साप्ताहिक विश्लेषण (असार ६ देखि १२)

कहिले हाेला काेभिड प्यान्डेमिककाे अन्त्य?

विश्वमा जब कुनै रोगको महाप्रकोप फैलिन्छ अर्थात् प्यान्डेमिकको अवस्था आउँदछ तब त्यसको अन्त्य दुई तरिकाबाट हुन सक्दछ। कित प्राकृतिक रुपमा धेरै जनसंख्यामा रोग विरुद्धको प्रतिरोधात्मक शक्तिको विकास भएर प्यान्डेमिकको अन्त्य हुन्छ जसलाई हर्ड इम्युनिटी अर्थात् सामुदायिक प्रतिरोधात्मक शक्ति भनिन्छ। कित रोग विरुद्ध खोप लगाएर रोगको रोकथाम गरेर प्यान्डेमिकको अन्त्य हुन्छ जसलाई मास भ्याक्सिनेसन भनिन्छ।

पहिलो तरिका अर्थात् हर्ड इमुनिटीद्वारा प्यान्डेमिक निर्मुल हुनको लागि अधिकतम जनसंख्या अर्थात् कम्तीमा दुई तिहाई जनसंख्यामा उक्त रोग लागिसकेको हुनु पर्दछ जसले गर्दा समुदायमा रोग विरुद्धको प्रतिरोधात्मक शक्तिको विकास हुन्छ। जो व्यक्ति रोगको संक्रमण भइसकेपछि रोगबाट बच्न सक्दछ उक्त व्यक्तिमा रोग विरुद्धको प्रतिरोधात्मक शक्तिको विकास हुन्छ।

जब समुदायमा त्यस्ता व्यक्ति धेरै हुन्छन् तब रोग एकबाट अर्कोमा सर्न सक्ने सम्भावना कम हुन्छ र अन्त्यमा प्यान्डेमिकको अन्त्य हुन्छ। तर त्यति धेरै जनसंख्यामा संक्रमण फैलिसक्दासम्म धेरै मानिस सिकिस्त बिमारी भई मृत्यु पनि भइसकेको हुन्छ जुन अति ठूलो क्षति हुन आउँछ।

वर्तमान कोरोना प्यान्डेमिकको कुरा गर्दा विगत करिब डेढ वर्ष भित्र करिब २.५% भन्दा कम जनसंख्यामा कोरोना संक्रमण भएको छ अर्थात् विश्वको करिब ७८७४५००००० (सात अरब सतासी करोड पैचालिस लाख  जनसंख्या मध्ये करिब १७८७००००० (सत्र करोड सतासी लाख ) लाई कोरोना संक्रमण भइसकेको छ।

ती मध्ये करिब ३८७७३०० जना अर्थात् २.१७% को कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। यदि माथि उल्लेख गरिए जस्तै कोरोना प्यान्डेमिकको अन्त्य प्राकृतिक तरिकाबाट हुने हो भने अझै कति मानिसमा यो संक्रमण हुन बाँकी छ र कति यसैका कारण मर्न बाँकी छन्  हामी अनुमान लगाउन सक्दछौँ। तर त्यो कुरा हाम्रो कल्पनाभन्दा धेरै टाढाको कुरा हो।

अहिलेको विज्ञान र प्रविधिको जमानामा ठूलो जनधनको क्षतिपछि बल्ल कोरोना प्यान्डेमिकको अन्त्य होला भन्ने कुरा अकल्पनीय छ। तसर्थ त्यसको विकल्पको महसुस वर्तमान महाप्रकोपको सुरुवाती अवस्थामै विज्ञहरुले गरिसकेका थिए र फलस्वरूप अहिले कोरोना भ्याक्सिन हाम्रो सामु आइसकेको छ। अर्थात् वर्तमान प्यान्डेमिकको अन्त्य पहिलो तरिकाबाट नभई दोस्रो अर्थात् भ्याक्सिनको प्रयोगले हुनु पर्दछ भन्नेमा कुनै दोस्रो मत छैन।

अहिलेको कोरोना प्यान्डेमिकबाट छुटकारा पाउने एक मात्रै उपाय भ्याक्सिन भएता पनि यो पनि त्यति सजिलो उपाय भने पक्कै पनि होइन। विश्वका सबै देशहरुमा  समान रुपमा भ्याक्सिन नलगाएसम्म कोरोना संक्रमणको रोकथाम गर्न सकिँदैन। यस प्यान्डेमिकको घडीमा जबसम्म सबैजना सुरक्षित हुन सक्दैनन् तबसम्म कोही पनि सुरक्षित रहन सक्दैन।

अर्थात् सबैजना सुरक्षित भएपछि मात्रै आफू पनि  सुरक्षित भइयो भन्ने महसुस या विश्वास गर्न सकिन्छ। विश्व प्यान्डेमिकको पछिल्लो स्थितिले पनि यसकाे पुष्टि गर्दछ। जस्तै पछिल्लो प्यान्डेमिक लहरबाट बल्ल भारत र अन्य दक्षिण एसियाली देशहरु बिस्तारै तंग्रिन लागिरहेको बेला ब्राजिलमा फेरि अत्यधिक कोरोनाको नयाँ संक्रमण र मृत्यु देखिने क्रम सुरु भई जुन २३ का दिन एकै दिन ११५००० भन्दा धेरै नयाँ संक्रमण देखा परी हालसम्मकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमणको नयाँ कीर्तिमान बनेको छ।

दक्षिण एसियाभित्रै पनि अन्य देशहरुमा कोरोना संक्रमण थन्को लाग्दै गएको बेला बंगलादेशमा पछिल्लो समयनया लहर सुरु भई हालसम्मकै दोस्रो ठूलो लहर बनिसकेको छ। त्यस्तै बेलायत, रसिया आदि देशहरुमा पनि थोरै भएता पनि निरन्तर संक्रमण दर बढ्ने क्रममा देखिन्छ। यी सबै तथ्यहरुले के देखाउँछ भने हाल पनि विश्वभरि कोरोना संक्रमणको उच्च जोखिम कायमै छ र भ्याक्सिनले सबैलाई सुरक्षित बनाउन पनि निकै समय लाग्ने छ। आवर ओर्ल्ड इन डाटाका अनुसार हालसम्म विश्वमा जम्मा करिब २२% ले मात्रै भ्याक्सिनको पहिलो डोज लगाउन  पाएका छन् भने कम विकसित देशहरुमा यसको अनुपात १% भन्दा कम छ।

नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा पहिलो डोज भ्याक्सिन लगाएकाको संख्या करिब २५००००० पुगेको छ जुन करिब ८% जनसंख्या हो भने दुवै डोज लगाएकाको संख्या करिब ७३२००० पुगेको छ जुन करिब २.५% हो। बाँकी सिङ्गै देशले भ्याक्सिन लगाउन बाँकी नै छ।

त्यस्तै दक्षिण एसियाको कुरा गर्दा जुन महिनाको मध्यसम्म कम्तीमा एक डोज भ्याक्सिन लगाएका जनसंख्या भुटानमा करिब ६२.७५%, माल्दिभ्समा ५८%, भारतमा १७%, श्रीलंकामा ११.५%, नेपालमा ८.५%, पाकिस्तानमा ४.५%, बंगलादेशमा ३.५% र अफगानिस्तानमा १.५% रहेको छ। यो अनुपात औसतमा विश्वमा २२% र चीनमा करिब ४३% रहेको छ। यसबाट के अनमान लगाउन सकिन्छ भने भ्याक्सिन कार्यक्रम सानो देशमा सजिलो र ठूलो देशमा गार्हो हुन्छ भने विश्वका अधिकांश जनतामा भ्याक्सिनको पहुँच हुन अझै निकै समय लाग्ने छ।

तर यति भन्दा भन्दै पनि आशाका किरणहरु बढ्दै गएका छन्। थुप्रै देशहरुले कोरोना भ्याक्सिन उत्पादन गर्न सुरु गरेका छन्। चीनले हालसम्म विश्वमै सबैभन्दा द्रुत गतिमा भ्याक्सिन उत्पादन गरी सिनोफार्म र सिनोभ्यक कम्पनीहरुद्वारा उत्पादन गरिएका भ्याक्सिन विश्वका ८० भन्दा धेरै देशहरुलाई बाँडिसकेको छ। दक्षिण एसियामा भारत बाहेक पाकिस्तानले PakVac नामक भ्याक्सिन चीनको सहयोगमा उत्पादन सुरु गरिसकेको छ भने र बंगलादेशले चीनकै भेरोसेल (Vero Cell)नामक भ्याक्सिनको क्लिनिकल ट्राएल सुरु गरेको छ। तसर्थ निकट भविष्यमै विश्वमा कोरोरना खोप कार्यक्रमले व्यापकता लिन पाउँला भन्ने आशा गर्न सकिन्छ।

पछिल्लो समय दक्षिण एसियामा समग्र दैनिक कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। दक्षिण एसियाको विगत १५ दिनको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र न.१ मा देखाइएको छ।चित्रमा देखाइए जस्तै दक्षिण एसियामा हाल दैनिक संक्रमण ६५००० जति छ भने दैनिक मृत्यु करिब १६०० जति छ। पछिल्लो समय  विश्वको कुल दैनिक कोरोना संक्रमणको करिब २०% र दैनिक कोरोना मृत्युको करिब २३% दक्षिण एसियामा भेटिने गरेको छ। स्मरण रहोस् दक्षिण एसियामा वर्तमान प्यान्डेमिक लहर उच्च बिन्दुमा पुगेको बेला, मे महिनाको पहिलो सातातिर, यी अनुपातहरु क्रमसः ५५% र ४०% सम्म पुगेका थिए।

पछिल्लो समय संक्रमण संख्याको हिसाबले मात्रै होइन संक्रमण दर अर्थात् पोजिटिभिटीको हिसाबले पनि दक्षिण एसियाली देशहरुको कोरोना संक्रमणमा केही कमि आएको देखिन्छ।

चित्र न.२ले दक्षिण एसियाली देशहरुको गत दुई हप्ताको,जोन्स होप्किन्सविश्वविद्यालय (Johns Hopkins University)रआवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार,साप्ताहिक औसत  संक्रमण दरको प्रबृत्ति देखाएको छ।

पछिल्लो समय यस क्षेत्रका सबै जसो देशहरुमा दैनिक संक्रमण घट्दै गइरहेको अवस्थामा बंगलादेशको संक्रमण दर भने फेरि बढ्दै गएको देखिन्छ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुन २४ का दिन सम्ममा ३२९५७८६९जनामा यो संक्रमण लागिसकेको छ भने ४४४०५६ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ जुन २० देखि २६ (बि.सं. २०७८ असार ६ देखि १२)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि। 

 

गत हप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ जुन २० देखि २६ (बि.सं. २०७८ आसार ६ देखि १२) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.३ मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। यद्यपि हाल सरकारले पीसीआर कम गर्दै कोरोना एन्टिजेन टेस्ट बढाउँदै लागेको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन,असार १२ गते शनिबारसम्म, देशभरि जम्मा १२६९१ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६३२३२६ पुगेको छ। मे महिनाको दोस्रो साता उच्च बिन्दुमा पुगेको नेपालको कोरोना प्यान्डेमिकको वर्तमान लहर विगत डेढ महिनादेखि केही कम हुँदै गई साप्ताहिक संक्रमण संख्या गतहप्ता १२८५७बाट १२६९१ मा झरेको छ।

तर दैनिक संक्रमण घट्दै जानेदर गतहप्ता पहिला भन्दा निकै कम रही विगत दुई हप्ता नेपालको दैनिक संक्रमण लगभग स्थिर रह्यो।  त्यस्तै, चित्रमा देखाइए जस्तै, दैनिक मृत्युमा पनि कमि आउने क्रम जारी रहेता पनि  गत हप्ता त्यो भन्दा अघिको दाँजोमा दैनिक मृत्यु त्यति कम हुन सकेन। दुई हप्ता अघि साप्ताहिक मृत्यु जम्मा ३०९ भएकोमा गत हप्ता यो संख्या ३०० रह्यो। परीक्षणको संख्यासँगै दैनिक संक्रमण र मृत्युको संख्या पनि तल माथि भएको देखिन्छ जुन राम्रो कुरा होइन जे भए पनि, यसरी कोरोना संक्रमण र कोरोना मृत्यु दुवै घट्दै आउनु सुखद समाचार हो।

चित्र न.४ ले नेपालको देशभरिको दैनिक संक्रमण र काठमाडौँ उपत्यकाको दैनिक संक्रमणको तुलनात्मक विश्लेषण देखाएको छ। चित्रमा देखाइए जस्तै गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालकोऔसतमा २५% देखिएको छ। दुईहप्ता अगाडि यो अनुपात २९% थियो र विगत केही हप्तादेखि यो अनुपात क्रमसः झर्दै गएको देखिन्छ। यसले के संकेत गर्दछ भने हाल नेपालमा संक्रमण काठमाडौँ उपत्यकाभन्दा काठमाडौँ बाहिर फैलिँदैछ। पछिल्लो समय कोरोना संक्रमण कास्की, मोरङ, झापा,तनहुँ, सुर्खेत आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर(Positivity Rate)


प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। चित्र न.५ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ।

गत हप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेता पनि पहिलाको दाँजोमा संक्रमण दर घट्ने क्रममा केही सुस्तता आएको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम २०.२५%देखि अधिकतम ३०.३४%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२२.९५% रह्यो भने दुई हप्ताअघिको औसत संक्रमण दर २३.२८% थियो। चित्रमा देखाइए जस्तै नेपालको संक्रमण दर अझै पनि दक्षिण एसियामा सबैभन्दा उच्च मात्रै छैन अन्यको भन्दा निकै माथि पनि छ।

संक्षेपमा, माथिका तथ्यांकहरुबाट विगत करिब डेढ महिनादेखि दक्षिण एसिया र नेपालमा वर्तमान प्यान्डेमिक लहर केही ओरालो लाग्दै गएको देखिएता पनि विश्वको कोरोना प्यान्डेमिक अझै अनिश्चित नै देखिन्छ। विगत दुई हप्तादेखि लक डाउन केही खुकुलो हुँदा दैनिक जनजीवनमा निकै चहलपहल सुरु भएको देखिन्छ जसले गर्दा माथि उल्लेख गरिए जस्तै पहिलाको दाँजोमा पछिल्लो समय दैनिक संक्रमण, दैनिक मृत्यु र दैनिक संक्रमण दर सबैको घट्ने क्रममा सुस्तता आई स्थिर देखिन्छ।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैलीका साथै कोरोना विरुद्धको भ्याक्सिन नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। कोरोना भ्याक्सिन उपलब्ध हुने बित्तिकै नेपाल सरकारको नियमको पालना गरी आफ्नो पालो पर्खी क्रम बद्ध भई भ्याक्सिन लगाउनु नै अहिलेको आवश्यकता हो।

‘हामी सुरक्षित रहे मात्रै म पनि सुरक्षित हुन्छु, हामी नभए म पनि हुन्न’ भन्ने नारा मनन् गर्दै भ्याक्सिनको सदुपयोग गरौँ। भ्याक्सिनको दुरुपयोग नगरौँ र नगराऔँ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ।

prabinshrestha@hotmail.com

डा. श्रेष्ठ ग्वार्को ललितपुरस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरोसर्जन हुन्।

असार १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्