पोर्चुगलका खेतमा नेपालीः एकातिर सपना अर्कातिर कोभिड

पोर्चुगलको मध्यवर्ती भेगमा पर्ने तोरेस भेद्रास सहर नजिकै रञ्जन दाहाल (तस्बिर) ले यसरी ब्रोकाउली टिप्न थालेको तीन दिन भयो। ‘तीन दिनयता मेरो भुइँमा सुत्नुपर्ने अवस्था फेरिएको छ,’ उनी भन्छन्, ‘मैले ओछ्यान पाएको छु।’

एक वर्षअघि पोर्चुगल आइपुगेका रञ्जन यसअघि मुलुकको दक्षिणवर्ती भेगमा बेरी (उन्नत जातको ऐंसेलु) टिप्ने काम गर्थे।

‘त्यहाँ १५ जनालाई एकै ठाउँमा कोचेर राखिएको थियो,’ उनी भन्छन्, ‘त्यसैगरी मजदुरीको पैसा दिन पनि असाध्यै किचकिच गर्थे।’ यहाँ भने भिटोर जोर्गको फार्ममा रञ्जनलगायत सात जना नेपाली कार्यरत छन्।

‘कृषि मजदुरीका निम्ति आउने अधिकांश नेपालीलाई पोर्चुगलभर गैरकानुनी हिसाबले काममा खटाइएको छ,’ भिटोर भन्छन्, ‘मकहाँ भने सातै जनाका निम्ति शतप्रतिशत नियम र कानुनको परिपालन गरेको छु।’

अर्थात् जोर्गका शब्दमा यहाँका नेपाली कामदार सरकारी रेकर्डमा छन् भने उनीहरूले राज्यले तोकेको न्यूनतम ज्यालादारी पनि पाइरहेकै छन्।

आफ्नो फार्मस्थित पुराना भवनलाई जीर्णोद्धार गरेका उनले कामदारलाई सित्तैमा त्यहाँ आवास सुविधा पनि उपलब्ध गराएका छन्।

यसरी प्रदान गरिएको आवास पनि पोर्चुगलको मापदण्डअनुसार सुविधाजनकचाहिँ देखिँदैन।

‘म के गरौं?’ जोर्ग भन्छन्, ‘एकातिर रोजगारी अड्डाले कृषि मजदुरी गर्नका लागि पोर्चुगाली नागरिकहरू उपलब्ध गराउन सक्दैन भने अर्कातिर आवाससम्बन्धी हाम्रा कानुन पनि यस्तो कृषि क्षेत्रका लागि उत्तिको व्यावहारिक छैनन्।’

अर्कातिर दक्षिणी भेगमा यस्तै काममा खटिएको अनुभव लिएर आएका रञ्जनका निम्ति तुलनात्मक रुपले यो सुविधा पर्याप्त छ। ‘उता त कोचेरै राखिएको थियो,’ उनी भन्छन्, ‘यो ठाउँ उताभन्दा धेरै ठीक छ।’

२९ वर्षे रञ्जन नेपालमा बेरोजगारी समस्याकै कारण यसरी विदेशिनुपरेको सुनाउँछन्। रञ्जनजस्ता आप्रवासी कामदारको संख्या यतिबेला पोर्चुगलभरि ३० हजारभन्दा बढी रहेको बताइन्छ।

यसरी मुख्यतः दक्षिण एसियाली तन्नेरीहरूलाई रोजगारी उपलब्ध गराइरहेको पोर्चुगलमा पछिल्लो समय भने परिस्थिति थप जटिल बनेको छ। र, त्यो जटिलता कोभिड १९ ले थपेको हो।

यो मुलुकले एकातिर युरोपका बजारमा बेरी र ताजा तरकारीको निर्यात बढाउँदै लगेको छ भने अर्कोतिर सस्तो दरमा उपलब्ध कृषि मजदुरको आवासलगायत सुविधामा गरिएको लापरवाहीले सामाजिक दूरी कायम हुन नसकेर कोभिड १९ को खतरा पनि बढ्दै गएको छ।

दक्षिण एसियाबाट आएका यिनै कृषि मजदुरको बाहुल्य रहेको ओडेमिरा क्षेत्रमा अप्रिल अन्त्यतिर कोभिड १९ को व्यापक विस्तार भएको पाइयो। त्यसरी महामारी फैलिएसँगै त्यस भेगमा लकडाउन पनि लगाउनु परेपछि त्यसको प्रभाव सामाजिकस्तरमा पनि पर्न सुरु भएको छ।

स्थानीय बासिन्दाले आप्रवासीबाट कोभिड १९ फैलिएको भन्दै उनीहरू बीचको आपसी सद्भावनामा पनि असर पर्न थालेको देखिन्छ। मुलुककै दक्षिण पश्चिमी अलेन्तेजो भेगमा पर्ने ग्रामीण नगरपालिका ओडेमिराअन्तर्गत छ साउ तेयोतोनियो बस्ती।

यो बस्तीको नाममा यहाँ पाँच शताब्दीसम्म शासन गर्ने मुसलमान शासकको देन छ। अरेबिक भाषामा साउ तेयोतोनियोको अर्थ हुन्छ ‘राजकुमारको नदी’। यो ठाउँ आन्ध्र महासागरको सुदूर भेगसँग जोडिएको छ।

यहाँका अधिकांश बासिन्दा धमाधम बुढ्यौलीतर्फ लम्कँदै छन् भने मुलुकभरि नै देखिएको प्रवृत्तिजस्तै यहाँका पनि साना आकारका कृषि कम क्रमशः लोपोन्मुख हुँदै गएका छन्।

तन्नेरी हुर्कन नपाउँदै सहर बजारमा पढ्न गइहाल्छन्। त्यसरी गएकामध्ये थोरै मात्र फर्किन्छन्। त्यसरी फर्केकाहरू पनि स्थानीय पर्यटन वा अन्य सेवा उद्योगमा संलग्न हुन बढी रुचि देखाउँछन्।

दक्षिण पश्चिमी अलेन्तेजोको हिस्सा रहेको यो स्थान पोर्चुगलकै एउटा महत्वपूर्ण प्राकृतिक सम्पदाका रुपमा रहेको ‘भिसेन्टिन कोस्ट नेचुरल पार्क’सँग पनि नजिक छ।

त्यसैले गर्दा यो ठाउँ जैविक विविधता र अनौठा प्राणीले भरिएको छ जहाँ संसारमै अन्त कतै नपाइने दर्जनौं जातिका जीव भेटिन्थ्यो। अर्कोतर्फ यस भेगमै औद्योगिक स्तरमा गरिने कृषि ‘ग्रिनहाउस फार्मिङ इण्डस्ट्री’को प्रभाव बढ्दै गएको छ।

मौसम तथा जलवायुका निम्ति अत्यन्तै अनुकूल मानिने अमेरिकाकै प्रसिद्ध राज्य क्यालिफोर्नियासँग यस स्थानको हावापानी समान रहेको बताइन्छ। यो विशेषताले गर्दा नै करिब १५ वर्षअघि यस ठाउँले बेरी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गरेको थियो। ‘भिसेन्टिन कोस्ट नेचुरल पार्क’ मातहतकै क्षेत्रमा सरकारले कृषिको निम्ति भनेर छुट्याएको फराकिलो जग्गा थियो। त्यसै जग्गामा उनीहरूले खेती थालेका थिए।

आज यस ओडेमिरा ग्रामीण नगरपालिकाभित्र ३६ सय हेक्टर ‘ग्रिनहाउस टनेल’हरू फैलिसकेका छन् जहाँ विभिन्न प्रजातिका ऐँसेलु, स्ट्राबेरी र सलाद खाने पातहरूको उत्पादन थुप्रै कम्पनीले गर्दै आइरहेका छन्। तीमध्ये कृषिमा आधारित अमेरिकाको ‘ड्रिस्कोल्स’ जस्ता कम्पनी पनि छन्। अनि ओडेमिरा भित्रै ९ हजार ६ सय जना आप्रवासी कामदार रहेको सरकारी रेकर्ड छ। रेकर्डमा नसमेटिएका कामदारको संख्या पनि उल्लेख्य छ।

पोर्चुगलले सन् २०१७ मा केवल १८ हजार टन बेरी उत्पादन गरेकामा लगत्तैको वर्ष अर्थात् सन् २०१८ मा त्यो मात्रा झण्डै २७ हजार टन पु¥याएको बाटै पनि यो उत्पादनमा यस मुलुकले कत्ति ठूलो फड्को मारिरहेको छ भन्ने प्रष्ट पार्छ।

अर्कातिर यो भेगमा विशेषतः दक्षिण एसियाली कामदारको प्रवेश पनि सन् २०१८ बाटै सुरु भएको देखिनुले उत्पादनको वृद्धिसँग यी कामदारको सम्बन्ध पनि स्पष्ट हुन्छ।
यी थरीथरीका बेरी यतिबेला पोर्चुगलका सुपरमार्केटमा टनाटन भरिएका देखिन्छन्। यद्यपि, यिनका मुख्य बजार भने बेलायत, जर्मनी, नेदरल्यान्ड, बेल्जियमलगायत युरोपेली मुलुक हुन्। यो सघन किसिमको खेती मलखाद र कीटनाशकमा असाध्यै निर्भर हुने गर्छ।

त्यसबाहेक यसका लागि पानी पनि पर्याप्त मात्रामा चाहिन्छ जसका निम्ति मिरा नदी र शान्ता क्लारा बाँधबाट प्राप्त हुने जललाई प्रवाहित गर्ने सिँचाइहरूले मनग्गे उपलब्ध गराउँदै आएको छ।

यसरी यो भेगमा प्रतिदिन बढ्दो औद्योगिक कृषिले गर्दा गत वर्ष यहाँको पर्यावरणीय क्षेत्रमा लागेका अभियन्ताको आँखीभौं खुम्च्याएको थियो। त्यतिखेर सरकारले ठूलो मात्रामा ‘पोलि टनेल’को अनुमति प्रदान गरिदिँदा प्राकृतिक निकुञ्जलाई प्रभावित पार्ने भन्दै उनीहरूले विरोध पनि प्रकट गरेका थिए।

अभियन्ताका एउटा समूह ‘जुन्तोस पेलो सुदोएस्ते’ले त सरकारलाई यस मामलामा अदालतसम्मै घिसारेको थियो।  यहाँका कृषक कम्पनीले सयौं स्थायी कर्मचारी भर्ना गरेकै छन्।

त्यसबाहेक पनि फल टिप्ने सिजनमा थप दुईदेखि तीन गुणा बढी कामदार भर्ना गरिन्छ। वसन्त याममा यस्ता कामदारको माग अत्यन्तै बढी हुनेगर्छ भने फेरि शरद लागेसँगै त्यो माग ओह्रालो लाग्छ।

यस्ता कम्पनीमा काम गर्नेहरू भने मुस्किलैले पोर्चुगलका नागरिक छन्। त्यसले गर्दा जातीय बसोबासमा लगातार अन्तर पर्दै गएको छ। अर्कातर्फ यी कम्पनीका निम्ति समुद्रपारबाट ल्याइने कामदारको मामलामा भने सुरुदेखि नै लगातार बढोत्तरी हुँदै गएकाको देखिन्छ।

आप्रवासी कामदारको हक अधिकारबारे काम गर्ने गैरसरकारी संस्था ‘सोलीमाइग्रेन्ट’को अलेन्तेजो शाखा हेर्ने अल्बेर्टो मातोसका अनुसार त्यसरी ल्याइने कामदार मुख्य गरेर नेपाल, भारत, बंगलादेश, बुल्गेरिया, माल्दोभा र अल्जेरियाका छन्।

‘पोर्चुगलमा आउने मानिसका निम्ति कृषि उद्योग भनेको प्रवेश गर्ने मुख्य आधार हो,’ मातोस भन्छन्, ‘तर, यसै उद्योगमा टाँसिएर भने यी कामदार लामो समय बस्दैनन्।’

मातोसका अनुसार यी कामदारले भर्खर पोर्चुगल टेक्दा असाध्यै सोझासिधा हुन्छन् र काममा लगाउनेहरूको प्रक्रियाले गर्दा सजिलै ठगीमा पर्न सक्छन्।

‘यसमा दलालहरू असाध्यै बढ्ता हुने गर्छन्,’ उनी भन्छन्, ‘त्यस्ता दलालले नै ठगिदिन्छन्।’ त्यस्तो ठगी तलब लिने बेलासम्म पनि चलिरहन्छ। त्यसैगरी, यातायात खर्चदेखि लिएर आवास प्रबन्धसम्म पनि ठगीमा पर्छन्।

‘कम्पनीले उनीहरूलाई दिनुपर्ने भनेको न्यूनतम ६ सय युरो पारिश्रमिक हुन्छ,’ मातोस भन्छन्, ‘जबकि उनीहरूले केवल ३ सय युरो मात्र घर लैजान पाइरहेका हुन्छन्।’

बेलायतीको स्वामित्वमा रहेको ‘दी समर बेरी कम्पनी’ले तीन सय जना कामदार परिचालन गरेको छ। प्रायः पुरुष छन्। यो कम्पनीमा विशेषगरी नेपाल, भारत, पाकिस्तान र बंगलादेशदेखि ल्याइएका कामदार काम गर्छन्। कम्पनीमा बियात्रिज पिमिन्तेलले ‘पिपुल एन्ड वेलफेयर म्यानेजर’ भएर काम गर्दै आएकी छन्।

यो कम्पनीले पछिल्लो समय म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा आउने कामदार लिन बन्द गरेको छ। बरु, सोझै कुराकानी गरेर भर्ती गर्न थालेको छ।

‘आप्रवासी कामदारलाई नल्याएको भए त यत्राविधि काम सम्पन्न हुनै सक्दैन थियो,’ उनी भन्छिन्, ‘किनभने यस प्रकारका काममा पोर्चुगलका नागरिकले रुचि नै दिनेगरेका छैनन्।’

बियात्रिजको समर बेरी कम्पनीले यी आप्रवासीको स्वास्थ्य सेवा र आवास सुविधाजस्ता कार्यक्रममा पनि स्थानिय निकायलाई सघाउँदै आएको छ।

त्यसैगरी, सोलीमाइग्रेन्टले यी आप्रवासी कृषि कामदारका हक अधिकारका कुरालाई प्राथमिकताका साथ उठाउँदै आइरहेको छ। यस्ता थुप्रै कामदारले खाली कन्टेनरकै निम्ति प्रति महिना सय युरो तिरेर भाडामा बस्दै आएको अवस्थामा उनीहरूको आवास सुविधालाई लिएर पनि सोलीमाइग्रेन्टले आवाज उठाइरहेको छ।

यो प्राकृतिक निकुञ्जको स्थान भएकाले यहाँ ढलाइ गरेर घर बनाउन निषेधित गरिएको छ। यस्तो अवस्थामा ‘प्रि फ्याब’ तरिकाले निर्मित अस्थायी प्रकृतिको बसोबास प्रवन्ध मात्र यहाँ उपलब्ध छ।

समर बेरी कम्पनीले खेतकै छेउछाउ केही कामदारको बसोबास प्रवन्ध मिलाएको छ। ‘यो अस्थायी बसोबासको प्रवन्ध हो,’ प्रबन्धक बियात्रिज भन्छिन्, ‘सस्तो भए पनि यसको प्रवन्धले हाम्रा कामदारलाई उनीहरूको बसाइको चिन्ता पनि कम्पनीले गर्छ भनेर भरोसा दिलाउन सकेका छौं।’

यो ओडेमिरा ग्रामीण नगरपालिकामा भाडामा लिनमिल्ने घरको अभावले गर्दा आप्रवासी कामदारलाई गाह्रो परिरहेको सबैजसो बताउँछन्। उदाहरणका निम्ति नेपालबाट आएका दिवाकर घिमिरेलाई नै लिऊँ।

उनी माराभिला फार्मका लागि बेरी टिप्ने काम गर्छन्। आफूजस्तै नेपालबाट आएका अन्य १२ जना तन्नेरी कामदारसँग मिलेर उनले साउ तेयोतोनियोमा एउटा सानो ‘होस्टल’ भाडामा लिएका छन्।

‘आउने दुई वर्षभित्र म पोर्चुगलको स्थायी वासिन्दा बन्न कागजात तयार पार्ने योजनामा छु,’ घरबाहिर एउटा स्टुलमा बसेर घाम तापिरहेका घिमिरेले भने, ‘यो योजना पूरा हुनेमा म आशावादी छु।’

पछिल्ला वर्षमा पोर्चुगल आएका धेरै आप्रवासीको घिमिरेकै जस्तो योजना हुने गरेको छ। अझ कतिपयका निम्ति त पोर्चुगल नै अन्तिम गन्तव्य होइन। उनीहरू युरोपका अझ सम्पन्न मुलुक जस्तै जर्मनी वा अन्य त्यस्ता मुलुक पुग्नका निम्ति पोर्चुगललाई सिँढी बनाइरहेका छन्।

घिमिरेजस्तै मणिको पनि योजना छ। उनले आप्रवासी कामदारलाई खाना खुवाउने सानो व्यवसायमा काम पाएका छन्। त्यो व्यावसाय अन्तर्गतको सानो किराना पसल, रेष्टुरेन्ट र सैलुनमा मणि काम गर्छन्।

‘म उतै हुँदा पनि मेरा बा र हजुरबाले जस्तै सैलुनमा काम गर्थेँ,’ मणि भन्छन्, ‘यहाँ आएपछि पनि मैले एक दिन पनि बेरी टिप्न गएको छैन।’ मणिका अनुसार उनको सैलुनमा बुल्गेरिया र पोर्चुगलका ग्राहक पनि आउने गरेका छन् र ती सबै उनको कामबाट सन्तुष्ट छन्।

यति हुँदाहुँदै पनि यस सहरका परम्परागत पोर्चुगिज पसलमा भने यी दक्षिण एसियालीको चेहरा मुश्किलैले देखिन्छ। बढ्दो गहुँगोरो छाला भएका मानिसको उपस्थितीसँगै स्थानीय वासिन्दामा अनेक पनि पछिल्लो समय चल्न थालेका छन्। विशेषगरि दक्षिणपन्थी अतिवादी पोर्चुगिजले यो परिस्थितिलाई बिथोलिदिन सक्छन् भन्ने भय उनीहरूमा ब्याप्त छ।

छिमेकी मुलुक स्पेनमा त्यस्तो घटना भएको पनि थियो।

यस्तो अवस्थामा कोभिड १९ को महामारी यी कामदार भएकै स्थानमा फैलनुले स्थानीयसँगको सम्बन्धलाई झनै जटिल बनाइदिएको छ। लकडाउनकै बेला पनि कामदारलाई बसमा ओसार्न दिइएको भन्दै त्यसैले गर्दा समस्या बढेको उनीहरूको आरोप छ।

उनीहरूका अनुसार गत मेमा यो मामला बाहिर आउनुभन्दा पहिल्यै पनि यस विषयमा जानकार स्थानीय प्रशासन मौन बसेको थियो। त्यो खेदजनक रहेको उनीहरू औंल्याउन थालेका छन्।

अर्कोतिर महामारीको बेला अव्यवस्थित बसोबासमा बाध्य पारिएका यी कृषि मजदुरको अवस्थालाई लिएर उनीहरूको हक अधिकारका कुरा पनि यतिबेलै चल्न सुरु भएका छन्। २० जना मानिसलाई एउटै कोठामा सुताउँदा पनि अलेन्तेजोमा प्रति बंक बेड (खपटिएका खाट)का लागि प्रत्येकले १५ हजार रुपैयाँसम्म प्रति महिना तिर्नुपर्ने अवस्था छ।

ओडेमिरामा मात्रै वैध अवैध गरेर झण्डै १३ हजार कामदारमध्ये ६ हजार जनाले अत्यन्त अव्यवस्थित तवरले बसोबास गर्दै आएको भेटिएको छ। तीमध्ये कतिपय त कन्टेनरमै बसोबास गर्दै आएका छन्। अर्थात्, परस्पर दूरी कायम हुनुपर्ने अहिलेको अवस्थामा पनि यी मजदुर कोच्चिएर र अस्वस्थ्यकर पाराले बस्न बाध्य छन्।

पछिल्लो समय यस्ता मजदुरको बसोबासका निम्ति विकल्पका रूपमा टेन्ट व्यवसायीले अघि बढाएको पहल पनि विवादित बन्न पुगेको छ। यस्तो अवस्था आउनुलाई सरकारका लागि लज्जास्पद कुरा भएको अधिकारवादीहरू बताउँछन्।

उनीहरू यो मानव तस्करीसँग जोडिएको आधुनिक दास प्रथाजस्तै बन्दै गएको औंल्याउँछन्। यी कामदारले ओसारपसार गर्ने गिरोहलाई प्रतिव्यक्ति झण्डै १२ लाख रुपैयाँसम्म बुझाउनुपरेको पनि भेटिन्छ।

त्यसरी आइपुगेका मजदुरले यस मुलुकमा प्रचलित मजदुरसम्बन्धी वा सामाजिक अधिकार उपभोग गर्न पाउनु त परको कुरा उल्टो ठगीमा पर्दै जान्छन्। यस्तासँग उल्टो ‘फिस’ भन्दै फिरौती असुल्ने गिरोह पनि हुन्छन्।

पाँच वर्षअघि जारी गरिएको एउटा कानुनले यस किसिमबाट मानिसलाई काममा लगाउन नपाउने प्रावधान राखेको थियो। तर, त्यो पनि निष्प्रभावी बन्न पुगेको ट्रेड युनियन फेडरेसनको भनाइ छ।

यसैबीच, मानव तस्करीसँगै जोडिएका एक सय ३४ जना पीडितको अहिलेसम्म पहिचान नै भइसकेको छ भने १४ वटा व्यवसायीसँग जोडिएका ३७ मजदुरको आरोपपत्रमाथि छानबिन चलिरहेको छ।

यस्तो अवस्थामा ओडेमिरामा पछिल्लो समय फैलिएको कोभिड १९ महामारीका पछाडि यी कामदारको अव्यवस्थित आवास सुविधा र असुरक्षित तवरले काममा लगाइनु नै मुख्य कारण रहेको आरोप पनि थपिएपछि जटिलता झन् बढेको छ।

दुई महिनाअघि लकडाउननै घोषणा गर्नुपरेको यस स्थानमा अहिले पनि हिँडडुल पूर्णतया फुकुवा भइसकेको छैन। यसैबीच, यी कामदारलाई अब पोर्चुगल सरकारले कानुनी रुपमै व्यवस्थित गर्ने उपाय अपनाउनुपर्ने दबाब पनि बढ्दै गएको छ।

त्यसो भइदियो भने उनीहरूका लागि महामारी आशीर्वाद पनि बनिदिन सक्ने सुखद सम्भावना छ। तर, त्यसभन्दा पहिल्यै कोभिडले जन्माएको स्थानीय र यी आप्रवासीबीचको तिक्तता हट्नु जरुरी देखिन्छ।

(यो सामग्री पोर्चुगलको स्थानीय अखबार डि डब्लु र अलजजिरामा फरक–फरक समय प्रकाशित फिचर आपसमा समेटेर तयार पारिएको हो।)

असार १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्