साप्ताहिक विश्लेषण (असार १३ देखि १९)

संक्रमण घट्ने क्रम सुस्त रहनु कति घातक?

कोरोना संक्रमण सुरु भएदेखि हामीले केही नया शब्द हरु सुन्न र बुझ्न पाएका छौँ। ती मध्ये एक को लकडाउन। योभन्दा पहिला कहिल्यै नसुनेको या बिरलै सुनिएको शब्द हो यो। २०४६ सालमा राजनैतिक परिवर्तन भएसँगै नेपालमा धरै पटक नेपाल, उपत्यका बन्दका कुराहरु भए तर लकडाउन भएको थिएन। कहिलेकाहीँ कर्फ्यू भन्ने  कुरा पनि सुन्नमा र भोग्नमा आएता पनि लकडाउन भोग्नु परेको थिएन। महाभूकम्पको प्रलयमा पनि लकडाउन भएको थिएन। तर यसपाली प्रशस्त लकडाउन भोगियो।

के कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन साँच्चिकै आवश्यक छ? अर्थात् लकडाउन साँच्चिकै प्रभावकारी कुरा हो? अर्थात् लकडाउनको विकल्प छैन? कोरोना संक्रमणकालमा यी स्वभाविक प्रश्न या जिज्ञासा हुन्।

माथिका प्रश्नहरुका उत्तर हुन् कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन आवश्यक छ, यो एउटा प्रभावकारी तरिका हो र यसको विकल्प शायद छैन। उदाहरणको लागि पछिल्लो समय अझै कतिपय देशहरुमा पुनः लकडाउन सुरु गरिएको छ, जस्तै बंगलादेश, इन्डोनेसिया, अस्ट्रेलिया आदि।

विश्वमा लकडाउन सम्बन्धी धेरै अध्ययन र अनुसन्धान पनि भएका छन् जस्तै लकडाउन कहिले सुरु गर्ने, न्यूनतम कति समय लकडाउन गर्ने, कति समय लकडाउन गरे कति प्रभावकारी हुने, लकडाउन कसरी गर्ने आदि। तर नेपालमा यी कुराहरुको कुनै अध्ययन र वास्ता नगरी लकडाउन लगाएको देखिन्छ। लकडाउन लगाएर मात्रै हुँदैन। यसको कडाईका साथ पालना गर्नु र गराउनु पर्दछ र साथै लकडाउनको बेला संक्रमण नियन्त्रणका अन्य उपायहरु कार्यनबयन गर्नु पर्दछ।

लकडाउन आम  जनताको लागि हो तर सरकारको लागि होइन। लकडाउनकै बेला सरकार र सम्बन्धित निकाय झन् सक्रिय भई कोरोना संक्रमण नियन्त्रणमा लाग्नु पर्दछ। तर नेपालमा  त्यसो भएको देखिँदैन। लकडाउनको बेला केही ट्राफिक प्रहरीहरु बाहेक तीनै तहका सरकार सुस्ताएको देखिन्छ र जब जब लकडाउनको समय सकिन लाग्दछ फेरि सम्बन्धित केही व्यक्तिहरु जागेर आउँछन्।

फलस्वरूप लकडाउन प्रभावहिन मात्रै होइन प्रत्युत्पादक पनि हुन गएको छ। पछिल्लो समय नेपालमा लगाइएको झन्डै दुई महिना लामो लकडाउनका बाबजुद कोरोना संक्रमण दरमा खासै कमि आएको देखिँदैन जत्तिको कमि भारत, पाकिस्तानमा आएको छ। त्यति मात्रै होइन लकडाउन खुकुलो हुनेबित्तिकै संक्रमण दर घट्ने क्रम रोकिएर उल्टो बढ्न खोजे जस्तो देखिन्छ।

लकडाउनको एउटा विकल्प हुन सक्दछ, त्यो हो अनुशासित जीवनशैली। कोरोनासँग सम्बन्धित सतर्कता र होसियारीका कुराहरुलाई सधैँ पालना गरी प्रतिबन्धात्मक कुराहरुबाट टाढा रहनु नै आजको लागि आवश्यक अनुशासित जीवनशैली हो।

त्यति मात्रै नभई स्वस्थ शरीरको लागि आवश्यक कुराहरु जस्तै नियमित व्यायाम, स्वस्ठ खानेकुराको सेवन, धुम्रपान र अत्यधिक मध्यपनको त्याग, शारीरिक तथा वातावरणीय सरसफाई, तनाव र शारीरिक तथा मानसिक धपेडीबाट मुक्ति आदि पनि आजको लागि आवश्यक अनुशासित जीवनशैली भित्रै पर्दछन्।

यसको ज्वलन्त उदाहरण हो जापान जहाँ हालसम्म  परीक्षण, कन्ट्याक्ट ट्रेसिंग, भ्याक्सिनेसन आदि अति न्यून  गरिएका छन् भने माथि उल्लेखित अनुशासनको कडाईका साथ पालना गरिएको छ र कोरोना संक्रमणलाई निकै सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको छ। तर पनि त्यहाँ पटक पटक टोकियो लगायत ठूला सहरहरुमा लकडाउन गर्ने गरिएको छ।

यदि यसरी सबैले अनुशासित जीवनशैली अपनाउने हो भने लकडाउनलाई सधैको लागि बन्द गर्न मात्रै होइन कोरोना संक्रमणको नियन्त्रण र रोकथाम गर्न पनि ठूलो सहयोग पुग्ने छ।

पछिल्लो समय दक्षिण एसियामा समग्र दैनिक कोरोना संक्रमण कम हुँदै जाने क्रम जारी छ। दक्षिण एसियाको विगत १५ दिनको समग्र दैनिक संक्रमण र दैनिक मृत्युको प्रवृत्ति चित्र न.१ मा देखाइएको छ।

चित्रमा देखाइए जस्तै दक्षिण एसियामा हाल दैनिक संक्रमण ६०००० जति छ भने दैनिक मृत्यु करिब १३०० जति छ। तर पछिल्लो समय यस क्षेत्रमा कोरोना संक्रमण घट्ने क्रममा केही सुस्तता आएको देखिन्छ भने कोरोना मृत्युको प्रवृत्ति पनि  त्यस्तै देखिन्छ। जुन दरले कोरोना संक्रमण र कोरोना मृत्युमा कमि आइरहेको थियो पछिल्लो समय त्यसो नभई संक्रमण र मृत्यु निरन्तर रुपमा अघि बढी स्थिर देखिन्छ। त्यसको प्रमुख कारण पछिल्लो समय बंगलादेशमा भएको कोरोना संक्रमणको बृद्धि हो जुन चित्र न. २ मा देखाइएको छ।

चित्रमा भारत र भुटानको दैनिक संक्रमण अन्यको भन्दा निकै फरक भएको हुनाले ती देशहरुलाई चित्रमा समावेस गराइएको छैन।

चित्र न. ३ ले ती देशहरुको दैनिक कोरोना मृत्युको प्रवृत्ति  देखाएको छ। दैनिक मृत्यु पनि हाल बंगलादेश र अफगानिस्तानमा निकै बढ्दै गएको देखिन्छ।

पछिल्लो समय  विश्वको कुल दैनिक कोरोना संक्रमणको करिब १६ % र दैनिक कोरोना मृत्युको करिब १७% दक्षिण एसियामा भेटिने गरेको छ।स्मरण रहोस् दक्षिण एसियामा वर्तमान प्यान्डेमिक लहर उच्च बिन्दुमा पुगेको बेला,मे महिनाको पहिलो सातातिर, यी अनुपातहरु क्रमसः ५५% र ४०% सम्म पुगेका थिए।

चित्र न.४ले दक्षिण एसियाली देशहरुको गत दुई हप्ताको,जोन्स होप्किन्सविश्वविद्यालय (Johns Hopkins University)रआवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार,साप्ताहिक औसत  संक्रमण दरको प्रवृत्ति देखाएको छ।

पछिल्लो समय यस क्षेत्रका सबै जसो देशहरुमा दैनिक संक्रमण दर स्थिर देखिन्छ जसले चित्र न.१ मा देखाइएको कुरालाई पुष्टि गर्दछ। बंगलादेश को संक्रमण दर भने पछिल्लो समय निकै बढ्दै गएको देखिन्छ जसले चित्र न.२ र ३ लाई पुष्टि गर्दछ।

सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) द्वारा जारी गरिएको विवरण अनुसार दक्षिण एसियामा जुन ३० का दिन सम्ममा ३३३६६९०५ जनामा यो संक्रमण लागिसकेको छ भने ४४४०५६ जनाले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,सन् २०२१ जुन २७ देखि जुलाई ३ (बि.सं. २०७८ आषाढ १३ देखि १९)जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै नेपालसरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC)आदि।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरी र नेपालमा पनि  उतारचडाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण


यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ जुन २७ देखि जुलाई ३ (असार १३ देखि १९)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न.५ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन,असार १९ गते शनिबारसम्म, देशभरि जम्मा ११२५४ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ६४३५८० पुगेको छ।

मे महिनाको दोस्रो साता उच्च बिन्दुमा पुगेको नेपालको कोरोना प्यान्डेमिकको वर्तमान लहर विगत डेढ महिनादेखि केही कम हुँदै गई साप्ताहिक संक्रमण संख्या गतहप्ता १२६९१ बाट ११२५४ मा झरेको हो।

त्यस्तै, चित्रमा देखाइए जस्तै, दैनिक मृत्युमा पनि कमि आउने क्रम जारी छ। दुई हप्ता अघि साप्ताहिक मृत्यु जम्मा ३०० भएको मा गतहप्ता यो संख्या २३३  रह्यो।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको औसतमा २६% जति देखिएको छ। दुईहप्ता अगाडि यो अनुपात २५% थियो। विगत केही हप्तादेखि यो अनुपात क्रमसः झर्दै गएकोमा पछिल्लो समय केही बढेको देखिन्छ जुन लकडाउन खुकुलो भई मानिसको आवतजावत बढेको कारणले हुन सक्दछ। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर कास्की, मोरङ, सुनसरी, चितवन, रुपन्देही आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी)दर(Positivity Rate)


प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न.६ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक ओरालो लाग्ने क्रम जारी रहेता पनि पहिलाको दाँजोमा संक्रमण दर (पोजिटिभिटीदर) घट्ने क्रम रोकिएको जस्तो देखिन्छ।

गतहप्ता पोजिटिभिटीदर न्यूनतम २१.१८%देखि अधिकतम २६.२८%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर२४.१% रह्यो भने दुई हप्ताअघिको औसत संक्रमण दर २२.९५% थियो। नेपालको संक्रमण दर अझै पनि दक्षिण एसियामा सबैभन्दा उच्च मात्रै छैन अन्यको भन्दा निकै माथि पनि छ।

संक्षेपमा, माथिका तथ्यांकहरुबाट विगत करिब डेढ महिनादेखि दक्षिण एसिया र नेपालमा वर्तमान प्यान्डेमिक लहर केही ओरालो लाग्दै गएको देखिएता पनि पछिल्लो समय संक्रमण घट्ने क्रम सुस्त देखिन्छ।

विगत केही हप्तादेखि लकडाउन केही खुकुलो हुँदा दैनिक जनजीवनमा निकै चहलपहल सुरु भएको देखिन्छ जसले गर्दा माथि उल्लेख गरिए जस्तै पहिलाको दाँजोमा पछिल्लो समय दैनिक औसत संक्रमण दर केही बढेको देखिन्छ।

दैनिक संक्रमण र मृत्युको संख्यामा केही कमि आएको देखिएता पनि त्यो मुलतः दैनिक परीक्षणमा आएको कमिको कारण हो। दुई हप्ता अघिको साता जम्मा ५४४५० पीसीआर परीक्षण गरिएकोमा गतहप्ता जम्मा ४६६२७ मात्रै परीक्षण गरिएको थियो।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशाशित जीवनशैली नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

असार २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्