चर्चित कमेन्टेटर तथा कलाकार मन्दिरा बेदीका श्रीमानको मृत्यु

भारतकी चर्चित कलाकार तथा कमेन्टेटर मन्दिरा बेदीका श्रीमान् राज कुशालको निधन भएको छ। चलचित्र निर्माता समेत रहेका कुशालको ४९ वर्षको उमेरमा ‘कार्डियाक अरेस्ट’ का कारण निधन भएको हो।

बुधबार बिहान ४ ३० बजे उनको निधन भएको कलाकार रोहित रोएले जनाएका छन्। उनका अनुसार परिवारले अस्पताल लाने अथवा कुनै उपचारको प्रयास गर्नु अगाडि नै उनको निधन भईसकेको थियो। उनको घरमा नै निधन भएको हो। मन्दिरा र राजको २ सन्तान वीर र तारा रहेका छन्।

उनको निधनपछि बलिउडका कलाकारहरुले श्रद्धाञ्जलि प्रकट गरेका छन्। उनको आज नै अन्त्येष्टि भएको छ।

राज बलिउडमा ३ चलचित्रका निर्माता, निर्देशक र कथा लेखक भनेर चिनिन्छन्। उनले ‘प्यार मे कभि कभि, शादिका लड्डु र एन्थ्रोनि क्यू हे !’ बनाएका छन्। उनले विज्ञापन लेखनबाट आफ्नो करियर शुरु गरेका थिए।

सन् १९९८ मा उनले आफ्नै विज्ञापन गृह स्थापना गरेका थिए, उक्त कम्पनीमार्फत ८०० भन्दा धेरै विज्ञापनहरु उनले निर्देशन गरेका छन्। मन्दिरा र राजले सन् १९९९ मा विवाह गरेका हुन्। उनको पहिलो सन्तान वीर सन् २०११ मा जन्मिएका थिए भने यो जोडिले गएको वर्ष ४ वर्षकी छोरी तारालाई धर्मपुत्री बनाएका थिए।

असार १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्