बेल्जियमलाई स्तब्ध पारेर इटाली अघि बढ्यो, सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने

विश्व बरियतामा लामो समयदेखि शीर्ष स्थानमा रहेको बेल्जियमलाई स्तब्ध पारेर इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियममाथि इटालीले २–१ को जित दर्ता गरेको हो ।

३१ औँ मिनेटमा निकोलो बारेलाले गोल गरि इटालीलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा लोरेन्सो इन्सिग्नेले गोल गरि अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा बेल्जियमले पेनाल्टी पायो ।

जिओभानी डी लोरेन्सोले जेरोमी डूकुलाई फउल गरेपछि पाएको पेनाल्टीमा बेल्जियमका लागि रामेलु लुकाकुले एक गोल फर्काए ।

तर दोस्रो हाफमा दुवै तर्फबाट थप हुन सकेन र इटालीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो । लगातार १३ खेलमा जित निकालेको इटाली पछिल्ला ३२ खेलमा अपराजित छ ।

साबिक विजेता पोर्चुगललाई पराजित गरेर अन्तिम ८ मा आएको बेल्जियमको यात्रा इटालीले यो भन्दा अघि बढ्न दिएन ।

अब इटालीले फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । टाइब्रेकरमा स्वीट्जरल्याण्डलाई पराजित गरेर स्पेन अन्तिम चारमा पुगेको छ ।

असार १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्