रोनाल्डोको अन्तिम खेल थियो र त्यो राष्ट्रिय टिमबाट?

व्यवसायिक खेल जीवनको संघार तर्फ धकेलिँदै गरेका क्रिष्टियानो रोनाल्डो नेतृत्वको टिम पोर्चुगल उपाधि रक्षाको यात्रामा यसपटक नकआउट चरणमै चुक्यो ।

सन् २०१६ मा युरोकपको उपाधि जितेर पोर्चुगल रोनाल्डोको कप्तानीमा महादेशीय विजेता बनेको थियो ।

तर आइतबार राति भएको अन्तिम १६ को खेलमा रोनाल्डोसहितको पोर्चुगल विश्व बरियतामा विगत एक हजार दिन भन्दा लामो समयदेखि शीर्ष स्थानमा रहँदै आएको बेल्जियमसँग १–० ले पराजित भयो ।

यो खेलमा रोनाल्डोले गोल गर्न सकेनन् र राष्ट्रिय टिमबाट सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्ना नाममा एकल बनाउने उनको चाहना तत्कालका लागि पूरा भएन ।

यही प्रतियोगितामा उनले इरानका अली दाईसँगको कीर्तिमानमा भने बराबरी गरे । उनले राष्ट्रिय टिमबाट अली दाई समान १०९ गोल गरेका छन् ।

पोर्चुगल बाहिरिएसँगै रोनाल्डोका लागि युरोकप अन्त्य भएको ठानिएको छ । ३६ वर्षका रोनाल्डो अर्को संस्करणको युरोकप फुटबलमा राष्ट्रिय टिमबाट खेल्ने सम्भावना शायद छ । यस्तै कतिपयले प्रमुख अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनको यो नै अन्तिम खेल हुन सक्ने पनि आँकलन गरेका छन् । तर खेल पण्डितहरु र रोनाल्डोकै प्रतिक्रियाहरुले पनि त्यसलाई त्यति सहयोग गर्दैनन् ।

उनी कम्तीमा आउँदो विश्वकपमा राष्ट्रिय टिममा हुने सम्भावना छ । आउँदो वर्ष अर्थात सन् २०२२ मा कतारमा विश्वकप फुटबल हुँदैछ । सो प्रतिस्पर्धामा उनीसहितको पोर्चुगल हुने सम्भावना छ । तर त्यस बेलासम्म ३७ वर्षका हुने रोनाल्डोले त्यसअघि नै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए भने बेल्जियमसँगको खेल नै प्रमुख प्रतिस्पर्धामा रोनाल्डोको उपस्थिति हुनेछ ।

अहिलेसम्मका सम्भावनाहरुले भने रोनाल्डोले विश्वकप खेल्ने देखाउँछ । व्यक्तिगत र क्लब तहमा जित्नु पर्ने र हाँसिल गर्नु पर्ने लगभग सबै सफलता हात पारेका रोनाल्डोको खेल जीवनमा एउटा खड्को बाँकी छ ।

पाँच वर्ष पहिले युरोकप जितेर उनी राष्ट्रिय टिमबाट प्रमुख उपाधि जित्ने खेलाडी त बने तर विश्वकप अझै पनि उनीबाट पर छ । सोही कडी पूरा गर्ने अन्तिम प्रयासका रुपमा आउँदो विश्वकपलाई रोनाल्डोले लिन सक्ने छन् ।

अली दाईले सन् १९९३ देखि २००६ सम्ममा इरानका लागि १०९ गोल गरेर बनाएको कीर्तिमानमा रोनाल्डोले यसअघिको खेलमा बराबरी गरेका थिए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ९० वा त्यो भन्दा बढि गोल गर्ने मात्र दुई पुरुष खेलाडी छन् र ती हुन् अली दाई र रोनाल्डो । रोनाल्डो सक्रिय खेलाडी मध्ये सर्वाधिक गोलकर्ता हुन् ।

उनी क्लब प्रतिस्पर्धाको सर्वाधिक ठूलो प्रतिस्पर्धा युरोपियन कप÷च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् ।

रोनाल्डो विश्वकप र युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने युरोपेली खेलाडी पनि हुन् । उनले २० गोल गरेर मिरोस्लाभ क्लोजले बनाएको कीर्तिमान भंग गरेका हुन् । क्लोजले १९ गोल गरेर सो कीर्तिमान बनाएका थिए । रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा गरेको गोल संख्या १३ छ ।

रोनाल्डोले युरोपियन च्याम्पियनसिपको छनौट चरणमा ३१, विश्वकपको छनौट चरणमा ३१, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा १९, युरोपियन च्याम्पियनसिपमा १३, विश्वकपमा ७, युइएफए नेशन्स लिगमा पाँच तथा कन्फेडेरेशन कपमा दुई गोल गरेका छन् ।

रोनाल्डोले १७९ खेलमा राष्ट्रिय टिमका लागि १०९ गोल गरेका छन् भने मेस्सीले अहिलेसम्म १४७ खेलमा अर्जेन्टिनाका लागि ७३ गोल गरेका छन् ।

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्