संसद विघटन सम्बन्धी मामिला अहिले सर्वाेच्च न्यायालयमा विचाराधीन छ। सुनुवाइको अन्तिम चरणमा रहेको उक्त मुद्दामा सम्भवत: अर्काे सातासम्म फैसला आउने छ। राजनीतिक मुद्दाको छिनोफानो सर्वस्वीकार्य ढंगले आउला या नआउला र यो फैसलाले भावी राजनीतिक किचलो समाधानमा मद्दत पुर्‍याउला या नपुर्‍याउला त्यो भविष्यले देखाउने छ।

राजनीतिक समस्या पैदा गर्ने, त्यसको समाधान आफै गर्न नसक्ने अनि न्यायालयको काँधमा त्यसलाई हालिदिने प्रवृत्ति प्रजातन्त्र र राजनीति दुवैका लागि स्वस्थकर हैनन्। बरु घातक हुन्।

अहिले सर्वाेच्चमा बहसका क्रममा एउटा विषयलाई दुवै पक्षले उठाइरहेका छन्। के यो संविधानले निर्दलीयताको परिकल्पना गरेको छ? के कुनै दलका सदस्यहरु पार्टी ह्वीप नमानी अर्काे दलका प्रधानमन्त्रीय उम्मेदवारलाई समर्थन गर्न स्वतन्त्र छन्? यो प्रश्न खास गरी संसदलाई दोस्रो पटक विघटन गरी त्यसलाई राजनीतिक वृत्त र न्यायालयमा बचाउ गर्दै आएका ओली पक्षले उठाउँदै आएका छन्।

दल, त्यसको नेतृत्व र कार्यक्रमप्रतिको निष्ठा र दासत्वमा मौलिक अन्तर हुन्छ। त्यसैले नेपालले अनुसरण गरेको दलीय व्यवस्थामा, खासगरी संसदभित्र कारबाहीमा ह्वीपको व्यवस्था भए पनि कानुनभन्दा माथिको दायित्व अथवा अन्तरात्मा र विवेकबाट निर्देशित भई दलीय दासत्वलाई अवज्ञा गर्ने अधिकार कुनै पनि सदस्यसँग हुन्छ।

बहुलवाद र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको अभ्यासमा राजनीतिक दलहरु व्यवस्था रुपी गाडीका इन्जिन मानिन्छन्। र, दलहरु कुनै निश्चित रुपमा परिभाषित सिद्धान्त, मान्यता र आदर्शबाट निर्देशित हुन्छन्। र, दलका उच्चतम तहदेखि सामान्य सदस्यहरुले समेत ती नीति सिद्धान्त तथा तदनुरुपको आचरण प्रस्तुत गर्ने अपेक्षा गरिन्छ। यी सिद्धान्त र नीतिका आचरणमा नेतृत्व स्वेच्छाचारी बन्ने र सर्वेसर्वा हैसियतबाट उसले गरेका कुनै पनि निर्णयलाई दलका सांसद र कार्यकर्ताले अन्धरुपमा स्वीकार्छन् भन्ने सोच खोटपूर्ण हो।

दल, त्यसको नेतृत्व र कार्यक्रमप्रतिको निष्ठा र दासत्वमा मौलिक अन्तर हुन्छ। त्यसैले नेपालले अनुसरण गरेको दलीय व्यवस्थामा, खासगरी संसदभित्र कारबाहीमा ह्वीपको व्यवस्था भए पनि कानुनभन्दा माथिको दायित्व अथवा अन्तरात्मा र विवेकबाट निर्देशित भई दलीय दासत्वलाई अवज्ञा गर्ने अधिकार कुनै पनि सदस्यसँग हुन्छ।

‘ह्वीप’ को व्यवस्था रहेकै कारण नेतृत्वले जे निर्णय गर्‍यो, त्यसलाई अवज्ञा गरेमा सदस्यता खोसिने आतंकको औजारको प्रयोग गर्ने अधिकार के साँच्चै नै अहिलेका नेताहरुबाट विवेकसम्मत तरिकाले प्रयोग हुने अपेक्षा गर्न सकिने अवस्था छ त?

तर, सबै तत्कालिक राजनीतिक स्वार्थ र पदीय लाभका लागि गरिने अवज्ञालाई नैतिक अस्त्र या अन्तरात्माको आवाज भन्न सकिन्न। ‘ह्वीप’ अवज्ञा गर्ने सांसदहरुले सार्वजनिक रुपमा उनीहरुले सत्ताका लागि त्यसो गरेका हैनन् र कमसेकम संसद व्यूँतिएको खण्डमा त्यसको अवधिभर मन्त्री या कुनै राजनीतिक ओहोदा नलिने अभिव्यक्ति दिएमा त्यसले राजनीतिमा केही नैतिकताको अंश प्रवाहित गर्ने छ।

राजनीति र ‘ह्वीप’को व्यवस्थालाई नैतिकता र अन्तरात्माको निरपेक्ष मान्न मिल्दैन। अन्तरात्मा र विवेक ‘दलीय’ या ‘निर्दलीय’ अवधारणा भन्दा धेरै शक्तिशाली अस्त्र हुने गर्छन् राजनीतिमा।

असार १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्