ग्राउण्ड जेरो

आधा घण्टा बाढीमा फसेर पनि बाँचेका यी साहसी काशीनाथ

हेलम्बु –यतिबेला निर्निमेष झरीले आफ्नो रुप बदलिरहेको छ। यसले सामान्य जनजीवनलाई असामान्य बनाइरहेको छ। अर्थात शान्त जनजीवनलाई बिथोल्ने क्रम पनि रोकिएको छैन। खासगरी मुलुकमा यसले मानिसमा भय र चिन्ताको खाडल गहिरो बनाउँदैछ, जसरी खोला–नदी आसपासमा बनाउँदैछ, वर्षायामको सुरुवातमै।

खोला–नदी आसपासमा आफ्नै पौरखमा रमेका मानिसलाई यसले सिकार बनाउन थालेको छ। अविरल झरीका कारण निम्तिएको शक्तिशाली बाढी पहिरोसँगको युद्धमा धेरैले हार खाइसकेका छन्। तर यो युद्धमा यस्ता योद्धा भेटिएका छन् जसले बाढीमा मडारिएर पनि आफूलाई बचाउन सफल भएका छन्। जुन उनीहरुको जीवनका लागि सबैभन्दा ठूलो उपलब्धीका रुपमा दर्ज भएको छ। र, परिवारको हौसला फर्किएको छ।

१ असारमा हेलम्बु गाउँपालिका किउल बजारमा मौसमले आफ्नो रुप फेरिरहेको थियो। कहिले सिमिसिम पानी पर्ने त कहिले चर्को घाम लाग्ने भइरहेको थियो। हेलम्बुको थाप्लोमा कहिले घाम झुल्किरहेको थियो। कहिले कालो बादल मडारिरहेको थियो। वर्षायामको समयमा यो सबै नियाल्ने फुर्सद नै कहाँ थियो र फाँट बासीलाई। खेतीपातीको चटोरोमा थिए उनीहरु। त्यही भिडमा थिए स्थानीय २९ वर्षीय काशिनाथ भण्डारी।

आफ्नै धुनमा खेतबारीमा नङ्ग्रा खियाइरहेका उनले अचानक आफ्नो खेतबारी आडैबाट बग्ने हेलम्बु नदीमा लेदो आएको देखे। यसबाट उनको मनमा झस्का पस्यो। सँधै सफा पानी कलकल बग्ने नदीले रुप फेरेको देखेपछि उनलाई नौलो लाग्नु स्वाभाविक थियो। आडैमा माछा फार्म चलाइरहेका काशिनाथका छिमेकी गणेश ज्योतिले आत्तिदै उनलाई हातको इशारामा बोलाए।

फार्ममा हिलो पानी पर्न थालेपछि माछाहरु मर्न थालेका थिए। माछा बचाउन गणेशले काशिनाथलाई गुहारेका थिए। गणेश काशिनाथका छिमेकी मात्रै थिएनन, दौतरी पनि थिए। साथीलाई यस्तो बेला सहयोग गर्नु काशिनाथले कर्तव्य ठाने। काशिनाथ र गणेश मिलेर घर नजिकै पूर्वपट्टीबाट बग्ने खहरे खोलाको सफा पानी माछा फार्ममा तेर्साउँदै थिए।

त्यसमै सहयोगी बन्न आइपुगेका थिए उनीहरुका अर्का मिल्ने साथी माधव भण्डारी। तीनै जना मिलेर माछाफार्ममा खहरे खोलाको पानी हाल्दै थिए। एक्कासी हेलम्बुको सीरतिर बम पड्केको जस्तो आवाज उनीहरुले सुने। माधवले लख काटे,‘भुइँचालो आयो होला।’

यसअघि भुइँचालोसँग उनीहरु राम्रै परिचित थिए। परिचित नहुन् पनि कसरी? भुइँचालोले पाखाको घर खण्डहरमा परिणत गरेपछि बढो मुस्किलले फाँटमा घर ठडाएका थिए। तर उनीहरुले वास्तवमा के भएको हो भन्ने भेउ पाउनु पहिल्यै नदिको पानी शक्तिशाली बाढीको रुप धारण गरेर आयो। एकाएक उनीहरुलाई सोहोर्यो। भाग्ने समय उनीहरुलाई भएन।

विशाल ढुंगा, अजंगका रुखबिरुवा, खेतबारी, घरगोठलाई अम्बाथान देखि नै निल्दै निल्दै आएको बाढीले काशिनाथ, गणेश र माधवलाई हुत्याएको थियो। एकै छिन अघि आम्नेसाम्ने उनीहरुलाई बाढीले छुट्टाएको थियो। खेतबारी, घरगोठ काट्दै लगेको बाढी नजिक आउने कसैले साहस गरेनन्। यी तीन युवाका परिवार छोराहरु भेटिएनन, देखिएनन्, आएनन् भन्दै छिमेकीहरुसँग गुहार माग्दै थिए। तर त्यो गुहार सुन्ने फुर्सद कसलाई पो थियो र?

सबै आफ्नो ज्यान बचाउन भागभाग गर्दै थिए। कोही खाली खुट्टै दौडिरहेका थिए। कोही बालबच्चा बोकेर दौडिरहेका थिए।त्यतिन्जेल उनीहरुको खेतबारीसँगै गोठहरु पनि सिनित्त पारिरहेको थियो। घर थकाइरहेको थियो। यता बाढीले सोहोरेका काशिनाथ, माधव र गणेशलाई कसले कहाँ खोज्ने? विपदमा उद्धारमा खटिने सुरक्षाकर्मीकै पनि उठिबास भएको थियो। भाग्यले करिव आधाघण्टा पछि काशिनाथ बाढीसँग लड्दै लड्दै नदी किनारमा आएर पछारिए। उनी बाढीसँगको युद्धमा सफल भएका थिए।

बाढीले उनलाई कम्तीमा पनि आधा घण्टा मडारिरह्यो। तर उनी भएभरको बल लगाएर कसो कसो नदी किनारतिर आएर ढलेका थिए। तर त्यतिञ्जेल उनले जताततै अन्धकार देखेका थिए। धमिलो पानीमा उनको टाउको देखिएपछि उनका आमा–बा चिच्चाउन थालेका थिए। त्यो आवाजले काशिनालाई थप प्रोत्साहन मिल्यो। उनले अझै बल लगाएर बाढीबाट बाहिरिन सफल भएका थिए।

अन्ततःउनलाई रगताम्य, हिमालम्य अवस्थामा सुरक्षाकर्मीले उठाएर स्वास्थ्यचौकी पुर्‍याएका थिए। उनी अर्धचेत अवस्थामा थिए। उनको पेट थिचिथिची बालुवा निकालियो। उनका अनुसार कम्तीमा पनि आधा किलो बालुवा उनको पेटबाट निकालिएको थियो। पेटबाट बालुवा निकालेपछि लामो सास फेरेका उनको हातगोडा,गर्धन, पेट जताततै चोटै चोट थियो। होसमा आएपछि उनले आफ्ना दौतरीहरुलाई सम्झिए। उनलाई लागेको थियो आफ्ना साथीहरु आफै जस्तै बाढीसँग संघर्ष गरेर बाँचे होलान्, भागे होलान्। तर उनीहरुको त्यतिञ्जेल अत्तोपत्तो थिएन।

छोराहरुलाई बाढीले बेपत्ता पारेपछि परिवारको रुवावासी चलिरहेको थियो। काशिनाथ पनि अब फर्किन्नन् भन्ने ठानेको थियो उनको परिवारले। वास्तवमा परिवारले उनको आश मारेको थियो। काशिनाथ किनारमाआएर पछारिँदा चमात्कारै भयो भन्ने ठानेका थिए उनका बाआमाले। होस आउना साथ काशिनाथ आफ्ना साथीहरुलाई खोज्न गए। तर उनमा निराशा बाहेक अरु थपिएन। साथीहरु भेटिएनन्। त्यही नदीमा उनीहरु सँगै पौडी खेल्दै, माछा मार्दै हुर्के बढेका थिए उनीहरु। त्यही नदीले उनीहरुलाई तितरबितर पार्‍याे।

काशिनताले घटनाको बेलीविस्तार लगाए,‘बाढी त्यसरी आउला भन्ने चिताइएकै थिएन। म त साथीलाई सहयोग गर्न गएको थिए। माधव पनि त्यहीँ मिसिएका थिए। साथीको सहयोग पाउँदा गणेश खुसी थिए। माछा बाँच्ने भएको भन्ने उनले ठानेका थिए।’

तर गणेशको न माछा रह्यो न उनको अहिलेसम्म लागेकाे छ। वास्तवमा गणेशसँग माधवको पनि न सास भेटिएको छ न लास। झरिले अहिले पनि आँखा झिमिक्क पारेको छैन हेलम्बुमा। वर्षोँदेखि परिचित नदी एकाएक बिरानो भएको छ उनका लागि। काशिनाथले भने,‘ म त कसोकसो बाँचे। साहसी भन्छन सबै। तर बाढीले मेरा साथीहरुलाई गायब बनायो।’

वास्तवमा काशिनाथ साहसी नै ठहरिए। तर साथीहरुको यादले उनको मन भतभत पोलिरहेको छ। उनको मनमष्तिक सबै बिथोलिएको छ, यतिञ्जेल साथीहरुको अत्तोपत्तो नहुँदा। सरकारले गणेश र माधवलाई मृत घोषणा गरिसकेको छ। यसबाट उनी अझै मर्माहत छन्।

काशिनाथले भने,‘ सबै सपना जस्तै लागिरहेको छ। मलाई बाढीले बगाएको थियो। ममाथि ढुंगामुडा सबै थिए। तैपनि त्यहाँबाट म कसरी फुत्के अहिले पनि भेउ पाउन सकेको छैन।’

बाढी आउँदा र आफूले गरेको संघर्ष सम्झिँदा उनको मुटु भयले काप्छ। शरीर चिसो हुन्छ। हातगोडा लुला हुन्छन्। दिमाग रित्तो हुन्छ। तर पनि काशिनाथ आफूलाई भाग्यमानी सम्झिन्छन्। आफ्नै साथीहरुलाई बेपत्ता पारेको बाढीलाई उनले जित्न सफल भए। उनलाई बाढीले बगाएन।

उनले भने,‘मलाई मात्रै सम्झने हो भने त आफू भाग्यमानी रहेछु जस्तो लाग्छ। सपनाझैँ लाग्ने संघर्ष गरे बाढीसँग। संसार देख्न पाएको छु। तर आफ्ना साथीहरु गुमाउँदा नराम्रो लागेको छ। बाढीले अरुलाई पनि निकै दुःख दिइरहेको छ।’

असार १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्