‘पूर्ण रुपमा खोप नलगाएसम्म संक्रमण नियन्त्रण हुँदैन’

काठमाडौँ– टिकट काउन्टरअगाडि केही मानिस क्रमबद्ध लाइन लागिरहेका थिए। केही ओपिडीअगाडि थिए। त्यसैमध्येका केही डा. शेरबहादुर पुनलाई बीचमा पारेर सोधपुछ गरिरहेका थिए।

तर, महिना दिनअगाडि आकस्मिक कक्षमा थेग्न नसक्ने बिरामीको घुइँचो लाग्ने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुनसान थियो।

आकस्मिक कक्षको छेउमै रहेको सोधपुछ कक्षमा तीन जना कर्मचारी आपसमा कुराकानी गर्नमा व्यस्त देखिन्थे। तनावरहित चिकित्सक यताउता ओहोर दोहोर गर्दै थिए।

कोही आकस्मिक कक्षमा बिरामीका रिपोर्ट हेर्नमा व्यस्त देखिन्थे। तर, संक्रमणको सुरुवाती दिनमा जस्तो भने होइन, रिपोर्ट हेर्दै गरेका चिकित्सक अत्तालिएका देखिँदैनथे।

एक जनाको रिपोर्ट हेर्दाहेर्दै हतारिएर अर्को बिरामीलाई हेर्न जानुपर्ने अवस्था विल्कुलै थिएन। तैपनि, उनीहरू बिरामीको उपचारका लागि भने सदैव जस्तै तम्तयार भएरै बसेका थिए। बिरामीले खचाखच भरिएको अस्पतालको पेटीमा सन्नाटा छाएको थियो। बिरामीले भरिएका बेञ्च खाली थिए।

पछिल्लो समय संक्रमितको संख्या घट्दै जाँदा अस्पतालमा बिरामीको संख्यामा कमी आउन थालेको विज्ञहरूले बताए।

लामो समयसम्म सरकारले निषेधाज्ञा गरेपछि सोमबार टेकु अस्पतालमा संक्रमितको संख्या कमी देखिएको छ।

अस्पतालमा महिना दिनअगाडि बिरामीको चाप थेगिनसक्नु थियो। बेड अभावका कारण बिरामी अस्पताल चहार्न बाध्य थिए।

अस्पताल चाहार्दा चहार्दै कैयौँले ज्यानसमेत गुमाए। विभिन्न अस्पतालमा बेड अभावको समस्या व्यापक रूपमा बाहिरिँदै गर्दा फेरि अर्को समस्या थपिएको थियो, अक्सिजन। विपदका बेला जसै पनि बिरामीको उपचार गर्नुपर्ने ठाउँमा विभिन्न अस्पतालले अनेक बहाना देखाउँदै बिरामी भर्ना बन्दसमेत गरे।

तर, टेकु अस्पतालले बिरामीको उपचारमा कुनै आनाकानी गरेन। अस्पताल पुगेका बिरामीलाई अनेक बहाना देखाउँदै घर फर्काएन।

अस्पताल पुग्नेजति सबै बिरामीलाई प्रांगणमै राखेर भए पनि उपचार गरेको थियो। अस्पताललाई बिरामीको भीड सम्हाल्न गाह्रो भइरहेको थियो।

चिकित्सक उनीहरूको रेखदेखमा निरन्तर खटिरहेका थिए। चिकित्सकलाई छिनभर पनि विश्राम लिने फुर्सद थिएन। किनभने मिनेट–मिनेटको फरकमा एम्बुलेन्स अस्पतालको आकस्मिक कक्ष अगाडि आइपुग्थे। र, बिरामीको अवस्थाअनुसार चिकित्सकहरू उपचार सुरु गर्थे। तर, अहिले त्यो चाप कम भएको टेकु अस्पतालमा सोमबारमात्र निर्देशक नियुक्त भएका डा. अनुप बास्तोलाले बताए।

उनले भने, ‘साँच्चै अहिले संक्रमण दर घटेको हो। अस्पताल पुग्ने बिरामीको संख्यामा कमी हुँदै आएको छ। संक्रमण दर कम भयो भन्दैमा जोखिम पनि कम भयो भन्न मिल्दैन।’

डा. बास्तोलाका अनुसार मंगलबारबाट सरकारले खुकुलो गराएको निषेधाज्ञाका कारण घट्दै गरेको संक्रमण दर दुई–तीन हप्तामा बढेर जाने सम्भावना देखिन्छ।

संक्रमण फैलिनुको मुख्य समस्या भनेकै जनस्वास्थ्यका मापदण्ड पालना नगरिनु भएको उनी बताउँछन्। ‘लामो निषेधाज्ञा भएपछि संक्रमण दर घट्दै गएको छ। भोलिबाट खुकुलो गरिएको छ। मानिसहरू जथाभावी बाहिर निस्कने भीडभाड गर्ने र जनस्वास्थ्यका मापदण्डको सही तरिकाले प्रयोग नगर्ने हुन सक्छन्। भीड भएको ठाउँमा जाँदा कतिले मास्क नलगाउन सक्छन्। कतिले दूरी कायम गर्दैनन्। अनि संक्रमणको जोखिम उच्च रहिरहन्छ’, डा. बास्तोलाले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै अबको दुई–तीन हप्तापछि फेरि संक्रमण दर बढ्न सक्छ। त्यसैले जोखिमबाट बच्न हामीले अनिवार्य मास्क लगाउने, दूरी कायम गर्ने र हातको सरसफाइमा ध्यान पुर्‍याउने गर्नुपर्छ।’

संक्रमणको दोस्रो चरणको सुरुवाती दिनमा अस्पतालले भयावह अवस्था खेप्नुपर्‍यो। अस्पतालको हरेक खालि कुना काप्चा बिरामीका लागि उपचार स्थान बनेका थिए।

अहिले ती सबै ठाउँ खालि भइसकेको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिए। उनले भने, ‘अहिले अस्पतालमा बिरामीको चाप धेरै कम भइसकेको छ। अहिले जम्मा ६२ बिरामीको उपचार भइरहेको छ। यो संख्या भनेको हाम्रा लागि धेरै कम हो।’

गौतमका अनुसार अस्पतालको आइसीयूमा १९ जना, क्याबिनमा ५ जना, जनरल वार्डमा २९ जना, इमरजेन्सीमा ९ जना गरी ६२ जना बिरामीको उपचार भइरहेको छ। ‘बिरामीको संख्यामा कमी आएपछि अहिले हामीले इमरजेन्सीलाई वार्डको रूपमा सञ्चालन गरेका छौँ’, गौतमले थपे।

पछिल्लो समय संक्रमण दर घट्दै जाँदा ओपिडीमा पोस्ट कोभिडका बिरामीको संख्या बढ्न थालेको उनले बताए।

‘पोस्ट कोभिड ओपिडीमा चलिरहेको छ। ओपिडीमा पोस्ट कोभिड क्लिनिक चलाइरहेका छौँ। त्यहीँ डाक्टर साहेबहरूले बिरामीको डाइग्नोसिस गरिरहनुभएको छ। कोभिड डेडिकेटेड अस्पताल भएका कारण अझै हामीले नन–कोभिडलाई भर्ना भने लिएका छैनौँ’, गौतमले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि धेरैलाई अस्पताल पुग्न सहज भयो। त्यही कारणले हुन सक्छ अस्पतालमा आउनेको संख्या भने अलि बढेजस्तो देखिएको छ।’

अस्पतालमा बिरामीको चाप घट्दै गए पनि पूर्णरूपमा खोप नलगाएसम्म संक्रमणको जोखिम उत्तिकै रहने डा. बास्तोलाले बताए।

उनले भने, ‘हामीले पूर्णरूपमा खोप पाइसकेका छैनौँ। सबैले खोप पाउन समय लाग्न सक्छ। अहिले कतिले खोप लगाए र यसको जोखिममा कति छन् भनेर रिसर्च गर्न आवश्यक छ। जुन हामीले सुरु गरेका छौँ।’ संक्रमण रोक्ने एक मात्र उपाय भनेको खोप मात्र हो।

असार १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्