विपद्का विशेषज्ञ- सेनानी पाइलट शंकर कट्‌वाल

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कार्यालयमा पुग्दा प्रमुख सेनानी पाइलट शंकर कट्वाल तयारी अवस्थामा थिए। अहिले मनसुनको समय भएकाले कुनै पनि बेला विपद आउन सक्ने र खटिनुपर्ने भएकाले उनी तयारी अवस्थामा रहेका हुन्।

विपदका खबर आएको ३० मिनेटमा उनी आफ्नो टिमसहित सम्बन्धित क्षेत्रका लागि उडिसक्नुपर्ने हुन्छ।

नेपाली सेनाका पाइलट ४१ वर्षका प्रमुख सेनानी कट्‌वाल हेलिकप्टरको ककपिटमा बसेर विपदका बेला धेरै उद्धारका कामका लागि उडिसकेका छन्। विगत २० वर्षदेखि उनी नेपाली सेनामा छन् र यसखालका सेवामा खटिँदै आएका छन्। उनले सेनाबाटै पाइलटको कोर्स गरेका हुन्। अध्ययन सकेर सेनाको हेलिकप्टर उडाउन थालेको १५ वर्ष भइसक्यो। यो अवधिमा विपदका बेला गर्नु पर्ने उद्धार तथा राहतका लागि विभिन्न स्थानमा पुगेका छन् उनी। ६ वर्षअघिको भूकम्पदेखि कोशी नदीमा आएको बाढी, मेलम्ची तथा मनाङमा पनि उद्धारको काममा खटिएका छन्।

‘सुरु-सुरुमा खटिँदा त ओहो यो कस्तो विपद‍ हो भन्ने लाग्थ्यो। अब त १५ वर्ष भइसक्यो, यही यस्तै काममा खटिएको, अहिले आश्चर्य भन्दा पनि चाँडो उद्धार गर्न पाए भन्नेमा बढी ध्यान हुन्छ’ उनले भने, ‘तर विपदको खबर आउँदा दुःख भने लाग्छ नै।’

विपद पूर्व तयारी तथा उद्धारका लागि आफूहरुले बेला बेलामा तालिम पनि लिने गरेको उनले बताए। उनले भने,  ‘काठमाडौँको स्वयम्भूतिर बेलाबेला देखिने हेलिकप्टरको दृश्य यस्तै विपदका लागि भनेर गरिएको तालिमको हो । यसरी तालिम गरेर हामी विपदका लागि तयारी अवस्थामा बसेका हुन्छौँ ।’

विपद कुनै व्यक्ति वा समुदायका लागि भन्दा पनि देशमै आउने भएकाले आफूहरु जहिले पनि तयारी अवस्थामा रहने उनले बताए । उद्धारका लागि जाँदा सो क्षेत्रको अवस्था तथा प्राविधिक कुराहरुमा विशेष ख्याल गरिने उनले जानकारी दिए । उनले भने, ‘सामान्य अवस्थामा हामीले हेलिकप्टर चलाउँदा पनि वस्तुस्थिति र प्राविधिक अवस्थाबारे जानकारी राखेका हुन्छौँ । बाहिरबाट हेर्दा सर्वसाधारणलाई रमाइलो लाग्न सक्छ हामी भने सम्भावित विपदकै तयारी गरिरहेका हुन्छौँ ।’

उद्धारका लागि खटिँदा सम्बन्धित व्यक्ति तथा क्षेत्रको अवस्थितिलाई निकै ख्याल गरिने उनले जानकारी दिए । उनले भने, ‘उद्धारको लागि जाने टिम र हामी पाइलटहरु बीच समन्वयकारी भूमिका अति आवश्य हुन्छ, सानो भन्दा सानो गल्तीले पनि फेरि अर्को दुर्घटना हुन सक्छ, त्यसले हामीले निकै ख्याल गरेर उद्धार कार्य गर्नु पर्ने हुन्छ।’

विपदमा परेकाहरुको ज्यान जोगाउँदा निकै खुशी र आनन्द मिल्ने बताएका कट्‍वालले भने, ‘कसैको जीवन जोगाउन पाउदाँ त खुशी नै लाग्छ । मलाई त यो अवसर सेनाले नै दिएकाले पनि आभारी हुन्छु ।’

डेढ दशकको अवधिमा धेरै घटनामा खटिएका उनको स्मृतिमा सबै प्रसंग उत्तिकै ताजा रुपमा पक्कै रहेको छैन। तर, असारको पहिलो हप्ता मेलम्चीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारको घटना भने ताजै छ।

उनले भने, ‘१५ वर्षमा धेरै उद्धारका कार्यमा गएँ, कति याद छन्, कति बिर्सिएँ पनि होला। तर केही समय अगाडि मेलम्चीमा बाढी आएको थियो। बाढीको कारणले घरहरुमा फसेकालाई उद्धार गर्न गएका थियौँ। घरहरुको बिचमा उहाँहरु फस्नु भएको थियो। त्यसरी फसेकाहरुलाई उद्धार गर्न त्यति सजिलो छैन। तर पनि त्यो मिसन सफल भएको थियो। मलाई पनि उहाँहरुलाई उद्धार गरेर सुरक्षित ठाउँमा ल्याएपछि निकै आनन्द लागेको थियो।’

आफूहरुले गरेको कामको प्रशंसा विभिन्न क्षेत्रबाट हुँदा थप हौसला मिल्ने उनले मुस्काउँदै बताए। मेलम्चीमा सेनाले गरेको उद्धारको भिडियो सामाजिक सञ्जालमा निकै सेयर भएको थियो। उनले भने, ‘त्यस्तो देख्दा हामीलाई पनि खुशी लाग्छ। गर्व महसुश हुन्छ। तर हामीलाई व्यक्तिगत भन्दा पनि संगठनलाई दिएको धन्यवाद देख्दा अझ बढी खुशी लाग्छ।’

उद्धारका लागि खटिन जहिले तयार रहने उनले बर्सेनि विपद आएपछि उद्धारको काम गर्नु भन्दा पूर्व तयारी राम्रोसँग भए हुने भन्ने चाहिँ लाग्छ । उनले भने, ‘विपदका बारेमा हामी सबैले सतर्क भएर सोच्नु पर्छ । हामी जहिले विपद आउँछ त्यति बेला मात्र ध्यान दिन्छौँ । अघिपछि पनि सोच्न जरुरी छ ।’

असार १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्