मैथिली विभागको अनलाइन कक्षाको सामग्री प्रयोग भएन

जनकपुरधाम – कोरोना संक्रमण फैलिएपछि अहिले वैकल्पिक साधनको प्रयोग गरी पठनपाठन सञ्चालन हुँदै आएको छ।

निजी विद्यालय तथा क्याम्पसमा यसको प्रयोग गरी पठनपाठन भए पनि सरकारी स्कुल तथा क्याम्पसमा अझै पूर्णरूपमा प्रयोग हुन सकेको छैन। जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) भवनमा मैथिली विभागले अनलाइन कक्षाको लागि सामग्री खरिद गरे पनि त्यो प्रयोगविहीन बनेको छ।

त्रिभुवन विश्वविद्यालयको मैथिली केन्द्रयी विभागले अनलाइन कक्षा सञ्चालनमा ल्याउन लाखौँको सामान खरिद गरे पनि दक्ष जनशक्ति अभावमा सामान त्यत्तिकै थन्किएको छ।

स्थापनाको सुरुवाती वर्षदेखि नै लथालिंग अवस्थामा रहँदै आएको मैथिली विभागले अनलाइन कक्षा सञ्चालनका लागि साढे ३ लाख बराबरको सामग्री खरिद गरेको छ।

असोजमा मैथिली विभागले खरिद गरेको सामग्री दक्ष जनशक्ति अभावमा थन्काएर राखिएको लेखापाल सञ्जीव दासले बताए। असोजमा अनलाइन कक्षा सञ्चालन गर्ने उद्देश्यले त्रिभुवन विश्व विद्यालयले मैथिली विभागलाई ७ लाख रुपैयाँ उपलब्ध गराएको थियो।

जसमा ३ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ। लेखापाल दासका अनुसार अनलाइन कक्षाका लागि ल्यापटप, मोबाइल, क्यामेरा, क्यामेरा स्ट्यान्ड, मिनी स्पिकर, वायरलेस हेडफोन, प्रोजेक्टर, इन्भर्टर, ब्याट्रीलगायत सामग्री खरिद गरिएको छ।

ल्यापटप खरिदमा ७६ हजार ३ सय २७, रेडमी ९ प्रोम्याक्स मोबाइल खरिदमा ४० हजार ७ सय ७, २ थान क्यामेरा स्ट्यान्ड खरिदमा ४ हजार ७०, मिनि स्पिकर खरिदमा ७ सय ६३, वायरलेस हेडफोेन खरिदमा ६ हजार १ सय ६, क्याननको क्यामेरा ३००० डी खरिदमा ५८ हजार रुपैया खर्च गरिएको उनले जानकारी दिए।

शिक्षकहरूमा प्राविधिक ज्ञानको अभावको कारण कक्षा सञ्चालन हुन नसकेको लेखापाल दासले भने। उनले शिक्षकहरूलाई अनलाइन कक्षा सञ्चालनका लागि तालिम दिने योजना रहे पनि त्यो पूरा हुन नसकेको बताए।

३० जना विद्यार्थी मात्रै अध्ययनरत रहेको मैथिली विभागको अवस्था दयनीय बन्दै गएको छ। मैथिली विभागमा कार्यरत कर्मचारी तथा प्राध्यापकहरू समय नदिँदा त्यसको अवस्था दयनीय बन्दै गएको हो।

कोरोना महामारीका कारण अहिले कक्षा बन्द छ भने कोरोनाभन्दा पहिले पनि कर्मचारी तथा शिक्षकहरू कहिलेकाहीँ मात्रै पुग्ने गरेका थिए। दुई वटा कोठा मैथिलीको केन्द्रयी विभाग सञ्चालनमा रहँदै आएको छ भने केन्द्रयी विभागमा अहिले २ जना कर्मचारी तथा ५ जना शिक्षक कार्यरत छन्।

विभागका कर्मचारी तथा शिक्षकका लागि प्रतिमहिना २० लाख रुपैयाँ खर्च हुँदै आएको छ। यता, मैथिली विभागको प्रमुख रहेकी श्यामा महतोले मैथिली विभागको दयनीय अवस्थाको विषयमा जानकारी लिन खोज्दा उनले आफ्नो कार्यकाल समाप्त भएको ४ दिन भइसकेकाले कुरा गर्न नसकिने प्रतिक्रिया दिइन्।

 

असार १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्