युरोकपमा विश्वकपका विजेता फ्रान्स र उपविजेता क्रोएसियालाई अगाडि बढ्न स्पेन र स्वीट्जरल्यान्ड चुनौती

फ्रान्सका केलियन एमबाप्पे। फाइल तस्विर

युरोकप २०२० अन्तर्गत सोमबार हुने क्वाटरफाइनलका खेलहरुमा गत विश्वकपका विजेता फ्रान्स र उपविजेता क्रोएसिया आ-आफ्ना खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली समयअनुसार राती पौने १० बजे क्रोएसियाले स्पेनसँग खेल्ने छ। अर्को खेलमा राती पौने १ बजे फ्रान्सले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि आइतबार राती साविक विजेता पोर्चुगल, बेल्जियमसँग १-० गोलले पराजित भएर बाहिरिएको थियो।

स्पेन सन् २०१२ पछि युरोकप जित्ने प्रयाशमा छ। यसपटक समूहगत चरणमा सुरुका दुई खेलमा बराबरी खेलेको स्पेनले तेस्रो तथा अन्तिम खेलमा स्लोभाकियालाई ५-० गोलले हराएको थियो। क्रोएसियाको यात्रा पनि सहज रहेको छैन।

समूहको पहिलो खेलमा इङ्ल्यान्डसँग १-० गोलले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा चेक गणतन्त्रसँग १-१ गोलको बराबरी खेलेको थियो भने तेस्रो खेलमा स्कटल्यान्डलाई ३-१ गोलले पराजित गरेको थियो। उक्त समूहमा तेस्रो भएको चेक गणतन्त्र आइतबार राती नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनलसम्म पुगिसकेको छ।

क्रोएसिया महत्वपूर्ण खेलाडी विरामी भएपछि संकटमा छ। इभान पेरिसिच र डेजान लोव्रेनले स्पेनविरुद्धको खेल  गुमाउने छन्। पेरिसिचले दुई गोल गरेका छन् भने एक गोलमा असिस्ट गरेका छन्। उनिहरुको अनुपस्थितीमा लुका मोड्रिचमाथी थप जिम्मेवारी बढेको छ।

अनुभवी मोड्रिचले पछिल्ला ६ खेलमा दुई गोल र दुई असिस्ट गरेका छन्।  सन् २०१८ मा क्रोएसियाले स्पेनसँग ६-० गोलको हार ब्यहोरेको थियो जुन अन्तर्राष्ट्रिय फुटबलमा उसको सबैभन्दा फराकिलो हार थियो। तर त्यसको २ महिनापछि नै क्रोएसियाले स्पेनलाई ३-२ गोलले हराएको थियो। त्यही नै यी दुई टोलीबीच अन्तिम भिडन्त थियो।  स्पेन  ११ खेलयता अपराजित छ। सन् २०२० को सेप्टेम्बरमा युक्रेनसँग १-० गोलको हार ब्यहोरेयता स्पेनले कुनैपनि खेलमा पराजय ब्यहोरेको छैन। यसबीचमा उसले ५ जित र ६ बराबरीको नतिजा निकालेको छ।

पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पेनको नतिजा भने खराब रहँदै आएको छ। सन् २००८ र २०१२ मा युरोकप तथा सन् २०१० मा विश्वकप जितेको स्पेन सन् २०१४ मा आयोजित विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो भने सन् २०१६ को युरोकप र सन् २०१८ को विश्वकपमा प्रिक्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन। नयाँ पुस्ता हावी भइरहेको स्पेनिस टोलीमा रहेका फेरान टोरेसले पछिल्ला ८ खेलमा ६ गोल गरेका छन्।

फेरान टोरेस। फाइल तस्विर

यता गत संस्करणको उपविजेता समेत रहेको फ्रान्स यसपटक समूहगत चरणमा बलिया टोलीहरुसँग प्रतिस्पर्धा गर्दै विजेताका रुपमा अगाडि बढेको हो। उसले पहिलो खेलमा जर्मनीलाई १-० गोलले हराएको थियो भने त्यसपछि हंगेरीसँग १-१  र पोर्चुगलसँग २-२ गोलको बराबरी खेलेको थियो। जर्मनीविरुद्ध आत्मघाती गोलमा उसले तीन अंक प्राप्त गरेको थियो। फ्रान्सले अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन।

तर उसले सन् २०२० को नोभेम्बरयता कुनैपनि खेल हारेको छैन।  यसबीचमा उसले सात जित र तीन बराबरीको नतिजा निकालेको छ। अन्तिमपटक फ्रान्सले फिनल्यान्डसँग हार ब्यहोरेको थियो, २-० गोलको। स्वीट्जरल्यान्डले समूहगत चरणमा पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा इटालीसँग ३-० गोलको हार ब्यहोरेको थियो। तेस्रो खेलमा टर्कीलाई ३-१ गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो। स्वीट्जरल्यान्डले पछिल्ला १० खेलमा ७ जित , २ बराबरी र एक हार ब्यहोरेको छ।

फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले हालसम्म जित हात पार्न सकेको छैन। यी दुई टोलीबीच ७ पटक प्रतिस्पर्धा भएकामा फ्रान्सले तीन जित र ४ बराबरीको नतिजा निकालेको छ। अन्तिमपटक फ्रान्स र स्वीट्जरल्यान्ड सन् २०१६ को युरोकपमा भिडेका थिए जुन गोलरहित बराबरीमा सकिएको थियो। स्विट्जरल्यान्ड सन् २०१४ र २०१८ को विश्वकप तथा २०१६ को युरोकपमा प्रिक्वाटरफाइनल पुगेको थियो तर त्यहाँभन्दा अगाडि बढ्न सकेको थिएन। जारी युरोकपमा स्वीट्जरल्यान्डका जद्रान साकिरी र फ्रान्सका करिम बेन्जेमाले टोलीका लागि सर्वाधिक २/२ गोल गरेका छन्। आशा गरिएका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पेले लय समाउन सकिरहेका छैनन्।

 

 

 

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्