सोभियत संघले ढाँटेको त्यो एन्थ्रेक्स अनि अहिलेको कोरोना

एकातेरिनबर्ग (रसिया)– अस्पतालहरुमा अचानक अज्ञात कारणले फैलिएको निमोनियाका बिरामीहरु धमाधम देखा पर्न थालेका थिए। केही दिनभित्रै दर्जनौं मानिसको मृत्यु पनि भयो। गुप्तचर प्रहरीले चिकित्सकहरुसँग भएका रेकर्डहरु जफत गरेर लगे भने उनीहरुलाई चुइँक्क नबोल्नु भनेर खबरदारी पनि गरे। उता अमेरिकी जासुसहरुले चाहिँ ल्याबमा भएको चुहावटसम्बन्धी सुराकलाई पुष्टि गर्न अनेक प्रयास लगाए। तर, स्थानीय अधिकारीहरुले ‘यो संक्रमण मासुबाट फैलिएको हो’ भन्दै झुठको पहाड उभ्याउन सजिलै विजय प्राप्त गरे।

अर्थात् असत्यको विजय भयो। तर, कहिलेसम्म?

एक दशकभन्दा बढी समय बितेपछि वास्तविकता उजागर भएरै छाड्यो।

घटना सन् १९७९ को अप्रिल र मे महिना ताकाको हो। तत्कालीन सोभियत संघको एउटा सैनिक ल्याबबाट एन्थ्रेक्स ब्याक्टेरिया चुहावट भएको थियो। हावाबाटै संक्रमण फैलाएको त्यसले कम्तीमा ६६ जना निर्दोषको ज्यान लिइदियो। त्यतिबेलाको बलियो सोभियत संघले त्यो जनावरबाट मानिसमा सरेको संक्रमणले गर्दा उत्पन्न भएको समस्या भनेर टार्न खोज्यो र अमेरिकाका अग्रणी वैज्ञानिकहरुले पनि त्यसैलाई पत्याइदिए।

तर, यो विषयको फेरि विस्तृत छानबिन सन् १९९० को दशकमा गरियो। यो छानबिनमा तिनै वैज्ञानिकको संलग्नता पनि थियो जसले उतिबेला यसलाई सोभियत संघले दिएको तर्कमै विश्वास गरेका थिए। र, पूर्ण क्षमताको आधिकारिक यसपटकको छानबिन टोलीले निष्कर्ष निकाल्योः तत्कालीन सोभियत संघ र आजको रुस भित्र पर्ने एकातेरिनबर्गको युराल्स सिटीमा उतिबेला साँच्चै नै इतिहासकै भयावह ल्याब चुहावटको घटना घटेको थियो।

अब आज त्यो घटनाका पीडितहरुको अलपत्र समाधिस्थल पनि अस्तब्यस्त भइसकेको छ। सहरभन्दा पर घाटमा शवसँगै गाडिएका प्लेटहरुले देखाउने तिनका नामहरु पनि उक्किइसकेका छन्। यि तिनै अभागीहरु गाडिएका स्थान हुन् जसको शरीरमा अन्त्येष्टिको बेला कृषि किटनाशकहरु छर्किएका थिए। मानव इतिहासको यो नमिठो सत्य पत्तालागेर पनि ओझेलमा परिसकेको थियो। तर, ठीक यतिबेला कोभिड १९ नामको अर्को महामारीले मानव जातिलाई अझ भयावह ढंगले सताइरहेको बेला सोभियतसंघको त्यो दुर्दान्त घटना, त्यसलाई उतिबेला लुकाउने दुष्प्रयास र अन्ततोगत्वा फेरि सत्य सार्वजनिक भएको कथाले झक्झक्याउँदै हामीलाई सम्झाउन आइपुगेको छ।

कुनै पनि अधिनायकवादी सरकारले मानव समुदायमै रोग फैलाउने महामारीको सत्यतथ्यलाई कसरी सहजै मोड्न सक्दारहेछन् भन्ने यो घटनाले साबित गरेको छ जसको बास्तविकता जनसमक्ष आउन वर्षौं वा शासनसत्ताकै परिवर्तन पर्खनुपर्ने हुन्छ।

‘हरेकपटक महामारीसँगै अनेक भ्रामक अफवाहहरु पनि फैलिने गर्छन्,’ सन् १९८६ मा सत्यतथ्य पत्तालगाउन मस्को पुगेका नोबल पुरस्कार विजेता अमेरिकी बायोलोजिस्ट जोसुआ लेडेरबर्गले उतिबेलै मेमोमा उल्लेख गरेका छन्, ‘सोभियतसंघले यस विषयमा गरेको दाबी सत्यको असाध्यै नजिक देखिन्छ।’

अहिले पनि संसारका धेरै वैज्ञानिकहरुले कोभिड १९ महामारीको कारक भाइरस कुनै जनावरमा उत्पत्ति भएको र पछित्यो कुनै तवरले मानिसमा सरेको तथ्यलाई पत्याउँदै आइरहेका छन्। अनि यतिबेलै केही वैज्ञानिकहरुले भने चीनको ‘वुहान इन्स्टिच्यूट अफ भाइरोलोजी’मा भएको हुनसक्ने दुर्घटनाको राम्ररी छानविन गरिनुपर्ने तर्फ पनि औंल्याउन थालेका छन्।

कुनै समय सोभियतसंघ जसरी चलेको थियो लगभग त्यसैगरी अहिले अघि बढेको चिनियाँ सरकारले कदाचित ल्याबमा भएको चुहावटले गर्दा यो महामारी फैलिएको भए पनि त्यसलाई ढाकछोप गरिदिनसक्ने संभावना ब्यापक छ भन्ने चर्चा पनि यतिबेला सर्वत्र चलिरहेको छ। यसबारे अन्तर्राष्ट्रिय स्तरबाट गर्न खोजिएको छानविनका अनुसन्धाताहरुलाई सहज पहुँच र तथ्यांकहरु दिन चीनले आनाकानी गरिरहेको सर्वविदितै छ। ती तथ्यांकहरुको छानविनले यो महामारीको बास्तवमै उत्पत्ति कताबाट भएको रहेछ भन्ने कुरामा ठोस तथ्य उजागर गर्नसक्ने थियो।

‘यो कतै ल्याबमा भएको कुनै दुर्घटनाको प्रतिफल त होइन भनेर थाहा पाउन हामी सबै असाध्यै उत्सुक छौं,’ हार्वर्ड विश्वविद्यालयका बायोलोजिस्ट म्याथ्यु मेसेल्सनले हालै एक अन्तवार्तामा भनेका छन्, ‘ल्याबका मामलामा हाम्रा प्रचलित दिशानिर्देशले पर्याप्त रुपमा सुरक्षाको प्रत्याभूति नगर्ने किसिमले वुहानमा कुनै दुर्घटना भएको पनि हुनसक्छ।’

जैविकअस्त्रको युद्धसम्वन्धि विज्ञ डा. मेसेल्सन सन् १९८० मा अमेरिकी गुप्तचर संस्था सिआइएमा कार्यरत एक मित्रको घरमै बसोबास गर्नथालेका थिए। त्यो घर सोभियतसंघको त्यही सैनिक ल्याबबाट नजिकै थियो। यसरी बसोबास गर्नुको उद्देश्य चाहिँ उक्त ल्याबबाट हानिकारक एन्थ्रेक्स चुहावट भएको हुनसक्ने विषयमा सुराकीले दिएको अपुष्ट जानकारीबारे अध्ययन गर्नु थियो। छ वर्षको अवधिपछि उनले दिएको रिपोर्टमा सोभियतसंघले उक्त एन्थ्रेक्स फैलिनुमा प्राकृतिक कारण नै रहेको भनेर दिएको तर्कलाई उनले ‘प्रशंसनीय’ भनेर उल्लेख गरेका थिए।

‘सोभियतवालाले त्यतिबेला दिएका तर्क अनि प्रमाणहरु असाध्यै चित्तबुझ्दो थिए,’ उनी भन्छन्, ‘पशुलाई खुवाइने दूषित हड्डीयुक्त खानाबाट फैलिएको त्यो एन्थ्रेक्सले मानिसको पेटमै प्रहार गर्न थालेको भनेर उनीहरुले तर्क गरेका थिए।’

त्यसको केही समयपछि सोभियतसंघको बिघटन भयो। सन् १९९२मा रुसी राष्ट्रपति बोरिस एल्तसिनले त्यसरी उतिबेला एन्थ्रेक्स फैलिनुको भित्री रहस्यलाई बल्ल तल्ल आएर स्वीकारे, ‘ हाम्रो सेनाको गतिविधि नै त्यसको कारण थियो।’

डा. मेसेल्सन र उनकी स्वास्थ्य मानवशास्त्री पत्नी जीन गुलेमिन अन्य अमेरिकी विज्ञहरुको साथमा गहन अध्ययनका लागि एकातेरिनबर्ग आइपुगेका थिए। उनीहरुले खोजीका क्रममा सन् १९७९ को अप्रिल २ तारिखका दिन कसरी उत्तरपूर्वी दिशाबाट आएको एउटा हुरीले कारखानाबाट अचानक चुहिन पुगेको एन्थ्रेक्सलाई सानो सानो परिमाणमा टुक्राएर त्यो हावाकै गतिमा कम्तीमा ३० माइल परसम्म लगिदिएको दस्तावेजीकरण गरेका थिए।

‘मानिसले मनगढन्ते कथा बनाएर यस्ता घटनालाई अर्कै रुपमा मजाले प्रस्तुत गर्न सक्छन्,’ पूर्व सोभियतसंघले त्यस्तो भ्रम कसरी स्थापित गर्न सक्यो होला भन्ने विषयमा डा. मेसेल्सन भन्छन्।

आजको एकातेरिनबर्गक्षेत्र सोभियतसंघको बेलामा स्भेरदलोभ्स्क भनेर चिनिन्थ्यो। उक्त स्थानमा त्यो घटनाको लगत्तै धमाधम मानिसहरु रहस्यमय पाराले विरामी पर्न थालेका थिए। यसै महिना गरिएको अन्तर्वार्ताहरुमा उतिबेला बाँचेका पीडितहरुले त्यस क्षणको सम्झना गरे।

त्यतिबेला ३२ वर्षिया रेजा स्मिरनोभा एक सेरामिक कारखानामा काम गर्थिन्। रेजाका अनुसार रहस्यमयी चारदिवारीभित्र उनका केही साथीहरु बस्थे जसले उनलाई सुन्तला र टिनको बट्टामा राखिएका मासुहरु दिइरहन्थे। त्यो चारदिवारीभित्र जिवाणुहरुसम्वन्धि कुनै गोप्य किसिमका कामहरु हुने गर्छन् र त्यसले रोग पनि फैलाउन सक्छ भन्ने गाइँगुइँ बाहिर पनि सुनिने गर्थे।

‘तिम्रा हातहरु किन निलो देखिन थालेका छन्?’ सन् १९७९ को अप्रिलताकै उनलाई सहकर्मीहरुले सोधेको अझै सम्झना छ। त्यतिबेलै कारखानामा काम गर्न जाँदा स्मिरनोभाको रगतमा अक्सिजनको मात्रा पनि असाध्यै कम हुँदाका लक्षणहरु पनि देखिएका थिए।

लगत्तै चर्को ज्वरो पनि आएपछि उनलाई दौडादौड अस्पताल लगियो। ‘त्यसपछि एक सातासम्मै म बेहोस भएरै अस्पतालमा भर्ना गरिएँ,’ उनी भन्छिन्, ‘मे महिना भित्रै मेरा १८ जना सहकर्मीहरुको मृत्यु भयो।’

त्यसपछि मात्रै उनलाई अस्पतालबाट घर जाने अनुमति मिलेको थियो। त्यतिबेला केजीबी (सोभियत संघको शक्तिशाली गुप्तचर संस्था)ले उनलाई कागजपत्रमा हस्ताक्षर गर्न लगाएको थियो जसमा उनले आफ्नो भोगाइ २५ वर्षसम्म कसैलाई सुनाउन नपाउने उल्लेखित थियो।

तत्कालीन स्भेरदलोभ्स्कस्थित महामारी विभागमा महामारीविज्ञको रुपमा कामगर्ने भिक्टर रोमानेन्को पनि सेनाका लागि उपयोगी भइ दिए। र, उनी पनि यो घटना ढाकछोप गर्नमा सहयोगी बनेका थिए।

सहरभरि तत्कालै फैलिएको यो रोगको कारण वरिष्ठ स्वास्थ्य अधिकारीहरुले भनेजस्तै खानेकुराले गर्दा पेटमा समस्या भएर हुनसक्दैन भन्ने आफूले उतिबेलै बुझिसकेको उनी बताउँछन्। उनका अनुसार त्यो केस हेर्दैखेरि हावामा बगेको एन्थ्रेक्सले गर्दा हुनसक्ने जुन कुनै एक समय एकसाथ फैलिएर भएको हो भन्ने बुझिन्थ्यो।

भ्यादिमिर पुटिनले शासनसत्ता सम्हालेयताको रुस ऐतिहासिक घटनाहरुलाई उजागर गर्ने मामलामा संकोची बन्दै गएको छ र यसलाई राष्ट्रवादसँग जोड्दै लैजान थालेको छ। त्यतिबेला ठ्याक्कै के भएको थियो भन्ने विषयमा अझै पनि धेरै तथ्यमा सरकार मौन बसेकै बेला अहिले एउटा बेग्लै अफवाह पनि फैलाउन सुरु गरिसकिएको छ। उतिबेला उक्त ल्याबमा कुनै पश्चिमा एजेन्टले कम्युनिष्ट सत्तालाई बदनाम गर्न जानीबुझिकनै एन्थ्रेक्स चुहावट गरिदिएको हुनसक्ने नयाँ धारणा त्यो अफवाहले बोकेको छ।

‘यो पुरै बेवकुफीपूर्ण काम भइरहेको छ भन्ने हामी सबैले बुझिरहेका थियौं,’ डा. रोमानेन्को भन्छन्।

डा. रोमानेन्कोसँग उतिबेला रहेका कागजातहरुलाई जफत गर्दै केजीबीका एजेन्टहरुले उनलाई अन्य टोलीसँगै बाहिर गएर महिनौंसम्म मासुका नमूनाहरु संकलन गर्न खटाइदिएको थियो।

त्यतिबेला सोभियत संघले जैविक अस्त्रको प्रयोगमा प्रतिवन्ध लगाउने सम्झौतामा हस्ताक्षर गरेको थियो।

‘जैविक अस्त्रबाट आफूलाई सक्दो टाढा राख्ने एक किसिमको समझदारी थियो,’ डा. रोमानेन्को भन्छन्, ‘त्यसैले यो काममा अह्राए अनुसारकै गरेर सहयोग पुर्‍याउनु मुलुकको हितकै पक्षमा लाग्नु पनि भइदियो।’

त्यो साँझ अर्को आतंक पनि थपिएको थियो जतिबेला न्यूयोर्क टाइम्सको कुनै संवाददाताले स्भेरदलोभ्स्कको स्थानीय एक अखबारमा फोन गरेर एन्थ्रेक्स दुर्घटनाका बारेमा बुझ्न चाहे। त्योबेलाको भयावह परिस्थितिलाई स्थानीय पत्रकार अलेक्साण्डर पास्कोभ अहिले पनि सम्झन्छन्। उतिबेलै प्रधान सम्पादकले समाचारकक्षका सबै पत्रकारलाई विदेशबाट आएका फोनहरुको जवाफ नदिनू भनेर ठाडो आदेश जारी गरेका थिए।

‘जसले यो कुरालाई गोप्य राख्न मद्दत गर्छ उसले लाभ हासिल गर्नेछ,’ प्रधान सम्पादकले भनेका लाइन उनले सम्झे।

जसै सोभियतसंघ टुक्रा टुक्रामा परिणत भयो त्यसैगरी उसका रहस्य जोगाउने क्षमताहरु पनि कमजोर हुँदै जान थाले।

उनै पत्रकार पास्कोभले सन् १९९२ मा एउटा वृत्तचित्र बनाए जसमा उनले एक अवकाशप्राप्त जासुसी प्रतिरोधी अधिकृतको अन्तर्वार्ता लिएका थिए। उतिबेला स्भेरदलोभ्स्कमा खटिएका ती अधिकृत पछिल्लो समय युक्रेन अर्थात् हालको बेग्लै मुलुकमा थिए।

त्यतिबेला सैनिक ल्याबमा भएका टेलिफोन संवादहरु सुनेका ती अधिकृतले थाहा पाएको तथ्यअनुसार ल्याबमा कुनै एकजना प्राविधिकले ‘सेफ्टी फिल्टर’ फेर्न बिर्सेकै कारण दुर्घटना भएको थियो।

घटनाका बेला अर्थात् सन् १९७९ताका त्यसै भेगमा उच्च कम्युनिष्ट नेता भएकैले त्यसलाई ढाकछोपमा लाग्न बाध्य भएका येल्तसिनले पछि खुद यसको आरोप सेनामाथि लगाएका थिए।

‘एउटा अति सामान्य कुरो बुझ्नु जरुरी छ,’ पास्कोभ भन्छन्, ‘यी सारा रहस्य आज सार्वजनिक हुनसक्नुको पछाडि अगर कुनै कारण छ भने त्यो सोभियतसंघको पतन नै हो।’

नब्बेको दसकमा डा. मेसेल्सन दम्पत्ति फेरि एकातेरिनबर्ग बारम्बार पुगेर उक्त एन्थ्रेक्स चुहावटका दस्तावेजहरु संकलन गरेका थिए। त्यो दुर्घटनाबाट बाँचेकाहरुको अन्तर्वार्ता लिनेदेखि लिएर पीडितहरुका खोजीनीतिसमेत गरेका थिए। त्यतिबेला सोभियतसंघको विश्वास गर्नुमा कहाँ के गल्ती भयो भनेर प्रस्तुत गर्ने प्रमाणहरुको पनि खोजी गरेका थिए।

डा. मेसेल्सनका अनुसार सन् १९९० को प्रारम्भताका उनले यो विषयलाई लिएर पुनः एक रुसी अधिकारीसँग सम्पर्क गर्नखोज्दा उनले ‘यो गढेको मुर्दा उखाडेर अब के फाइदा छ?’ भनेका थिए।

तर, ती रुसी अधिकारीले कुनै पनि महामारीको उत्पत्ति कहाँबाट भएको थियो भन्ने कुरामा जब भूराजनीतिले प्रवेश गर्छ त्यसपछि त्यस्ता तथ्यको खोजी झनै जटिल बनेर जाने उल्लेख गरे। त्यतिबेला यो घटनालाई ढाकछोप नगरेको भए रुस र पश्चिमा संसारको बीचमा यो मामलाले झनै तनाव थप्ने उनको तर्क थियो।

‘अहिले कोभिड १९ को उत्पत्ति कसरी भएको हो भन्ने खोजबिनमा पनि उही कुरो दोहोरिन पुगेको छ,’ डा. मेसेल्सन भन्छन्, ‘यो महामारीको श्रोत जबसम्म रहस्यमै रहन्छ तबसम्म सत्यको खोजीभन्दा पनि चीनसँगको तनाव बढ्ने कुराले ध्यान अन्तै लगिरहन्छ।’

यसलाई भावनाका हिसाबले भन्दा पनि इतिहासमा दर्ज हुने तथ्यका हिसाबले हेरिनुपर्ने उनी मत राख्छन्।

कोभिड १९ले जस्तो एन्थ्रेक्स मानिसबाट मानिसमा सजिलै सर्ने होइन। त्यसले गर्दा नै स्भेरदलोभ्स्कमा भएको ल्याब दुर्घटनाले महामारीको रुप लिन पाएन। एक हिसाबले भन्ने हो भने स्भेरदलोभ्स्कको घटना अझै पूर्ण रुपमा बाहिर आइसकेको छैन। त्यो गोप्य गतिविधिमा संलग्न ल्याब बस्तुतः सोभियतसंघको कुनै जैविक हातहतियार उत्पादन केन्द्र थियो वा भ्याक्सिनको अनुसन्धानमा संलग्न थियो भन्ने नै पनि राम्ररी छुट्टिइसकेको छैन।

भ्यादिमिर पुटिनले शासनसत्ता सम्हालेयताको रुस ऐतिहासिक घटनाहरुलाई उजागर गर्ने मामलामा संकोची बन्दै गएको छ र यसलाई राष्ट्रवादसँग जोड्दै लैजान थालेको छ। त्यतिबेला ठ्याक्कै के भएको थियो भन्ने विषयमा अझै पनि धेरै तथ्यमा सरकार मौन बसेकै बेला अहिले एउटा बेग्लै अफवाह पनि फैलाउन सुरु गरिसकिएको छ।

उतिबेला उक्त ल्याबमा कुनै पश्चिमा एजेन्टले कम्युनिष्ट सत्तालाई बदनाम गर्न जानीबुझिकनै एन्थ्रेक्स चुहावट गरिदिएको हुनसक्ने नयाँ धारणा त्यो अफवाहले बोकेको छ।
‘सत्यको चुरो समात्नु असाध्यै जटिल काम हो,’ सन् १९७९ को घटनाबारे गोप्य रुपमा थुप्रै तथ्य एवं प्रमाणहरु संकलन गर्न सफल एकातेरिनबर्गस्थित प्याथोलोजिस्ट लेभ ग्रीनबर्ग भन्छन्, ‘सत्य स्वीकार्न नचाहनेले आफ्ना तर्क राख्नका निम्ति जहिले पनि कुनै न कुनै आधार भेटिरहेकै हुन्छ।’

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्