एमाले नेता भिम आचार्यसँग अन्तर्वार्ता

‘संसद विघटनको विषयमा बीचको भाषा लेखेर एकता प्रयास हुँदैछ, ९० प्रतिशत नतिजा सकारात्मक’

काठमाडौँ- पछिल्लो पटक खण्डित नेकपा एमाले एकताको प्रयासले तीब्रता पाएको छ। मुलुकभित्र विकसित राजनीति र अन्तराष्ट्रिय तहबाट भइरहेको षड्यन्त्रलाई परास्त गर्न एमाले एकता जोगाउनै पर्ने निष्कर्षसहित विपरीत धुव्रमा विभाजित अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका केही नेताहरु पछिल्लो एक साता यता हरेक दिन जसो एकताका लागि वार्ता गरेका छन्।

सर्वोच्च अदालतको नेपाल पक्षका कर्णाली प्रदेशसभा सदस्यलाई पुर्नस्थापित गर्ने अन्तरिम आदेश र पार्टीको निर्वाचित कमिटीलाई मात्रै प्रष्टीकरण र कारवाहीको अधिकार भएको व्याख्याविरुद्ध ओली पक्ष पुनः सर्वोच्च जाँदा एकता प्रयासलाई केही कदम पछि परेपनि त्यसमा हार नखाएको नेताहरुले बताएका छन्। पार्टी एकता प्रयासलाई लिएर दुवै पक्षका नेताहरु शुक्रबार पनि वार्तामा बस्दैछन्।

उनीहरुले ठाउँ भने गोप्य राखेका छन्। प्रस्तुत छ एकता प्रयासलाई निरन्तरता दिएका नेपाल पक्षका भिम आचार्यसँग लिएको अन्तर्वार्ता:

पार्टी एकता प्रयास कहाँ पुग्यो?

पार्टीलाई एक बनाउने हिसाबमा म र पार्टीका अरु केही साथीहरु निरन्तर लागिरहेका छौँ। भिन्नभिन्न हिसाबमा हाम्रो गति अघि बढिरहेको छ। धेरै चिजहरु मिलिसकेका छन्। मिल्न बाँकी थोरै मात्रै कुरा छन्। यसमा सकारात्क परिणाम नै आउँछ भन्ने लागेको छ। म त्यसमा निरन्तर लागेको छु। त्यसैले यो भन्न सक्छु। नकारात्मक नतिजा निस्कनुपर्ने कारण छैन। यसले कसैलाई फाइदा पनि गर्दैन। एमाले फुटेपछि सबै धुलो नै हुने हो। यसलाई बचाउने दुवै पक्षको कर्तव्य हो। कुनै नेताले त्यस्तो कुबुद्धि लेलान् भन्ने लाग्दैन। सकारात्मक नतिजा निस्कनुको विकल्प मैले देखेको छैन। ९० प्रतिशत सकारात्मक नतिजा आउने सम्भावना छु।

एकताका लागि तपाईँहरु दौडधूप गरेको लामै समय भयो। नतिजा अहिलेसम्म हात पार्न सक्नु भएन, किन?

पार्टीमा अविश्वासको संकट धेरै नै ठूलो छ। एकपछि अर्को गर्दै विवादहरु गुजुल्टिएका छन्। विवाद पार्टीमा सीमित भएन। केपी ओलीले विधि–विधान नमान्ने, प्रक्रियाहरुलाई नअपनाउने, निर्णयहरु नमान्ने, सरकार ठीक ढंगले नचलाउने जस्ता कामहरुलाई निरन्तरता दिनु भयो। ती सबै विवादमा परिणत भएका छन्। यी समग्र विषयले नै नेताहरुमा टकराव निम्ताएको हो। माथिल्लो लेवलमा यो अझ गहिरो छ।

तपाईँहरुको पक्षबाट पनि गल्ती भएको देखिन्छ। त्यसलाई सच्याउने तत्परता तपाईँहरुले देखाउनु भएको छ?

पछिल्लो समय सर्वोच्च अदालतले नेकपा फुटाएर एमाले ब्युँतिएको थियो। सर्वोच्चको निर्णय स्वीकार गरेर हामीले महाधिवेशनबाट निर्वाचित एमाले ब्युँताउनुपर्छ भनेका थियौँ। तर केपी ओलीले सर्वोच्चको आदेशबमोजिम एमाले नब्युँताएर आफ्नो गुटका बैठकहरु एकपछि अर्को गर्दै बोलाउनु भयो। त्यसैबाट आफू अनकुल निर्णयहरु पनि गर्नुभयो।

आफ्नो गुटलाई प्राथमिकतामा दिएका कारण सबैभन्दा धेरै समस्या खडा भएको हो। ओलीले आफ्नो गुटको भेलाबाट फटाफट निर्णहरु गरेकाले एकता टाढिँदै गएको हो। र, रह्यो हाम्रो कुरा, हाम्रो तर्फबाट पनि गल्ती भएका छन्। ओलीका कारण हामीले पनि हाम्रो गुट भेलाहरु गर्दै गयौँ। बैठकहरु गर्दै गयौँ।

कार्यकर्ता भेलाहरुलाई पनि निरन्तरता दियौँ। छुट्टै दस्ताबेज पनि सार्वजनिक गरेका छौँ। यसमा हाम्रो पनि कमिकमजोरी भएकै हौ। ओली सच्चिए हामी पनि त्यसलाई सच्याउन तयार छौँ। तर जिम्मेवारीका हिसावमा ओली बढी सच्चिनु पर्छ। फागनु २८ गते एमालेको नाममा गुटको बैठक बस्यो र त्यसले एमालेको नाममा निर्णय गर्दै गयो।

पार्टीमा अविश्वासको संकट धेरै नै ठूलो छ। एकपछि अर्को गर्दै विवादहरु गुजुल्टिएका छन्। विवाद पार्टीमा सीमित भएन। केपी ओलीले विधि–विधान नमान्ने, प्रक्रियाहरुलाई नअपनाउने, निर्णयहरु नमान्ने, सरकार ठीक ढंगले नचलाउने जस्ता कामहरुलाई निरन्तरता दिनु भयो। ती सबै विवादमा परिणत भएका छन्। यी समग्र विषयले नै नेताहरुमा टकराव निम्ताएको हो। माथिल्लो लेवलमा यो अझ गहिरो छ।

एकताका लागि तपाईँहरुले खोजेको मुख्य उपचार के हो?

हामीले सहमतिका लागि २ जेठ २०७५ को एमाले ब्यूँतिनु पर्छ भनेका छौँ। त्यसमा दुवै पक्षबाट सैद्धान्तिक सहमति भइसकेको छ। तर यो वा त्यो विभिन्न खालका शर्त र प्रतिशर्तका कारणले केही केही अल्झिन पुगेको छ।

ती चिजहरुमा पनि साझा सहमतिको भाषा राखेर सहमतिको वातावरण तयार गरौँ भन्ने हिसावमा हामीले कुरा गरिरहेका छौँ। शायद अब छिट्टैनै कुनै न कुनै परिणाम निस्केला।

पछिल्लो समयमा शर्त बदलिएका हुन कि पुरानै हुन्?

ओलीले अहिले पनि एमाले ब्यूँताउन हाम्रो अदालतको मुद्दा फिर्ता लिनुपर्छ भन्ने अडाननै लिइरहनु भएको छ। संसद विघटन गरिसकेकाले उहाँले चाहदैमा पनि यो फिर्ता हुँदैन। संसद विघटन गरिसकेपछि त्यसलाई ब्यूँताउन अदालतमा हालेको मुद्दा फिर्ताको औचित्य पनि हुन्न। त्यो हाम्रो राजनीतिक अडानको कुरा पनि भयो।

त्यसैले संसद विघटनको मामिलामा अहिले मौन बस्ने, अदालतले जे निर्णय गर्छ पार्टी एक भएको खण्डमा एकतावद्ध ढंगले सबैले त्यसको पालना गर्ने भन्नेमा हामीले सहमति खोज्दै छौँ। अहिले यो शर्त, त्यो प्रतिशत भन्दै सरकारविरुद्ध जादै गर्दा पार्टी एकताको कुरा टाढिन्छ।

त्यस्तो नगारौँ भनेका छौँ हामीले। मुलुकभित्र मात्रै होइन बाहिर पनि हाम्रो पार्टी फुटाउन विभिन्न किसिमका षड्डयन्त्र भइरहेको छ। विपक्षीहरु एमाले फुटोस् भनेरै लागेका छन्। एमाले फुट्दा उनीहरुलाई क्षणिक फाइदा पुग्ला तर यसले दीर्घकालिनरुपमा नेपालको राजनीतिलाई नै तहसतहस बनाउँछ।

भनेपछि संसद विघटनको मामिलामा मौन बस्ने सहमति हुँदैछ?

कुरा त्यसतर्फ अघि बढेको छ। तर एमालभित्रै पनि दुवैतिर अब मिल्नै सकिन्न भनेर पार्टी फुटाउन हतार गर्नेहरु पनि छन्। पार्टी एकता जोगाउने हो भने अहिलेको अवस्थामा संसद विघटनको मामिलामा निर्णय गर्ने जिम्मेवारी र अधिकार अदालतको भएकाले त्यसमा मौन बसेर अरु विवाद सुल्झाउन सकिन्छ कि भनेर हामी लागेका छौँ। तर पार्टीमा जे जति गलत निर्णय ओलीबाट भएका छन् ती सबै सच्चिनुपर्छ। जहाँ जहाँ बिग्रियो त्यहाँ त्यहाँ उहाले सच्याउनु पर्छ।

पृथ्वी सुब्बा गुरुङको पार्टी एकता हुने शर्तमा नेपाललाई अध्यक्ष मान्न तयार छौँ भन्ने अभिव्यक्तिलाई कसरी लिनु भएको छ?

नेता नेपालले म पार्टी अध्यक्ष हुन्छु भन्दै हिड्नु भएको छैन। उहाँको यो माग पनि होइन जस्तो लाग्छ। जेठ २ मै एमाले पुग्नुपर्छ भन्ने हामी सबैको बटमलाइन हो। यसमा अध्यक्ष बन्ने कुरा परेन। तर पार्टीभित्र जुन किसिमको अविश्वासको खाडल देखिएको छ त्यसलाई पुर्न सन्तुलित प्रस्तावहरु स्वीकार्य हुनुपर्छ।

वास्तवमै मिलेर अघि बढ्ने, आफ्ना प्रतिवद्धतालाई घात नगर्ने शर्त अघि सारेर नेपाललाई अध्यक्ष बनाइन्छ भने त्यो स्वीकार्य हुन्छ जस्तो मलाई लाग्छ। तर उहाँले कुन प्रंसगमा भन्नु यो भन्नु भएको हो स्पष्ट हुन सकेको छैन। पार्टीमा सन्तुलन कायम गर्न उहाँले यसो भन्नु भएको भने ठिकै हो।

भनेपछि नेपाललाई अध्यक्ष बनाए पार्टी एक हुन्छ?

म फेरि पनि दोहोर्याउँछु। हामीले त्यो माग राखेको पनि होइन,मान्यता बनाएको पनि होइन। तर सन्तुलनमा ल्याउनका लागि नेपाललाई अध्यक्ष दिइन्छ भने त्यो अनुचित पनि होइन। पार्टी भावनात्मक ढंगबाट एक बन्छ भने र महाधिवेशनसम्म एक भएर जान्छ भने नेपाललाई अध्यक्ष दिदा राम्रै गर्छ।

तपाईँहरुले माथि ओलीको विरोध गरिरहनु भएको छ। प्रदेशमा ओली समूहकै नेतृत्वको सरकारलाई समर्थन गर्न थाल्नु भयो किन?

माथि एकता अभियान चलाएपछि तल आघात पुग्ने गतिविधि गर्नुहुन्न भन्ने हो। त्यसैको सन्देश हामीले तलबाट दिएका हौँ। त्यो पार्टी प्रणाली, विधि र प्रक्रिया अनुसार नै छ। पार्टी एक भएर अघि बढ्यो भने त्यसले निरन्तरता पनि पाउला। पार्टी सम्भव भएन भने हामी प्रदेशमा अर्को ढंगले अघि बढ्छौँ। अहिले प्रदेश १ मा बजेटमा समस्या छ। त्यसमा हाम्रो विरोध छ। त्यसलाई सच्याउनुपर्छ भनिरहेका छौँ। सच्चिएन भने हामी विरोधमा उत्रिन बाध्य हुन्छौ।

विवाद त तपाईहरुकै पक्षमा पनि छ नि हैन?

हामीमा पनि फरकफरक मान्यता राख्ने नेताहरु हुनुहुन्छ। तर हामी मुख्य कुरामा एक छौँ। हामीमा महाधिवेशनबाट निर्वाचित २०३ जनाको केन्द्रीय कमिटी सदस्यीयलाई नेकपा एमाले मान्ने कि त्यसपछि माओवादीसँग ४० साथी मिलाउने हिसावमा थपिएको ४५ सदस्यलाई मान्ने भन्ने अलिअलि विवाद छ। अर्को तत्कालै पार्टी फुटाउनु पर्छ, ओलीसँग मिल्न सकिन्न भन्नेहरु पनि हुनुहुन्छ। तर म र केही साथीहरु त्यसमा हतार नगरौँ भनेर लागेका छौँ। हाम्रो पार्टीमा जुन तहको विवाद देखिएको छ यो समाधान गर्न सकिन्छ। तर पार्टी एक बनाउने भन्दा फुटाउने शक्ति बलियो बन्दै छ। हामीले हार खाएका छैनौँ।

असार ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्