१२ खेलयता अपराजित बेल्जियमविरुद्ध हरेक खेलमा गोल गरिरहेका रोनाल्डो

एकातर्फ विश्व नम्बर एक बेल्जियम अनि अर्कातर्फ साविक विजेता पोर्चुगल। युरोकप २०२० अन्तर्गत आइतबार राति नेपाली समयअनुसार पौने १ बजे सुरु हुने प्रिक्वाटरफाइनलका यी दुई प्रतिस्पर्धी प्रतियोगिताका दुवै प्रबल उपाधि दावेदार हुन्। तर एउटाको यात्रा यसपटक अन्तिम-१६ मै सीमित हुने छ।

बेल्जिम यसपटक सहजै दोस्रो चरण पुगेको टोली हो। उसले  समूह चरणमा तीनवटै खेल जितेको थियो। पहिलो खेलमा रुसलाई ३-० गोलले हराएको बेल्जियमले दोस्रो खेलमा डेनमार्कलाई २-१ र तेस्रो खेलमा फिनल्यान्डलाई २-० गोलले हराएको थियो।

बेल्जियम १२ खेलयता अपराजित छ। यसबीचमा उसले १० जित र दुई बराबरीको नतिजा निकालेको छ। यी खेलमा ३१ गोल गरेको छ भने ८ गोल ब्यहोरेको छ। सन् २०२० को सेप्टेम्बर ११ तारिखमा इंग्ल्याण्डसँग २-१ गोलले पराजित भएयता उसले अन्तर्राष्ट्रिय फुटबलमा एक खेल पनि हारेको छैन।

यता साविक विजेता पोर्चुगलको यात्रा भने संघर्षपूर्ण रह्यो। चार टोली रहेको समूहमा तेस्रो भएर उसले अन्तिम-१६ मा स्थान बनाएको हो। पहिलो खेलमा हंगेरीलाई ३-१ गोलले पराजित गरेको पोर्चुगलले दोस्रो खेलमा जर्मनीसँग ४-२ गोलको हार ब्यहोरेको थियो भने तेस्रो खेलमा विश्व विजेता फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो।

६ वटा समूहका चारवटा शीर्ष तेस्रो टोली  पुग्ने प्रावधानका कारण पोर्चुगल अगाडि बढेको हो। अन्तिम खेलमा टोलीलाई अगाडि बढ्न बराबरी पर्याप्त रहेको अवस्थामा टोलीका कप्तान क्रिष्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए। पोर्चुगलले पाएका पेनाल्टी अवसरलाई उनले सदुपयोग गरेका थिए।

फ्रान्ससँग दोस्रो पेनाल्टी गोल गरेपछि उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा इरानका अली दाईले बनाएको एक सय ९ गोलको कीर्तिमान बराबरी गर्न सफल भएका थिए। अब थप एक गोलले, रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।

रोनाल्डोले खेल जिवनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि युरोकपमै गरेका थिए। सन् २००४ मा घरेलु मैदानमा आयोजित युरोकपको पहिलो खेलमा रोनाल्डोले गोल गरेका थिए, ग्रिसविरुद्ध। तर त्यस खेलमा पोर्चुगल पराजित भएको थियो।

रोनाल्डो पछिल्लो समय लयमा देखिन्छन्। उनले राष्ट्रिय टोलीबाट पछिल्ला लगातार ४ खेलमा गोल गरेका छन्, जारी युरोकपमा ५ गोलसहित। उनले पोर्चुगलका लागि खेलेका पछिल्ला १० मध्ये ७ खेलमा गोल गरेका छन्। रोनाल्डोले गोल गरेका मध्ये पोर्चुगल हालसम्म  ७ खेलमा मात्र पराजित भएको छ। ६ खेल बराबरी भएका छन्। एकपछि अर्को बलियो प्रतिद्धन्द्धीसँग खेलिरहेको पोर्चुगलका लागि बेल्जियम सशक्त प्रतिद्धन्द्धि हुने पक्का छ।

बेल्जियम फिफा वरियतामा पछिल्लो समय नम्बर एक टोली रहेपनि उसले हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सकेको छैन। सन् २०१८ मा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय फुटबलमा लामो समय प्रभाव गुमाएको बेल्जियम पछिल्लो एक दशकयता गोल्डेन जेनेरेसनबाट ‘गाइडेड’ छ।

नयाँ पुस्ताका केविन डी ब्रुयना, इडेन हजार्ड, रामेलु लुकाकु,  थिबाउट कोउर्तोइस लगायत खेलाडीहरुले बेल्जियमलाई उपाधि दिलाउने प्रयाश गर्दैछन्। बेल्जियमले सन् १९८४ यता सन् २००० र २०१६ मा मात्र युरोकप खेलेको छ। सन् १९८० को संस्करणमा उपविजेतासम्म भएको थियो। गत संस्करणमा क्वाटरफाइनलसम्म पुगेको थियो।

सन् २००२ पछि एकैपटक सन् २०१४ को मात्र विश्वकप खेलेको थियो जतिबेला क्वाटरफाइनलसम्म पुगेको थियो। यसको मतलब बेल्जियम पछिल्ला तीन ठूला प्रतियोगितामा लगातार कम्तीमा क्वाटरफाइनल पुगेको छ। यसपटक बेल्जियमका लुकाकु, डी ब्रुयना जस्ता खेलाडीहरु लयमा छन्। लुकाकुले तीन गोल गरेका छन्। डी ब्रुयनाले एक गोल गरेका छन् र दुई गोलमा उनको सहयाेग छ।

तर चार खेलयता बेल्जियमले पोर्चुगललाई हराउन सकेको छैन। अन्तिमपटक ३२ वर्षअघि, विश्वकप छनोटको खेलमा बेल्जियमले पोर्चुगललाई हराएको थियो। यसबीचमा यी दुई टोली ५ पटक प्रतिस्पर्धा भएको छ जसमा २ खेल बराबरी भएका छन् र तीन खेल पोर्चुगलले जितेको छ। अन्तिमपटक सन् २०१८ को जुनमा बेल्जियम र पोर्चुगल भिडेका थिए। मैत्रिपूर्ण रहेको  त्यस खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

आइतबार हुने अर्को प्रिक्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स र चेक गणतन्त्र भिड्नेछन्।

असार १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्