सहसेनानी साजन सिलवालको अनुभव

जसले गरे मेलम्ची बाढीमा चार पीडितको उद्धारमा समन्वय

काठमाडौँ– उनी मात्रै २० वर्षका थिए सहायक सेनानीका रुपमा नेपाली सेनामा प्रवेश गर्दा । अहिले सह–सेनानी रहेका साजन सिलवाल ३० वर्षका भए ।

अहिले सह–सेनानी सिलवाल विपदका बेला उद्धार तथा राहतका लागि खटिने जिम्मेवारीमा छन् सेनाभित्र । असारको पहिलो हप्ता मेलम्चीमा बाढीका कारण आएको विपदको अवस्थामा फसेकाहरुको उद्धार तथा राहतका लागि उनीसहितको टोली खटिएको थियो ।

उद्धार टोलीको नेतृत्वकर्ताका रुपमा पहिलोपटक मेलम्चीमा खटिएका हुन् उनी । आफूहरुको ध्यान त्यो बेला जतिसक्दो चाँडो सफल रुपमा उद्धारको काम कसरी गर्ने भन्नेमा रहेको सह–सेनानी सिलवालले बताए ।

उनी उद्धारका लागि तैनाथ हेलिकप्टर र तल फसेका मानिससम्म पुगेको टोलीबीच समन्वय गर्ने जिम्मेवारीमा थिए । यसरी समन्वयको कार्य गर्दा निकै ध्यान दिनुपर्ने उनी बताउँछन् ।

उनले भने, ‘हुन त हामीले उद्धार कार्य कसरी गर्ने भनेर विभिन्न तालिम पहिलादेखि नै लिइरहेका हुन्छौँ । तर मेलम्चीमा मेरो यो पहिलो कार्य थियो । हामीलाई खबर आएको ३० मिनेटमा मेलम्चीका लागि उडिसकेका थियौँ । हाम्रो एउटा टिम २४ घण्टा नै त्रिभूवन विमानस्थलमा बस्छ ।’ सो टिमलाई कम्पोज क्विक रियाक्सन टिम (सिक्यूआरटी) भनिन्छ । १२ जनाको टिम आउन सक्ने विपदका घटनामा उद्धारका लागि २४ घण्टा नै विमानस्थलमै बस्छ ।

योपटक मेलम्चीमा आएको बाढीमा फसेकालाई उद्धार गर्न जाँदा उनले समन्वयको काम गरेका हुन् । ‘पाइलटको सुरक्षा, उद्धारका लागि जाने र जसलाई उद्धार गरिँदै हुन्छ उहाँहरुको सुरक्षाको ख्याल राखेर उद्धारको समन्वयक गर्नु पर्ने हुन्छ’, उनले भने । उद्धारमा समन्वयात्मक व्यवस्था अति महत्वपूर्ण हुने उनले बताए ।

आफू यसप्रकारको उद्धारका काममा पहिलोपटक खटिएको भए पनि विगतका तालिमले आत्मविश्वास रहेको उनले बताए ।

उनले भने, ‘फिल्डमा खटिएको पहिलोपटक थियो । मेलम्ची पुगेपछि त्यहाँ अवस्था कस्तो छ भनेर निरीक्षण गर्‍यौँ । उद्धार टोलीसहित जसको उद्धार गरिँदैछ उनीहरुको पनि सुरक्षा सुनिश्चित हुने गरी मात्रै हामीले कामको व्यवस्था मिलाएका थियौँ ।’

आफूहरुले मेलम्चीमा चारजनाको उद्धार गरेको उनले बताए । बाढीले लगभग पूरै डुबेको घरको छतमा फसेका पहिलो व्यक्तिको उद्धार गरेपछि निकै खुशी लागेको सह–सेनानी सिलवालले बताए । उनले भने, ‘मनमा अर्कै खालको खुशी थियो, जुनकुरा म शब्दमा व्यक्त गर्न सक्दिन ।’

विपदमा फसेर अत्तालिएकाहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजाँदा उनीहरुको अनुहारमा देखिने राहत र खुशीको भावले आफूहरुलाई आनन्द मिल्ने उनले बताए । उनले भने, ‘जीवन जोगिएपछि उहाँहरुले हाम्रो टिमलाई नेपाली सेनालाई धन्यवाद दिँदा निकै खुशी लागेको थियो ।’

असार २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्