मेरा कारण टिमले हार्‍योः डच डिफेन्डर माथेज डी लिग्ट

अप्रत्यासित रुपमा नेदरल्याण्ड्स युरोकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । आइतबार राति भएको खेलमा चेक गणतन्त्रसँग २–० ले पराजित भएको हो ।

प्रतियोगिताबाट टिम बाहिरिनुमा आफू कारक रहेको डिफेन्डर माथेज डी लिग्टले बताएका छन् । अति उत्कृष्ट युवा खेलाडी डी लिग्ट दोस्रो हाफको सुरु तिरै सीधै रातो कार्ड पाएर मैदानबाट बाहिएका थिए ।

ह्याण्डबलका कारण उनी ५५ औँ मिनेटमा बाहिरिए । त्यसपछि नेदरल्याण्ड्सले दुई गोल खाएको हो । खेलपछि भएको पत्रकार सम्मेलनमा डी लिग्टले भने, ‘आधारभुत रुपमा हामीले खेल गुमाउनुमा मैले जे गरेँ त्यो कारक हो ।’

आफूले सो बल बाउन्स हुन नदिएको भए नतिजा अर्कै हुन सक्ने र यसले आफूलाई नराम्रो महसुस भएको डी लिग्टले नेदरल्याण्ड्सको टेलिभिजन एनओएसलाई बताएका छन् ।

उनले भनेका छन्, ‘बल मेरो नियन्त्रणमा थियो, तर बल आयो र मैले बाउन्स हुन दिएँ । म मैदानमा लडेँ र धकेलिएँ पनि जसका कारण हातको प्रयोग गर्ने अवस्था आयो ।’

त्यही क्षणले खेल परिवर्तन गरेको र त्यसको जिम्मेवारी आफूले लिने बताए । प्रशिक्षक फ्र्यांक डी बोएरले डी लिग्टलाई साथ दिँदै नतिजाको समग्र जिम्मेवार आफू रहेको बताए ।

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्