इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा

शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वाटरफाइनलमा युक्रेनमाथि इंग्ल्याण्डले ४–० को जित दर्ता गरेको हो । इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले दुई तथा ह्यारी मागुइरी र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे ।

रहीम स्ट्रर्लिङ्गको सहयोगमा केनले चौथो मिनेटमा गोल गरि इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाए ।

४६ औँ मिनेटमा मागुइरीको गोलका लागि सहयोग गरेका ल्यूक शले ५० औँ मिनेटमा केनको व्यक्तिगत दोस्रो गोलका लागि सहयोग गरे ।

मासन माउन्टको सहयोगमा हेन्डर्सनले ६३ औँ मिनेटमा गोल गरेपछि इंग्ल्याण्डको प्रभावशाली जित निश्चित भएको हो ।

इंग्ल्याण्डले सन् १९६६ को विश्वकपछि पहिलोपटक प्रमुख प्रतिस्पर्धाको नकआउट चरणको खेलमा चार गोल गरेको हो ।

इंग्ल्याण्ड पछिल्लो २५ वर्षमा पहिलोपटक युरोकपको सेमिफाइनलमा पुगेको हो।

फाइनल प्रवेशका लागि इंग्ल्याण्डले बुधबार राति डेनमार्कसँग प्रतिस्पर्धा गर्ने भएको छ । शनिबार राति नै भएको खेलमा चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्कले अन्तिम चारको यात्रा तय गरेको हो ।

असार २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्