथा कार्यक्रममा, गरिबसँग नगरपालिका कार्यक्रम, दुःखमा नगरपालिका कार्यक्रम, भूमि बैंक, विपन्न नागरिकलाई खाद्य सुरक्षा, एक वडा एक उत्पादन, एक वडा एक जेष्ठ नागरिक चौतारी, हेल्प डेस्कको व्यवस्था, स्मार्ट कृषि कार्यक्रम, समृद्ध कृषि कार्यक्रम, जनप्रतिनिधिसँग मनका पीडा लगायतका कार्यक्रम समेटिएको छ।

असार १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्