नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको ०७८।७९ का लागि प्रस्तुत बजेट पारित भएको छ।

असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमा थापा मगरले प्रस्तुत गरेको एक अर्ब ५४ करोड ७७ लाख रुपैयाँको प्रस्तावित बजेट आइतबारको नगरसभाले पारित गरेको हो।

बजेट पारित भएपछि नगरप्रमुख डा. धवलशमशेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा विकास निर्माणले उल्लेख्य गति लिएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको साथ–सहयोगले मात्रै सफलता प्राप्त गरेको बताए।

नगरसभाले विभिन्न प्रस्ताव पनि पारित गरेको छ। कन्या कलेज सञ्चालनका लागि विनियमावली नगरसभाले पारित गरेको छ।

फुल्टेक्रास्थित नेपाली सेनाको फिए रहेको स्थानमा खेलकुद एकेडेमी निर्माणका लागि नगरसभाले प्रस्ताव पारित गरेको छ।

सैनिक नेतृत्वसँगको आपसी समन्वयका आधारमा उपमहानगरपालिकाले प्रस्ताव पारित गरेको हो।

नगरसभाले कर्मचारीको वृत्ति विकासलगायत आवश्यक निर्णय पनि पारित गरेको छ।

नगरसभामा सुशासन समितिका संयोजक नरबहादुर विष्ट र साझेदारी विकास कार्यदलका संयोजक कार्यपालिका सदस्य कौशलकुमार धोवीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।

नगरसभाले एडिबीको थप परियोजनाका लागि आग्रह गर्ने निर्णय गरेको छ।

नगरसभामा उत्कृष्ट कार्य सम्पादन गर्ने युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापा, योजना प्रमुख बज्रभूषण झा, जिन्सी शाखा प्रमुख विमल गुरुङ, जनस्वास्थ्य निरीक्षक विनोद विक, लेखा शाखाका दुर्गा पौडेल, सुभास थापालगायत कर्मचारीलाई नगर प्रमुख डा. राणा र प्रमुख प्रशासकीय अधिकृत हीरालाल रेग्मीले सम्मान गरेका थिए।

 

असार २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्