प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा निवेदकबाट सकियो बहस

जनकपुरधाम – प्रदेश २ सरकारविरुद्ध परेको रिटमाथि उच्च अदालत जनकपुरमा बहस सुरु भएको छ।

बुधबार रिट दायर गरेका निवेदकको तर्फबाट बहस सकेको छ भने बिहीबार विपक्षीको तर्फबाट बहस सुरु हुनेछ।

अधिवक्ता राजकुमार महासेठले प्रदेश २ को सरकार समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेको भन्दै उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

अदालतमा दर्ता भएको रिटमा बुधबारदेखि बहस सुरु भएकामा निवेदकको तर्फबाट बहस सकिएको छ। मुख्य न्यायाधीश विनोद शर्मा र हरिप्रसाद बगालेको संयुक्त इजलासमा भएको बहसमा निवेदकतर्फ जम्मा ४ घण्टासम्म बहसको समय तोकिएको थियो।

सो क्रममा निवेदकको तर्फबाट अधिवक्ता राजकुमार महासेठ, वरिष्ठ अधिवक्ता विनोदकुमार शर्मा, बार एसोसिएसन जनकपुरधामका अध्यक्षसमेत रहेका अधिवक्ता किशोरी साह, अधिवक्ता देवेन्द्रकुमार निराला, चन्द्रकुमार शर्मा मैनाली, दीपकबहादुर केसी, मुकेशकुमार कार्की र रामविलाश यादवले बहस गरेका थिए।

अब बिहीबार साढे ११ बजेदेखि पुनः विपक्षीको तर्फबाट बहस हुनेछ।

अधिवक्ता महासेठले उच्च अदालत जनकपुरमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशलगायत अन्य आवश्यक र उपयुक्त आदेश जारी गरी पाउन माग गरेपछि निवेदकको तर्फबाट बहस भएको हो।

असार १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्