जलवायु परिवर्तन

जोखिममा छन् हिमतालहरु, के गर्न सकिन्छ?

च्छोरोल्पा हिमताल । तस्बिर सौजन्यः विक्रम भट्ट

काठमाडौँ – ‘तत्कालका लागि कोरोना भाइरसको महामारीलाई प्राथमिकतामा राखिनु पर्छ । तर अरु सम्भावित विपदका लागि प्रतिकार्य योजना तथा पूर्व तयारीको कुरा पनि बिर्सनु हुँदैन । विशेष चासो यो बिहान भूकम्पको केन्द्रविन्दु रहेको भुलभुले मनास्लु हिमशृडखला स्थित डोना (ठुलागी) हिमताल भन्दा मात्रै २५ किलोमिटरको दूरीमा पर्छ, जुन ताल फुट्ने जोखिममा रहेका नेपालका हिमतालको सूचिमा माथि रहेको अध्ययनहरुमा उल्लेख छ।’

गएकाे जेठ ५ गते बिहान लमजुडको भुलभुले केन्द्रविन्दु भएर ५.८ तथा त्यसपछि गएका पाँच तथा चार रेक्टर माथिका थप भूकम्पपछि जलवायु वैज्ञानिक अरनिको पाँडेले ट्वीट मार्फत व्यक्त गरेको चिन्ता हो यो ।

नेपालको पश्चिमी क्षेत्रमा विगत झण्डै पाँच सय वर्षयता ठूलो भूकम्प नगएको र सो क्षेत्र सम्भावित भूकम्पीय गतिविधिको उच्च जोखिममा रहेको भन्दै पाँडेले जोखिमयुक्त हिमताल हुनुले ठूलो मानवीय तथा भौतिक क्षतिको डर थपेको उल्लेख गरेका छन् । हिमतालबाट हुन सक्ने सम्भावित जोखिम र नोक्सानीका लागि पूर्वतयारी तथा जोखिम न्यूनिकरणका लागि पर्याप्त ध्यान जानु पर्नेमा जोड दिएका छन् पाँडेसहित वातावरणीय विपदजन्य अवस्थाका जानकारहरुले ।

झण्डै एक वर्ष पहिले सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा डोना ती तालहरुको सूचीमा पर्छ जसको संरचना र स्वरुप जोखिमयूक्त देखिएको छ । गएको महिनाको भूकम्पकै कारण भने त्यहाँ कुनै असर नपरेको विज्ञले बताएका छन् ।

पछिल्लोपटक मनाङ तथा सिन्धुपाल्चोकसहितका जिल्लामा आएको बाढी तथा गेग्रान बहावले पनि हिम ताल फुटेको अवस्थामा आउन सक्ने सम्भावित आकश्मिक लेदोसहितको बाढी तथा गेग्रान बहावको जोखिम न्यूनिकरणका लागि तत्काल काम थालिनु पर्ने तर्फ झकझक्याएको छ ।

हिमताल र जोखिम

हिमनदीबाट आएको हिउँ पग्लेर बनेको पोखरी हो हिमताल । यसको संरचना स्थान र अवस्था अनुसार कमजोर वा बलियो, स्थानीय वा अस्थायी या सानो वा ठूलो हुन सक्छ । हिमाली क्षेत्रमा हिमनदी तल बग्ने वा हिउँको ठूलो अंश खस्ने क्रममा खोँचहरुमा बनेको खाल्डोमा जमेको हिउँ पग्लेर तालहरु बन्ने गर्छन् ।

यस्तै हिमतालहरु हिमनदीमै पनि बन्न सक्छन्, अर्थात हिमनदीको केही क्षेत्रमा हिउँपग्लेर तालको स्वरुप लिन सक्छ । यस्तै हिमनदीमुनि, हिमनदीमाथि वा हिमनदीको अग्रभागको खोँचमा हिमताल बन्न सक्छन् । यसरी बनेका हिमतालमा पानीको स्रोत हिमनदी वा हिउँ हुन् ।

हिमतालहरु माथिल्लो क्षेत्रमा हुने र तिनीहरु तल्लो क्षेत्रमा बग्ने नदी, खोलाका स्रोत भएकाले कुनै प्रकारको अप्रत्याशित गतिविधिले विपदको अवस्था आउन सक्छ । हिउँ पग्लेर पानीको मात्रा बढ्दा वा छेउ तथा अन्तिमभागको बाँध कमजोर भएको अवस्थामा हिमतालको पानी ओभर फ्लो (छचल्किएर) वा फुटेर अप्रत्याशित रुपमा बाढीसहितका विपद आउन सक्छ ।

त्यसले तल्लो क्षेत्रका बस्ती, खेतीपाती तथा नदी आसपासमा बनाइएका विद्युत आयोजना तथा अरु भौतिक संरचनामा गम्भीर क्षतिको सम्भावना रहन्छ । यस्तै मानवीय क्षति पनि हुन सक्ने हुँदा तल्लो तटीय क्षेत्रका बस्तीहरु र त्यहाँका बासिन्दाको जनजीविका तथा जलविद्युत सहितका भौतिक संरचनाका लागि हिमताललाई जोखिमका रुपमा लिने गरिन्छ ।

तर सबै हिमतालहरु फुट्ने वा ओभर फ्लो भएर अप्रत्याशित बाढी आउने सम्भावना हुँदैन । तालको विशेषता र बाँधको अवस्था, स्रोतका रुपमा रहेको हिमनदीको गतिविधि र वरपरको भौगोलिक संरचनाका आधारमा हिमताल जोखिमयुक्त हो कि होइन भन्ने निर्धारण गरिन्छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले रिमोट सेन्सिङ्थ तथा जिओग्राफिक इन्फरमेशन सिस्टम (जिआइएस) मार्फत सन् २०१५ र त्यसयताका केही स्याटेलाइट तस्बिरलाई आधार मानेर गरेको पछिल्लो अध्ययन (२०२०) अनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल छन् ।

तीन जलाधार क्षेत्र (कोशी, गण्डकी र कर्णाली) मा नेपालसँगै चीनको स्वशासित क्षेत्र तिब्बत तथा भारत पनि पर्छ । अध्ययन प्रतिवेदन अनुसार दुई हजार ७० वटा हिमताल नेपालमा, १५ सय ९ वटा हिमताल तिब्बत तथा ४५ वटा हिमताल भारतमा पर्छन् । भेटिएका मध्ये १४ सय १० वटा तालको आकार ०.०२ स्क्वायर किलोमिटर वा त्यो भन्दा ठूलो रहेको छ । ०.०२ स्क्वायर किलोमिटर वा त्यो भन्दा माथिको आकारका हिमतालहरु फुट्ने वा छचल्किएर अप्रत्याशित बाढी आउने सम्भावना रहेको मानिन्छ ।

नेपाल र हिन्दुकुश हिमालय क्षेत्रमा रहेका अन्य पहाडी मुलुकका लागि हिमताल फुटेर निम्तिने बाढीको उच्च जोखिम कायम छ । हिमनदीको हिउँ पग्लेर तालहरु बन्ने र ती तालहरु फुटेमा त्यसले तल्लो तटीय क्षेत्रमा एक्कासी ठूलो बाढीको प्रकोप सिर्जना गर्न सक्छ ।

इसिमोड र युएनडीपीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनले नेपालको कोशी, गण्डकी र कर्णाली नदीको जलाधार क्षेत्र, चीनको स्वशासित क्षेत्र तिब्बत र भारतमा रहेका ४७ हिमताल फुट्ने वा ‘ओभर फ्लो’ को खतराको सम्भावनामा रहेको पहिचान गरेको छ । यी हिमतालहरू फुट्ने जोखिममा रहेको र तल्लो तटीय क्षेत्रमा ताल फुटेर बाढीको प्रकोप सिर्जना हुनसक्ने ठूलो जोखिम रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सम्भावित खतरामा रहेका हिमताल चीनमा २५, नेपालमा २१ र एउटा भारतमा छन् । पहिचान गरिएका ४७ सम्भावित खतरामा रहेका हिमतालमध्ये ४२ वटा (नेपालमा १८ र तिब्बतमा २४) कोशी जलाधार क्षेत्र रहेकाले कोशी तटीय क्षेत्र उच्च जोखिममा रहेको अध्ययनमा संलग्न सुदनविकास महर्जनले बताएका छन् । इसिमोडमा रिमोट सेन्सिङ्ग र जिओग्राफिक इन्फर्मेशन सिस्टम (जिआइएस) एनालिस्टका रुपमा कार्यरत सुदनविकास महर्जनले विशेषगरि हिन्दु कुश–हिमालय क्षेत्रका हिमनदी तथा हिमतालहरुको अवस्थाबारे अध्ययन गर्दै आएका छन् ।

गण्डकी जलाधार क्षेत्रका तीन (नेपालमा दुई र तिब्बतमा एक) र कर्णाली जलाधार क्षेत्रका दुईवटा (नेपालमा एक र भारतमा एक) हिमताल जोखिममा छन् अध्ययन प्रतिवेदनका अनुसार । पछिल्लो अध्ययन सन् २०११ मा गरेको बृहत्तर अध्ययनमा टेकेर गरिएको इसिमोडले जनाएको छ ।

डोना (ठूलागी) ताल

डोना हिमताल। तस्बिर सौजन्यः भीमबहादुर गुरुङ

वायुमण्डलीय विज्ञानका अध्येता अरनिको पाण्डेले जेठ ५ गते लमजुङको भुलभुले क्षेत्रमा गएको भूकम्पपछि चासो व्यक्त गरेको डोना ताल फुट्ने वा अप्रत्याशित रुपमा छचल्किएर बाढी आउन सक्ने जोखिमको सूचिमा माथिल्लो तहमा रहेको हिमताल हो ।

गण्डकी जलाधार क्षेत्रमा रही सम्भावित जोखिमको सूचिमा रहेका नेपालका दुई हिमताल मध्येको एक डोना ताल । मनाङको नासोँ गाउँपालिका–२ नाचै गाउँमा पर्ने डोना ताल समुद्री सतहबाट ४ हजारमिटर माथिको उचाईमा छ । नाचैका स्थानीय बासिन्दा तथा वडा नम्बर २ का अध्यक्ष भीमबहादुर गुरुङका अनुसार तालको चौडाइ त्यति नबढे पनि लम्बाई भने निरन्तर बढिरहेको छ । वडा अध्यक्ष गुरुङले भने ‘गुरुङ भाषामा खोँचलाई डोना भनिन्छ र खोँचमा बनेको हुनाले यसलाई डोना ताल भनिएको हो । ठूलागी भनेर चिनिए पनि यसको वास्तविक नाम डोना हो । मनास्लु हिमालको फेदैमा छ । मैले सानै हुँदा देखेको भन्दा अहिले त निकै ठूलो भएको छ यो ताल ।’

प्रदेश सरकारबाट प्राप्त बजेटले तालसम्म पुग्ने बाटो बनाउने काम अहिले पनि जारी रहेको बताएका वडाध्यक्ष गुरुङले तालको संरक्षणका लागि भने स्थानीय सरकारको तर्फबाट बजेट छुट्याउन नसकिएको जानकारी दिए । ‘अवस्था कस्तो छ भनेर हामीले निरन्तर निगरानी त गरिरहेका हुन्छौँ तर सरकारी तवरमा अध्ययन वा सम्भावित जोखिम न्यूनिकरणका लागि बजेट प्राप्त भएको छैन र हामीले पनि सो क्षेत्रमा काम गर्ने सक्ने क्षमता छैन’ उनले भने ।

नाचैका वडाध्यक्ष गुरुङले भने जस्तै रिमोट सेन्सिङ्ग मार्फत सन् १९७३ यताको स्याटेलाइट तस्बिरको विश्लेषण गर्दा डोना तालको लम्बाई निरन्तर बढिरहेको देखिने उल्लेख छ सन् २०१८ को मे मा मल्टिडिसिप्लिनरी डिजिटल पब्लिसिङ्ग इन्स्टिच्यूड (एमडिपिआई) प्रकाशित अनुसन्धान लेखमा ।

हाल डोना तालको लम्बाई २५ सय मिटर तथा चौडाइ सात सय मिटर छ । ०.९ स्क्वायर (वर्ग किलोमिर) किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम गहिराई ८२ मिटरसम्म छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालका अनुसार सम्भावित जोखिमको सूचिमा डोना ताल रहेको थाहा भए पनि तत्काललाई प्रदेश सरकारका तर्फबाट बजेट छुट्याउन सकिएको छैन ।

‘जलवायु परिवर्तन र त्यसबाट हिमनदी पग्लेर बन्ने हिमतालहरुमा पर्ने असर तथा त्यसका कारण हुने भौतिक तथा मानवीय क्षति न्यूनिकरण प्रदेश सरकारको प्राथमिकतामा राखिनु पर्छ भन्ने अवधारणा विकास भएको छ’ सचिव डा. ढकालले भने, ‘तर तत्कालै जोखिम न्यूनिकरण र प्रतिकार्य योजनाका लागि काम गर्न सकिएको अवस्था भने छैन । हामीले प्रदेश तथा संघ सरकारलाई झकझक्याउने तथा यो क्षेत्रमा काम गर्ने अरु दातृ निकायसँग सहकार्य गर्ने काम भने गरिरहेका छौँ ।’ ताल संरक्षण तथा विकास प्राधिकरण नै बनाएर यस सम्बन्धी कामहरुको संयोजन गर्ने प्रयास थालनी गरेको उनले बताए ।

मनास्लु हिमशृङ्खलाको दक्षिणपश्चिममा रहेको डोना हिमताल हिमनदीमाथि बनेकाले विश्वव्यापी जलवायु परिवर्तन तथा तापमान बृद्धिको क्रम जारी रहँदा हिउँ पग्लेर निरन्तर बढ्दै जाने जोखिम रहेको अध्यताहरुले बताएका छन् । डोना तालको बाँधका रुपमा रहेको गेग्रान मुनि हिउँ नै रहेकाले त्यो पग्लिएको अवस्थामा पहिरो गएर अप्रत्याशित रुपमा बाढी आउने जोखिम पनि छ । डोनाको पानी निस्केर डोना खोला हुँदै मनाङको धारापानीबाट मर्स्याङ्गदी नदीमा मिसिन्छ ।

डोना ताल फुटेको अवस्थामा मर्स्याङ्गदी नदी आसापासका बस्ती, मर्स्याङ्गदी नदीमा बनेका जलविद्युत आयोजनाहरु तथा पुलसहितका भौतिक संरचनामा ठूलो क्षति पुग्ने देखिन्छ । मर्स्याङ्गदी नदीमा अहिले मध्य मर्स्याङ्गदी ७५ मेगावाट, तल्लो मर्स्याङ्गदी (तनहुँ) ६९ मेगावाट, लमजुङ भुलभुलेमा माथिल्लो मर्स्याङ्गदी–ए ५० मेगावाटको जलविद्युत आयोजना सञ्चालनमा छन् । यस्तै ६०० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्गदी–२ सहितका आयोजनाहरु अध्ययनको चरणमा छन् । यदी डोना ताल फुटेर बाढी आएमा यी संरचनाहरुमा नोक्सानी पुग्ने हुनाले तत्काल विस्तृत अध्ययन गरि प्रतिकार्य योजना तथा जोखिम न्यूनिकरणका काम गर्नु पर्ने विज्ञले बताएका छन् ।

डोना ताल फुटेर बाढी आएको अवस्थामा ५० अर्ब ५८ करोड रुपैयाँ भन्दा बढिको क्षति हुन सक्ने आँकलन गरिएकाले साे सम्भावित नाेक्सानी राेक्नका लागि वा कम भन्दा कम बनाउनका लागि सावधानिका उपायहरुकाे खाँचाे रहेकाे इसिमाेड र युएनडिपीकाे अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

फुट्ने जोखिम भनेको के हो र के गर्न सकिन्छ?

च्छोरोल्पा हिमताल । तस्बिर सौजन्यः विक्रम भट्ट

विश्वव्यापी रुपमा भइरको तापमान वृद्धिको सीधा असर हिमाल र सो क्षेत्रको पर्यावरणीय अवस्थामा देखिएको छ । विभिन्न अध्ययनहरुले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता अनुसार विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गरेको अवस्थामा पनि सन् २१०० सम्ममा विश्वका एक तिहाई हिमनदीहरु लोप हुने छन् ।

यसको अर्थ हिमनदीको हिउँ पग्लिने छ । पग्लिएर बनेको पानी हिमनदीले मार्गमा बनाएका खाल्डाखुल्डी र खोँचहरुमा तालको रुपमा विकास हुन्छन् । यसले भएका तालमा पानीको सतह बढ्ने तथा नयाँ जोखिमयुक्त ताल बन्ने सम्भावना हुन्छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको ‘ग्लेसियर्स अफ द हिमालयजः क्लाइमेट चेन्ज, ब्ल्याक कार्बन एण्ड रिजनल रेजिलेन्स’ नामक अध्ययनका अनुसार जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा भइरहेको तापमानवृद्धिसँगै स्थानीय रुपमा उत्पादन हुने गरेको ब्ल्याक कार्बनले हिउँ तथा हिमनदी पग्लिने क्रम तीव्र पारेको देखिएको छ ।

हिम पग्लिने दर बढ्दा हिमतालसँग जोखिएको जोखिम पनि बढ्दै जान्छ । सम्भावित जोखिमको तह थाहा पाउनका लागि विस्तृत स्थलगत अध्ययनको खाँचो रहेको विज्ञहरुले बताएका छन् ।

इसिमोडका सुदन विकास महर्जनले भने, ‘हामीले भू–उपग्रह तथ्यांक हेरर गरेको अध्ययन हो । फोटोमा हेरेको र स्थलगत रुपमै गएर हेर्दा धेरै फरक हुन्छ । फिल्डमा गएर विस्तृत अध्ययन गरेपछि मात्रै वास्तविक अवस्था जानकारी पाउन सकिन्छ । तर हाम्रो अध्ययनले स्थलगत अध्ययन र भावी रणनीति बनाउनका लागि नीति निर्माताहरुलाई पर्याप्त जानकारीको आधार प्रदान गर्छ ।’

उनले भने, ‘तर अध्ययनहरुमा फुट्ने सम्भावित जोखिमका रुपमा राखिएका तालहरु अहिले नै वा यो समयमा फुट्छन् भन्ने चाहिँ होइन ।जोखिम युक्त छन्, सतर्क बस्नु पर्छ भन्ने हो ।’

उनका अनुसार हिम ताललाई छेकेको बाँध अवस्था, ताल र बाँधको वरपर कस्तो छ, हिम पहिरो, पहिरो आउने सम्भावना छ कि छैन, हिमनदीसँग कसरी बसेको छ भन्ने तथ्यांकहरुको विश्लेषण गरेर सम्भावित जोखिमका तालहरु निर्धारण गर्ने गरिन्छ । तर तालहरुको निरन्तर अनुगमन तथा स्थलगतसहितका अध्ययनहरु हुनु पर्ने उनले बताए ।

नेपालका हिमताल विज्ञ धनन्यजय रेग्मीका अनुसार हिउँ पग्लिएर हिमतालहरु बढिरहेका छन् । तापक्रम वृद्धिहुँदै जाँदा हिमनदी पग्लिने तथा हिमपरोही एवम् तालहरुमा ढुंगासहितका पदार्थहरु खस्दा फुट्ने जोखिम बढ्दै गएको बताएका रेग्मीले तत्काल विस्तृत स्थलगत अध्ययन र जोखिम न्यूनिकरणका लागि काम गर्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘तापक्रम बढ्दै जाँदा तालहरुको आकार बढ्दै गएको छ भने ताललाई धानेर राखेका बाँधहरुमा दबाब बढेको छ । यस्तो अवस्थामा मार्गमा पर्ने तल्लो तटीय क्षेत्रमा ठूलो क्षतिको सम्भावना हुन्छ । जोखिम न्यूनिकरणका लागि विस्तृत अध्ययनसँगै तालको पानीको सतह कम गर्ने तथा पूर्व सूचना प्रणाली स्थापना गर्न सकिन्छ । त्यसका लागि तत्काल काम गर्नु पर्ने देखिन्छ ।’

तालको पानीको सतह कम गर्नु दीर्घकालीन समाधान नभए पनि अल्पकालका लागि जोखिम कम गर्ने विज्ञको भनाई छ । दीर्घकालीन समाधानका लागि विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि नियन्त्रण तथा त्यसलाई सहयोग गर्ने स्थानीय मानवीय गतिविधिलाई वातावरण मैत्री बनाउनु पर्छ । यस्तै स्थानीय बासिन्दाको अनुकुलन क्षमता बिस्तार तथा सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणाली बनाउनु पर्ने इसिमोड, विश्व बैंकसहितले गरेका अध्ययनमा उल्लेख छ ।

के भइरहेको छ?

पछिल्ला अध्ययनहरुलाई आधार मानेर सम्भावित जोखिमयुक्त हिमताल मध्ये केही प्रमुख तालहरुमा जोखिम न्यूनिकरणका लागि परियोजना विकासको काम भइरहेको छ ।

युएनडीपी अन्तर्गत जलवायुजन्य जोखिम अनुकुलन तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमका कार्यक्रम अधिकृत दीपक केसीका अनुसार डोना, होङ्गु, तल्लो वरुण, लुम्दिङ हिमतालमा विस्तृत अध्ययनसहित पानीको सतह घटनाउने, पूर्व सूचना प्रणाली स्थापना गर्ने र सम्भावित जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुसूचित गर्ने उद्देश्यसहितको परियोजना विकासको काम भइरहेको छ ।

उनले भने, ‘अहिलेलाई हरित जलवायु कोषबाट चार हिमतालको जोखिम न्यूनिकरणका लागि बजेट ल्याउने गरि परियोजना विकासको काम भइरहेको छ । यो परियोजना आएमा नेपाल सरकारकै मातहतमा रहेर जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजनाको काम हुनेछ ।’

युएनडीपीले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा परियोजना विकासको काम गरिरहेको हो । विभागका हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख सुवास तुलाधरका अनुसार परियोजना विकासको काम अन्तिम चरणमा पुगेको छ । उनले भने, ‘हरित उर्जा कोषबाट अनुमानित पाँच अर्बसम्मको परियोजनाका लागि पहल भइरहेको छ, त्यो परेको अवस्थामा विस्तृत अध्ययन गरि पानीको सतह कम गर्ने तथा पूर्वसूचना प्रणाली राख्नेसहितका काम सुरु हुन्छ चार हिमतालहरुमा ।’

उनका अनुसार विभागको तर्फबाट पूर्व सूचना प्रणालीका लागि जल सतह मापन गर्ने राडार लेभल सेन्सर डोना खोलामा आउँदो आर्थिक वर्षमा स्थापना गर्ने तयारी रहेको छ । यस्तै तल्लो वरुण र च्छो रोल्पा हिमतालको अध्ययनका लागि विभागकै तर्फबाट झण्डै ९५ लाख बजेटको योजना तयारी अवस्थामा रहेको उनले बताए ।

योजनामा रहेका कतिपय कामहरु कोरोना भाइरसको महामारीका कारण अल्पकालका लागि रोकिएको वा सुस्त भएको उनले बताए । तर अवस्था सामान्य बन्दै गएपछि हिम सर्वेक्षणसहितका काम पनि गरिने तुलाधरले बताएका छन् ।

विगतको तुलनामा सरकारको चासोमा हिमताल, हिमनदी, हिउँ परेको देखिने बताएका तुलाधरले पर्याप्त भने नरहेको उल्लेख गरे । उनले भने, ‘हालको बजेटमा पनि ठ्याक्कै हिम सर्वेक्षण तथा हिमनदी, हिमताल सम्बन्धी व्यवस्था गरिएको छैन । हामीसँग जनशक्तिकै अभाव छ । आशा गरौँ हामीले बुझाउँदै गएपछि सरकारको चासोमा पनि थप पर्दै जान्छ होला ।’

यस्तै वन तथा वातावरण मन्त्रालय अन्तर्गको जलवायु परिवर्तन महाशाखा प्रमुख डा. राधा वाग्लेले हिउँ, हिमाल तथा हिमाली क्षेत्रसँग सम्बन्धित विषयलाई स्थानीय मात्रै नभइ विश्वव्यापी विषयका रुपमा स्थापित गर्ने गरि पहल भइरहेको बताइन् । ‘हामीले विभिन्न निकायबाट भइरहेका र हुने तयारीमा रहेका कामहरुको समन्वय गर्ने तथा नीतिगत तहमा विषय स्थापित गर्ने गरि प्रयास गरिरहेका छौँ’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा हिमाली क्षेत्रको विषयलाई उठाउने र स्थापित गर्ने पलह गरिरहेका छौँ ।’

यसैगरि विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्यको जिम्मेवारी पाएको राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण प्राधिकरणमा हिमतालकै लागि भनेर विशेष कार्यक्रम छैन । तर विपदको जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजनाका लागि समन्वयात्मक काम भने हुँदै आएको र गरिने प्राधिकरणका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बताएका छन् ।

यसरी हेर्दा सरकारी निकायसँग हिमताल र त्यससँग जोडिएका जोखिमलाई लिएर ठोस कार्यक्रम बनेको तथा त्यसका लागि स्रोत छुट्याइएको अवस्था छैन । हिमताल र त्यसका सम्भावित जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दाताको भर पर्नु पर्ने अवस्था रहेकाले विकल्पका रुपमा प्राकृतिक ड्यामका रुपमा हिमताललाई प्रयोग गरेर जलविद्युत उत्पादनबारे पनि सोच्न सकिने सुझाव केही विज्ञको छ ।

हिमताल विज्ञ धनन्जय रेग्मीका अनुसार वातावरणीय प्रभाव मूल्यांकनसहित हिमतालबाटै सीधै जलविद्युत निकाल्ने परियोनाका लागि निजी क्षेत्रलाई आह्वान गर्न सकिएको खण्डमा पानीको सहत कम हुनुका साथै उर्जा उत्पादन र जोखिम कम हुने सम्भावना छ । तर त्यसका लागि अध्ययन र विस्तृत कार्ययोजनाको खाँचो रहेको उनी बताउँछन् ।

अतः सन् १९९७ देखि २६ वटा हिमताल फुटेर बाढी आएका घट्ना नेपालले बेहोरिसकेको छ । त्यसमध्ये १४ वटा देशभित्रैका हिमताल फुटेर बाढी आएका छन् । मौसममा आएको परिवर्तनसँगै हिमताल पग्लने दर बढ्दो क्रममा रहेकाले नेपालका लागि हिमताल सिर्जित बाढी वर्तमान समयको सबैभन्दा ठूलो चुनौति रहेको विज्ञ तथा वैज्ञानिक अध्ययनहरुले देखाएका छन् ।

दातृ निकायको पहलमा च्छो रोल्पा र इम्जा हिमतालमा पानीको सतह कम गरि पूर्व सूचना प्रणाली राखिँदा तत्कालका लागि जोखिम केही कम भएको छ भने जोखिमको अवस्था आए पनि पूर्व सूचनाका कारण मानवीय तथा भौतिक क्षतिक न्यून भन्दा न्यून गर्ने सम्भावना बढाएको छ ।

अल्पकालका लागि पानीको सतह कम गर्ने तथा पूर्व सूचना प्रणाली स्थापना गर्नेसँगै निरन्तर अध्ययनमा सरकारी तथा सम्पूर्ण सरोकारवाला निकायको निरन्तर सहकार्य हुनु पर्ने इसिमोड, युएनडीपी तथा विश्व बैंकसहितले गरेका अध्ययन प्रतिवेदनमा सुझाव दिइएको छ ।

असार १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्