आसन्न महाधिवेशनबारे कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग अन्तर्वार्ता

‘अब शेरबहादुर, रामचन्द्र, सिटौलाहरु नलड्दिए हुन्थ्यो’

विमलेन्द्र निधि।फाइल तस्बिर।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कसैलाई छोड्नका लागि र कुनै स्वार्थ समूहसँगको सौदाबाजीका लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पारेका छन्। उपसभापति निधिले आफ्नो उम्मेदवारी कसैलाई छोड्नका लागि नभएको बताए।

पार्टीको १४ औ महाधिवेशन नजिकिँदै गर्दा सभापति उम्मेदवारमा सहमति जुटाउन छलफल र परामर्शलाई तीव्रता दिएका निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षणका लागि र पार्टीभित्रको गुटउपगुटको अन्त्यका लागि आफुले पार्टीको नेतृत्व लिन चाहेको बताए।

उनले पार्टीले गर्न बाँकी रहेका कामहरुलाई आफ्नो अगुवाइमा सम्पन्न गर्ने गरी १३ औ महाधिवेशनका पदाधिकारीले सहयोग गरुन् भन्ने आफ्नो चाहना रहेको उपसभापति निधिले बताए।

उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको रुख छापलाई जिताउनु नै आफ्नो प्रमुख उद्देश्य र कर्तव्य रहेको स्पष्ट पारे।

नेपाली कांग्रेस वैचारिक र सांगठनिक रुपमा प्रष्ट र सक्षम हुँदै एकढिक्का भएर नेपाली जनतामाझ जान आवश्यक भएको भन्दै उनले त्यसपछि वर्तमान अवस्थामा देखिएका विविध क्षेत्रका विकृति हटाएर जनताको अपेक्षा अनुरुपको शासन सत्ता सञ्चालनको वातावरण बनाउन आवश्यक रहेको र त्यसको नेतृत्व गर्न आफूले चाहेको बताए।

उनले भने, ‘जनताले जिताएर जसलाई पठाइदियो प्रयोगशालाबाट देखि सकियो उनीहरुले त्यो जिम्मेवारी पुरा गर्न सकेन। अब त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो। त्यसकारण नेपाली कांग्रेसले १४ औ महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बद्र्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यासञ्चालन गर्नु आवश्यकता छ। त्यो आवश्यकता पुरा गर्नका लागि म नेपाली कांग्रेसको सभापति को उम्मेवारको रुपमा प्रस्तुत गरेको छु। त्यसकारण छोड्नका लागि कोही अरुसँग सम्झौता गर्नका लागि वा तपाईले भनेजस्तो स्वार्थ समूह केही पनि होइन।’

उनले सत्तापक्ष र सरकारको वर्तमान शासन सञ्चालन प्रणाली र संविधानप्रति पनि इमान्दार नरहेको भन्दै उहाँले प्रणालीको रक्षा र प्रर्बद्धनका लागि कांग्रेस ससक्त भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए।

महाधिवेशन केन्द्रीत गतिविधि कसरी अघि बढेका छन्?
नेपाली कांग्रेसको महाधिवेशन धेरै पहिले हुनुपर्ने  हो। ढिलो भएपनि भदौ १६,१७ र १८ गतेका लागि तोकेका छौँ। महाधिवेशन हामीले गर्नैपर्ने हुन्छ। कोरोनाले गर्दा धेरै अवरोध आइरहेको छ। जिल्ला जिल्लामा जानुपर्ने धेरै सार्थीहरुसँग भेट गर्न सकिरहेको छैन। कोरोनाको कारणले मैले गर्न सकिरहेको छैन। धेरै साथीहरुले गर्न सकिरहनुभएको छैन। त्यसको बाबजुद मैले टेलिफोन गरेर ७७ वटै जिल्ला सभापतिहरु, १ सय ६५ संसदीय निर्वाचन क्षेत्र सभापति, पुरानो २ सय ४० जना महाधिवेशन प्रतिनिधिहरुलाई तथा संगठनका नेताहरु सबैसँग मैले फोनबाट म उम्मेदवारी दिन चाहन्छु, तपाईँहरुको सहयोग चाहिन्छ भनेको छु। त्यो भन्दा अगाडि पार्टी सभापति शेरबहादुर देउवाज्युलाई नै भनेको थिएँ। रामचन्द्र पौडेलजी, सिटौलाजी, प्रकाशमानजी, शशांकजी लगायत सबैलाई र केन्द्रीय समितिको साथीहरुलाई मैले सरसल्लाह गरेकै हुँ। प्राय सबैले मेरो उम्मेदवारीलाई सकारात्मक दृष्टिकोणले लिनुभएको थियो। छ पनि।

केही दिन अघि भएको तीन जना शिर्ष नेताको भेटबारे चासो बढेको छ। तपाईको निवासमा भएको भेटपछि त विमलेन्द्र निधिले अर्को एउटा समुह खडा गर्नुभयो भन्ने पनि छ। तीन जनाको भेट आफैँमा सामुहिक सौदाबाजीमा लागेको हो कि ? अर्को एउटा स्वार्थ समूहका लागि हो कि ?  पार्टी भित्र अर्को एउटा गुट जन्मँदै छ कि भन्ने पनि आशंका बढेको छ। यसलाई कसरी प्रष्ट पार्नुहुन्छ ?

नेपालको राजनीतिमा विश्लेषण मात्रै होइन अति विश्लेषण गर्ने बानी छ। फेसन पनि छ। स्वार्थ समूह पनि होइन। अर्को नयाँ गुट पनि होइन। केही पनि होइन। म पनि नेपाली कांग्रेसको दलीय राजनीतिमा, संगठनात्मक राजनीतिमा आजदेखि छैन। त्यो भन्दा पहिला म विद्यार्थी संगठनमा थिएँ। लोकतान्त्रिक आन्दोलनको प्रक्रियामा (दरबारमा) हामी जेल गएका थियौँ। म पनि जेल गएको थिएँ। त्यसकारणले मैले नेपाली कांग्रेसको नेतृत्वको लागि जब आफूलाई प्रस्तुत गर्दछु, त्यसमा स्वभाविक हुन्छ शेरबहादुर जी, रामचन्द्र जी, सिटौलाजीसँग पनि भेट्ने। प्रकाशमानजी, शशांकजीसँग पनि भेट्ने।  प्रकाशमानजी पनि आजै राजनीतिमा लाग्नुभएको होइन। प्रकाशमानजी त  पूर्व उपसभापति, पूर्वमहामन्त्री भइसकेको मान्छे हो। यो भन्दा पहिला पनि भेटघाट गरेकै हो। शशांकजी राजनीतिमा ढिलो आएपनि उहाँ त निर्वाचित महामन्त्री हो नि। नवलपरासीबाट त तीनपटक निर्वाचित सांसद हुनुहुन्छ। त्यसकारण म आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहँदा म पहिलो कोशिश गर्छु सर्वसम्मति बन्नका लागि। सबैको तर्फबाट र्निविरोध सभापति बन्नु भन्ने चाहना हुनु स्वभाविक हो नि त। त्यसको लागि म घरमै बसेर हुन्छ र ? मैले सबैसँग भेट्नु पर्छ। मैले प्रकाशमानजी र शशांकजीसँगमात्रै भेटेको भए एउटा कुरा हो। शेरबहादुरजीसँग भेटेको छु। रामचन्द्रजीसँग भेटेको छु। सिटौलाजीसँग भेटेको छु। प्रकाशमानजी र शशांकजीसँग पनि भेट्दा लञ्च मिटिङ चाहिँ भयो। पहिले पहिले डिनर मिटिङ हुन्थ्यो। अहिले पनि भएका छन्।

तपाईँहरुको ध्यान त्यतापट्टि गएन। अहिले प्रकाशमानजी, शशांकजी र म राजनीतिमा पदाधिकारी भईसकेका हौं। नयाँ प्रवेश गरेको होइन। नयाँ आएको होइन। हामी हैसियतमा छौँ। हैसियत भन्नाले एउटा भूमिकामा जिम्मेवारीमा छौँ। हामी जिम्मेवारीमा भएकाले सामूहिक रुपमा भूमिका निर्वाह गर्न सक्छौ कि र सामूहिक रुपमा नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको सन्दर्भमा युनाइटेड रुपमा प्रस्तुत गर्न सकिन्छ कि ? त्यो प्रयास गर्नु त हाम्रो कर्तव्य पनि त हो नि त। त्यसै अर्थमा लिनुपर्दछ। यो कुनै नयाँ गुट निर्माण गर्नको लागि पनि होइन, बरु गुटहरुको राजनीतिलाई भत्काउनका लागि सबैलाई समेटेर हामी हिँड्नुपर्छ है भन्नका लागि हो। त्यस अर्थमा लिनुपर्छ।

सभापतिको उम्मेदवार भएपछि प्रकाशमानजीको घरमा नै गएँ। दुई पटक भेटेँ। म सभापतिको उम्मेदवार हुन्छु, तपाईँको सहयोग चाहियो। भन्नुपर्‍यो नि त, एक्लै आफैँले त जितिँदैन नि त।  त्यस्तै शशांकजीको घरमा पनि गएँ। अरु नेताको घरमा पनि गएँ। उहाँहरु पनि उम्मेदवार भनेर आफूले प्रस्तुत गर्नुभएको छ। त्यसकारण उम्मेदवारहरुबीचमा छलफल हुनु त सामान्य कुरा हो नि। नेपाली कांग्रेस र देशको राजनीतिको बारेमा साझा धारणा बनाउन सकियोस् भनेर हामीले केन्द्रीय समितिका अन्य सदस्यहरुसँग पनि छलफल गर्दैछौँ।

कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया जहिले पनि जटिल हुन्छ। हिजो पनि थियो आज पनि। कुनै न कुनै परिबन्धमा नेतृत्वमा आउनका लागि युवापंक्तिलाई रोकिने गरिन्छ। के यो महाधिवेशनले यस परिबन्धलाई तोडेर नेतृत्व हस्तान्तरण गर्न सक्छ?
म तपाईँको प्रश्नको आसय र सिद्धान्तसँग सहमत छैन। नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणमा जहिले पनि जटिल छ भन्ने होइन। नेपाली कांग्रेस पार्टी नै यस्तो पार्टी हो, डेमोक्रेसीमा के भनिन्छ भने नि स्मुथ ट्रान्सफर अफ लिडरसिप भनेको देखिन्छ। नेपाली कांग्रेसमा स्मुथ ट्रान्सफर अफ लिडरसिप देखिन्छ। यो डेमोक्रेसिको ब्युटी हो। यो निर्वाचन प्रणालीबाट भइरहेको छ। बिपी कोइरालाले समयमा पनि निर्वाचन हुन्थ्यो। त्यसपछि त डेमोक्रेसी नै रहेन, जब डेमोक्रेसी रिस्टोर भयो नेपालमा, त्यसपछि गिरिजाप्रसाद कोइरालाजीले चुनाव लड्नुभयो र जित्नुभयो। सुशील पनि चुनाव लड्नुभयो, जित्नुभयो। शेरबहादुर चुनाव लड्नुभयो, जित्नुभयो। नेतृत्व प्रणालीबाट नेतृत्वको हस्तान्तरण गर्ने पार्टी यदि नेपालमा कोही छ भने त्यो नेपाली कांग्रेस पार्टी हो। नेपालमा मात्रै होइन भारतमा पनि देख्दिनँ म। त्यसकारण नेपाली कांग्रेसमा जहिले पनि नेतृत्व हस्तान्तरण प्रक्रिया जटिल हुन्छ भन्नेमा म सहमत छैन। नेपाली कांग्रेसको केन्द्रीय सभापति वा पदाधिकारीहरुको निर्वाचन ४/५ हजार महाधिवेशन प्रतिनिधिले गर्दछन्। त्यो प्रतिनिधिहरु टीका लगाएर आएको होइन। निर्वाचन प्रणालीबाट तल्लो निकायबाट वडाबाट, वडाबाट पालिकामा, पालिकाबाट क्षेत्र र क्षेत्रबाट केन्द्रमा आउँछ। यसमा कसैले कसैलाई रोक्न सक्दैन। जसले मतदाताको भोट पाउँछ, त्यो निर्वाचित हुन्छ। यो अन्तत: महाधिवेशन प्रतिनिधिहरुमाथि निर्भर रहन्छ। महाधिवेशन प्रतिनिधिहरुलाई कसरी प्रभावित गर्ने, आफ्नो पक्षमा कसरी पार्ने भन्ने कुरा उम्मेदवारमा भर पर्छ। कसैले कसैलाई नलड भन्दैन नि त।  कसैले जानी जानी फलानोको समर्थन पाईन भने म जित्न सक्दिनँ भनेर सोचेर आफै उम्मेदवार नहुनु एउटा कुरा हो। तर उम्मेदवार हुनका लागि कसैले कसैलाई रोक्दैन नेपाली कांंग्रेसमा। रोकेको पनि छैन। रोक्दैन पनि।

शेरबहादुर देउवा, रामचन्द्रजी १३ औँ महाधिवेशनका उम्मेदवार हुन्। उनले जति काम गर्नुपर्ने थियो। उहाँहरुले जति काम गर्नुपर्ने थियो देशको लागि पार्टीको लागि, गरिसक्नुभएको छ। उहाँहरुले अरु पनि काम गर्न बाँकी छ। फरक भूमिकामा उहाँहरुको सक्रियता हामीले अपेक्षा गरेका छौँ।

मैले प्रक्रिया भन्दा पनि विधिको कुरा सोधेको थिएँ। वर्तमान सभापति हिजो गिरिजाप्रसाद कोइरालासँग लडेको, सुशील कोइरालासँग पनि लड्नुभयो। अहिले आफै पनि चासो देखाउँदै हुनुहुन्छ। मैले यसअर्थमा जटिल भो कि भनेको।
निर्वाचन प्रणाली संसारमा लोकतन्त्रका लागि सबै भन्दा उत्तम उपकरण हो। निर्वाचन प्रणालीको पनि अवगुणहरु छन्। तर बेष्ट मोडलहरु मध्ये सबै भन्दा वेष्ट मोडल भनेको निर्वाचन प्रणाली नै हो। हम्रा राजनीतिक शास्त्रीहरुले पठाउनुभएको पनि त्यही हो र लेख्नुभएको पनि त्यही हो। नेपाली कांग्रेसको निर्वाचनको सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवाजीले लड्छु भनिसकेपछि नलड्नुस् भनेर अनुरोध गर्नु एउटा कुरा हो। अधिकार त हो नि उहाँले। हामीले के भन्छौँ भनेदेखि शेरबहादुरजी, रामचन्द्रजी, सिटौलाजी नलड्दिए हुन्थ्यो। १३ औ महाधिवेशनका कोही पनि नलड्दिए हुन्थ्यो भन्ने लागेको छ । लागेर मात्रै त भएन नि त। लड्छु भनेपछि नलड्नु है भन्न त मिल्दैन। त्यसकारण राजनीति नै जटिल हुन्छ। राजनीतिक चीज नै, क्षेत्र नै जटिल चीज हो। निर्वाचन प्रणाली पनि जटिल हो। निर्वाचन प्रणालीलाई सम्पन्न गर्न, सम्पादन गर्न जुन स्वभाविक जटिलताहरु छन्, त्यो जटिलताहरु त हामीले व्यहोर्नुपर्छ।

लामो समय पार्टी सभापति देउवाको विश्वास पात्रको रुपमा भरोसा पनि दिनुभयो। उहाँलाई नै प्रतिष्पर्धीको रुपमा देख्दा भेट्दा अलिकति असहज त हुन्छ होला। यस्तो अवस्था आउँदा  विमलेन्द्र निधिले शेरबहादुर देउवालाई छोड्छन् भन्ने पनि छ नि।
महत्वपुर्ण निर्णय मैले हचुवा र हतारमा लिन्न। मैले सभापतिमा लड्छु भनेको छोड्का लागि होइन। मैले सभापतिमा उम्मेदवारी दिएको मूल उद्देश्य के हो भने शेरबहादुर देउवा, रामचन्द्रजी १३ औँ महाधिवेशनका उम्मेदवार हुन्। उनले जति काम गर्नुपर्ने थियो। उहाँहरुले जति काम गर्नुपर्ने थियो देशको लागि पार्टीको लागि, गरिसक्नुभएको छ। उहाँहरुले अरु पनि काम गर्न बाँकी छ। फरक भूमिकामा उहाँहरुको सक्रियता हामीले अपेक्षा गरेका छौँ। पार्टीको कार्यकारणीको रुपमा उहाँहरुले गर्न बाँकी रहेका कामहरु मेरो अगुवाइमा होस् भन्ने चाहना हो। मेरो चाहाना के हो भने ढिलोचाडो मुलुकमा जे जे हुन्छ, आमचुनाव, प्रतिनिधिसभाको निर्वाचन प्रदेशसभाको निर्वाचन, स्थानीय तहको निर्वाचन। प्रमुख रुपमा प्रतिनिधिसभाको निर्वाचन हो। प्रतिनिधिसभाको निर्वाचन जहिले हुन्छ त्यसमा नेपाली कांग्रेसको रुख छापलाई चिताउनु आवश्यक छ। नेपाली काग्रेसको सदस्यको हैसियतले मेरो कर्तव्य त्यो हो। मैले पहिले भन्दा बढी जिम्मेबार भएर नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनु पर्दछ।

जनता र मतदाताको बीचमा नेपाली कांग्रेसलाई यसरी तयार गरौँ, आम मतदातालाई लागोस् नेपाली कांग्रेस एक भएर आएको छ। नेपाली कांग्रेस ताजा भएको आएको छ। नेपाली कांग्रेस सक्षम भएर आएको छ। नेपाली कांग्रेस बैचारिक रुपमा पनि प्रष्ट भएर आएको छ, सांगठनिक रुपमा पनि प्रस्ट भएर आएको छ र नेपाली कांग्रेसले यो देशमा अहिले भाँडभैलो भईरहेको छ सबै क्षेत्रमा–राजनीतिक क्षेत्र, व्यवसायिक क्षेत्र, सामाजिकक्षेत्र , अन्तराष्ट्रिय सम्बन्धको क्षेत्र, उद्योग व्यवसायको क्षेत्रमा।

नेपालमा धेरैको बलिदान भएर दुईवटा संविधानसभाको निर्वाचन मार्फत देशमा राज्यको पुर्नसंरचना गरेका छौँ। रुपान्तरण गरेका छौ। संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, धर्मनिरपेक्षता, यी सब निर्वाचन प्रणाली यो अहिलेको हामीले ल्याएको नयाँ प्रणालीको प्रमुख तत्वहरुको रुपमा रहेछ। हामीले संविधान जारी गर्‍यौँ। गएको तीन वर्षदेखि के देख्दै छौँ भने सत्तापक्ष र सरकारको प्रणालीप्रति पनि इमान्दारी छैन। संविधानप्रति पनि इमान्दारी छैन।

हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको रक्षा र सफल कार्यान्वयन गर्नु अहिले कुनै पनि राजनीतिक दलको जिम्मेवारी हो। अरु राजनीतिक दलले त्यो जिम्मेवारी निर्वाह गर्न सकेन । जनताले जिताएर जसलाई पठाइदियो प्रयोगशालाबाट देखि सकियो उनीहरुले त्यो जिम्मेवारी पूरा गर्न सकेनन्। अब त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो । त्यसकारण नेपाली कांग्रेसले १४ औ महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बर्द्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यासञ्चालन गर्नु आवश्यकता छ। त्यो आवश्यकता पूरा गर्नका लागि म नेपाली कांग्रेसको सभापतिको उम्मेवारको रुपमा प्रस्तुत गरेको छु। त्यसकारण छोड्नका लागि कोही अरुसँग सम्झौता गर्नका लागि वा तपाईँले भनेजस्तो स्वार्थ समुह केही पनि होइन। मेरो एक मात्रै उद्देश्य त्यही हो। त्यसैका लागि मात्रै हो मेरो उम्मेदवारी।

हामीले सभापतिमा निधिको औपचारिक उम्मेदवारी त्यसमा पनि समूहगत उम्मेदवारीको जानकारी कहिले पाउँछौ?
पहिला हामी सबै महाधिवेशन प्रतिनिधि भएर आउनुपर्यो औपचारिक रुपमा। कांग्रेसको उम्मेदवार र मतदाता बन्नका लागि महाधिवेशन प्रतिनिधि बन्नै पर्छ। महाधिवेशन प्रतिनिधि चयन भइसकेपछि मात्रै टिम बनाउने हो। मेरो टीमको उपसभापति, महामन्त्री को हुने भन्ने अनौपचारिक छलफल मैले पनि गरिरहेको छु। बाहिर ल्याएको छैन। ल्याउनु जरुरी पनि छैन। उपयुक्त समय आएपछि ल्याउँछु।

मुलुकको शासकिय प्रणाली अनुरुप पार्टीको विधान पनि भर्खरै परिर्वतन भएको छ। संघीय स्वरुप र समावेशीताको हिसाबले महिला जनजाति, दलित लगायतको सहभागिताको सन्दर्भमा अरु भन्दा भिन्न के छ?
हाम्रो नेपालको समाज विविधताले भरिएको समाज हो। विविधताको पहिचान गर्ने हो भने अहिले थरिथरिको विविधता छ। जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधताहरु छन्। विविधताहरुलाई पहिचान गरेर स्वीकार गर्नुपर्छ। नेपालको लागि कुनै पनि विकासको योजनाहरु बनाउने क्रममा यसलाई ध्यानमा राख्नुपर्छ। यसलाई समस्या हो भनेर नकारात्मक भावना राखेर सोच्ने हो भने फेरि पनि अग्रगामी दिशामा जान सकिदैन । विविधता चाहिँ हाम्रो लागि सम्पत्ति हो। पूँजी हो। यो बरदान हो। यी विविधताहरुलाई हामीले शान्तिपूर्ण सम्मृद्धिको लागि, विकासको लागि प्रयोग गर्न सक्छौ । त्यसको लागि हामीले राज्यको संरचना कसरी निर्माण गर्न सक्दछौँ। ती सबै कुरालाई सोचेर गर्नुपर्छ। सबै विविधताले शासन प्रणालीमा हाम्रो प्रतिनिधित्व छ भनेर अनूभुत गर्नुपर्दछ। हामी पनि छौँ। हाम्रो पनि ठाउँ छ। उसले शासन प्रणालीमा आफ्नो प्रतिनिधित्व देख्यो भने अनि न अपनत्व हुन्छ । त्यसकारणले म राज्यको निर्माण गर्दा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत सबै ठाउँमा विविधताहरुको प्रतिनिधित्व हुनुपर्‍यो। सबै विविधताको पहिचान, प्रतिनिधित्व र स्वामित्वको बोध गराउनुपर्छ । त्यो प्रणालीलाई व्यवस्थित गर्नका लागि जारी भएको संविधान । यो संविधान पनि हाम्रो हो है भनेर सबै विविधताले महसुस गर्दछ । यो सिद्धान्त र पद्धतिमाथि आधारित भएर हामीले समावेशीताको कुराहरु गरेका छौ ।

असार १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्