कोरोनाको बीमाबारे अन्यौल, अर्थ मन्त्रालयले निकासा नदिएको जिकिर

सांकेतिक तस्बिर।

काठमाडौँ– कोरोना भाइरस संक्रमण भएसँगै बीमा समितिले विश्वमा कतै नभएको पोलिसी ल्यायो, कोरोना बीमा। कोरोना भाइरस बढ्दै गएपछि धेरैले कोरोना बीमा पनि गरे। सुरुवातमा बीमीतहरुले सहजै दाबी भुक्तान पाए। तर कोरोना संक्रमणको दर बढ्दै गएपछि दाबी भुक्तानीमा समस्या देखियो।

कोरोना बीमा पोलिसी अनुसार पहिलो एक अर्ब निर्जीवन बीमा कम्पनीहरुले र दोस्रो एक अर्ब रुपैयाँको दाबी पुनर्बीमा कम्पनीले, तेस्रो चरणको ५० करोड रुपैयाँ निर्जीवन बीमा कम्पनीहरुले महाविपत्ति कोषबाट र चौथो चरणमा बीमा समितिबाट एक अर्ब रुपैयाँ व्यहोर्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको कोषबाट भुक्तानी गर्नुपर्ने रकम बराबरको भुक्तानी भइसकेको छ। उक्त कम्पनीहरुले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेपछि कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा सरेको हो।

सरकारमा दायित्व सरेपछि कोरोना बीमाको दाबी भुक्तानी पछिल्लो केही महिनादेखि रोकिएको छ। तर नेपाल बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले संक्रमण बढेसँगै सरकारले गरेको लकडाउनका कारण केही ढिलाइ भएको बताए। उनले भने, ‘भुक्तानी रोकिएको छैन। यसलाई कसरी अगाडि लैजाने भन्ने पाटोमा नै छ। हामी हेरिरहेका छौँ।’

केही समययता कोरोना बीमा दावी भुक्तानी रोकिएको छ। अध्यक्ष पाण्डेका अनुसार बन्दका कारण कोरोना बीमा दावी भुक्तानीका लागि बीमीतहरु आएनन्। ‘विस्तारै बन्द खुकुलो भइरकेको छ,’ अध्यक्ष पाण्डेले भने, ‘अब दाबी भुक्तानीका लागि आउँछन् । काम रोकिएको छैन।’

यस्तै कोरोना बीमा दावी भुक्तानीका लागि बीमा समितिले अर्थ मन्त्रालयसँग ३ अर्ब रुपैयाँ माग गरेको थियो । तर अर्थ मन्त्रालयले उक्त रकम निकासा नगरेको समितिले जनाएको छ।

बीमा समितिको भुक्तानी तथ्यांक हेर्दा गत पुस २ गते बिहीबारसम्म एक अर्ब १९ करोड सात लाख रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी १५ गतेसम्म एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ। त्यसलगतै माघ ७ गते बुधबारसम्म दुई अर्ब ८५ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको देखिएको छ। यस्तै फागुन ६ गतेको तथ्यांक हेर्दा ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ र २१ गते ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँको भुक्तानी भएको छ।

त्यसपछि सिधै चैत ६ गते पाँच अर्ब १४ करोड १२ लाख ५० हजार र ३० गते पाँच अर्ब ८५ करोड १५ लाख रुपैयाँको कोरोना बीमा दावी भुक्तानी भएको छ।

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्