अमेरिकालाई उछिनेर विश्व व्यवस्थाको नेतृत्व गर्न सक्ला त चीनले? 

मे २००७ मा अमेरिकाका परम मित्र मानिने निकोलास सार्कोजी फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए।

दोस्रो विश्व युद्धको प्रारम्भमै जर्मनीबाट पराजित भएर फ्रान्सको पतनपछि अमेरिका दोस्रो विश्व युद्धमा जर्मनीसँग भिड्न युरोप पुग्यो।

युद्धपछिको फ्रान्सको पुनर्निर्माण र पुनरुद्धारमा मार्शल प्लान अन्तर्गत अमेरिकाले ठूलो सहयोग पनि गरेको हो तर यति सवै हुँदा पनि फ्रान्स र अमेरिकावीचको सम्बन्ध त्यतिधेरै निकट र हार्दिक रहने गरेको थिएन।

त्यसैकारण नाटोको सदस्य भए पनि नाटोका कतिपय अभियानहरूमा फ्रान्स सहभागी हुने गरेको पनि छैन।

सार्कोजीको विजयबाट अत्यन्त उत्साहित भएका राष्ट्रपति जर्ज डब्ल्यु. बुसले तत्कालै आफ्नी विदेशमन्त्री कोन्डोलिजा राइसलाई पेरिस पठाए।

उत्साहपूर्ण र मित्रतापूर्ण वार्ताको अन्त्यमा राइसले सार्कोजीलाई अमेरिकाले उनलाई के सहयोग गर्न सक्दछ ? भन्ने प्रश्न गरिन।

सार्कोजीले ठाडो भाषामा उत्तर दिए -“अमेरिकाले विश्व समुदायमा आफ्नो छवि सुधारोस्!”

सार्कोजीले थप उल्लेख गरे – ‘संसारको सबैभन्दा शक्तिशाली, सवैभन्दा सफल मुलुक, विश्वको नेतृत्व गर्ने मुलुक आफ्नो पक्षमा हुनु फ्रान्सकोलागि गौरव र सम्मानको विषय हो तर त्यस्तो मुलुक संसारको सवैभन्दा अलोकप्रिय मुलुक पनि हो’

उनको थप भनाई थियो – ‘त्यस्तो अलोकप्रियता अमेरिका र उसका मित्र शक्तिहरूकालागि पनि समस्या बन्ने गरेको छ ।

त्यसकारण अमेरिकाले आफ्नो छवि सुधार्न सम्भव सवै गरोस । अमेरिकाको पक्षमा दुनियाँको विश्वास र सद्भाव घटेको छ तर त्यो सुकेको छैन ।’ ()

त्यसैताकाको अर्को एउटा सन्दर्भ छ – सेप्टेम्बर २००७मा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुस अस्ट्रेलिया भ्रमणमा थिए ।  सो अवशरमा लेबर पार्टीका नेता ( पछि प्रधान मन्त्री) केभिन रुडले बुससँग शिष्टाचार भेटगर्दा उनलाई दुई पुस्तक उपहारमा दिए । (

दुई मध्ये एउटा पुस्तक () दोस्रो विश्वयुद्धकालीन अस्ट्रेलियाका अत्यन्त सम्मानित प्रधानमन्त्री जोन कर्टिनको जीवनी थियो ।

रुडको तर्क थियो जब चुनौती साझा हुन्छ  त्यसबखत अस्ट्रेलियाको लेबर प्रधान मन्त्रीहरूको पनि अमेरिकी राष्ट्रपतिहरूसँग निकट र हार्दिक सम्बन्ध रहने गरेकोछ ।

उनले प्रधानमन्त्री कर्टिनको स्मरण गर्दै भने दोस्रो विश्व युद्धमा अस्ट्रेलिया ब्रिटेनको संरक्षण अन्तर्गत थियो, तर जापानको सम्भावित आक्रमणको सामना गरिरहेको अस्ट्रेलियालाई आफैँ जर्मनी सामू निरीह बन्दै गएको बेलायतले आफ्नो सुरक्षाको जिम्मा लिनसक्ने कुराको विश्वास नहुनु स्वाभाविक थियो ।

त्यस अवस्थामा अस्ट्रेलियाले अमेरिकाको संरक्षकत्व माग्यो र अमेरिकाले त्यस्तो संरक्षण प्रदान गर्यो र त्यो इतिहासमा नै अमेरिका र अस्ट्रेलियाको सम्बन्ध आधारित रहेको बताएका थिए ।

उनको सङ्केत वर्तमान चीन, अस्ट्रेलिया र अमेरिका सम्बन्धको चरित्र तर्फ पनि थियो ।

दोस्रो पुस्तक () अमेरिका भन्दा धेरै कमजोर शक्ति भएर पनि  फकाएर,फुल्याएर, फुस्ल्याएर आफ्नो सफ्ट पावर प्रयोग गरेर कसरी विश्वव्यापी रूपमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ र अन्तर्राष्ट्रिय समुदायमा अमेरिकालाई पराजित गरिरहेको छ भन्ने बारेको थियो ।

स्मरणीय छ, सफ्ट पावर भनेको विचार, दर्शन, सहयोग, सहकार्य, सद्भावना र सहजीवन संस्कृतिको प्रभाव र आकर्षणबाट अर्को मुलुकमा र अर्को मुलुकको व्यवहारमा परिवर्तन ल्याउन सक्ने शक्ति र सामर्थ्य हो ।

साझा विकास, प्रगति र समृद्धि आर्जनका नीति र कार्यक्रमहरूको प्रभावको शक्ति हो ।

त्यसको आधारमा अन्य मुलुकहरूमा आफ्नो प्रभाव विस्तार हो ।

सीको उदय अघिको चीन संसारमा जहाँ पुग्थ्यो- साझा विकास, प्रगति र समृद्धिका कुरा गर्थ्यो, अमेरिका जहाँ पुग्थ्यो युद्ध र तनावका कुरा, हतियार र शक्तिका कुरा, दण्ड र सजाँयका कुरा गर्थ्यो ।

एउटाले सफ्ट पावरको बलमा आफ्नो प्रभाव विस्तार गरिरहेको थियो, अर्कोले हार्ड पावर अर्थात् सैनिक र आर्थिक शक्तिको बलमा अर्को मुलुकलाई तर्साएर, धम्क्याएर, शक्ति प्रदर्शन गरेर आफ्नो दवाव र प्रभाव निर्माण गरिरहेको थियो । आफ्नो प्रभाव विस्तारको प्रयास गरिरहेको थियो ।

निकोलास सार्कोजी र केभिन रुड दुबैले त्यसलाई इङ्गित गरेका थिए ।

तर आज चित्र बदलिएको छ ।

सी नेपाल आए ।

एउटा सानो र कमजोर छिमेकीको पाहुना भएर आएका उनले यहाँ आएर कसैलाई धुलोपिठो पार्ने धम्की दिनुको कुनै राजनीतिक, कूटनीतिक , रणनीतिक र सैनिक अर्थ – सन्दर्भ केही राख्दैन थियो ।

नेपालसँग सताब्दियौं लामो सम्बन्ध रहेको, इतिहासको लामो कालखण्डमा स्वतन्त्र हैसियतमा समेत रहेको तिब्बतलाई चीनले सैनिक बल प्रयोग गरेर नियन्त्रणमा लियो,  नेपालले त्यसलाई स्वीकार गर्‍यो।

तिब्बतलाई उसको अभिन्न अङ्ग मान्यो ।

पोप पछिका विश्वका सर्वाधिक सम्मानित धार्मिक नेता दलाई लामालाई उनको जीवनको यौटै धार्मिक अभिष्ट लुम्बिनीको भूमिमा आएर भगवान बुद्धको पाउ ढोग्ने  अनुमति नेपालले दिएको छैन ।

नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन हरसम्भव गरेको छ ।

नेपाल चीनको सामना गर्ने रत्तिभर सामर्थ्य राख्दैन, त्यो चीनलाई थाहा छ ।

नेपालमै आएर भारत, जापान वा अमेरिकालाई चेतावनी दिन पर्दैनथ्यो, उनीहरू तर्फ लक्षित थियो भने पनि कुनै असम्बन्धित तेस्रो मुलुकमा गएर त्यस्तो धम्की दिइन्न ।

धेरै अघि जानु परेन, अस्ती जुलाई १मा चीनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको शत वार्षिकी समारोहमा राष्ट्रपति सी जिन्पिङ्गले टाउको फुटाइदिने धम्की दिए ।

चिनियाँ कूटनीतिमा हस्तक्षेप, धम्की र दवाव रणनीतिको बाहुल्य देखिन थालेको स्पष्ट देख्न सकिन्छ ।

उसको सफ्ट पावरको भण्डारमा सी जिन्पिङ्ग विचारधाराको हालीमुहाली देखिन थालेको प्रमाण तत्कालीन सत्तारूढ नेकपाले सो सम्बन्धमा लिएको प्रशिक्षण आम नेपालीको स्मृतिमा ताजै छ ।

आक्रमकता, दवाव र हस्तक्षेपको नयाँ चीनियाँ कूटनीति 

यसबाट तीन कुरा बुझ्न सकिन्छ — एउटा चीन आफ्नो बढ्दो आर्थिक र सैनिक सामर्थ्यको बलमा विश्वमा आफ्नो धाक र प्रभाव जमाउन चाहन्छ ।

अर्को, ऊ भित्र भित्रै असुरक्षाको भावनाले ग्रस्त छ ।

तेस्रो, देङ्ग सियाओ पेङ्ले बाँधिदिएको दुई कार्यकालको व्यवस्थालाई रद्द गरेर माओ जस्तै आजीवन सत्ता र शक्तिमा रहने महत्वाकांक्षाको औचित्य सावित गर्न पनि सीलाई आन्तरिक र वाह्य शत्रु तयार गरिरहनु पर्दछ – त्यो कम्युनिस्टहरूको चिन्तन संस्कृतिकै अङ्ग हो ।

बढ्दो आर्थिक र सैनिक सामर्थ्य, बढ्दो असुरक्षाको भावना र चीनियाँ सत्ताको केन्द्र वरिपरी उत्पन्न हुने स्वाभाविक प्रतिष्पर्धाबाट जन्मिने चुनौतीहरूले चीनलाई आक्रामक महाशक्तिमा रूपान्तरण गर्दैगरेको बुझ्न सकिन्छ ।

अघिल्लो शृंखलामा चर्चा गरियो, लामो समयदेखि अमेरिकीहरू आफैँ अमेरिकी शक्ति र प्रभुत्वको अस्त र चीनको उदयबारे लेखिरहेका थिए, तर गएको फेब्रुवरी २५मा चीनको एउटा स्थानीय सरकारी समाचार माध्यममा चीनियाँ राष्ट्रपति सी जिन्पिङ्को पूर्वका मुलुकहरूको उदय र पश्चिमा मुलुकहरूको अस्त भइरहेको  एउटा भाषणको उद्धरण प्रकाशित भयो । ()

बन्द कोठा भित्रको सो कार्यक्रममा राष्ट्रपति सी जिन्पिङले वर्तमान विश्वका तमाम अराजकताको सवैभन्दा ठूलो श्रोत अमेरिकालाई उल्लेखगरे र अमेरिकालाई चीनको विकास र सुरक्षाको सवैभन्दा ठूलो खतरा भएको दावी गरे । (

सीको उक्त भनाईपछि त्यस्तो कुरा गर्ने उनी निकट साना -ठूला नेताहरू र सरकारी अधिकारीहरूको लर्को नै लाग्यो ।

तर अझै पनि पश्चिम चीन भन्दा धेरै कुरामा सशक्त र शक्तिशाली भएकोले त्यसलाई सामना गर्न धेरै बाँकी रहेको पनि सीले उक्त अवशरमा बताएका थिए ।  ()

अमेरिकीहरू वर्षौंदेखि त्यही कुरा गरिरहेका थिए, लेखिरहेका थिए तर जव सी जिन्पिङले सो कुरा गरे त्यसले वाशिंगटन र पश्चिमका राजधानीहरूमा एक किसिमको आक्रोश जन्माएको अनुभव उनीहरूका चीन नीति र आक्रामक अभिव्यक्तिहरूबाट प्रदर्शन हुन थालेका छन् ।

तर उनीहरू सहमत छन् कि चीन अमेरिकाको अवश्याम्भावी प्रतिद्वन्द्वी बन्ने सामर्थ्य आर्जन गरिरहेको छ र त्यस सम्वन्धमा दीर्घकालीन रणनीति अवलम्वन गरिरहेको छ ।

पेकिङ् विश्वविद्यालयका अन्तर्राष्ट्रिय र रणनीतिक मामिलाका एक विख्यात विज्ञ अनुसार अधिकांश चीनियाँ पर्यवेक्षकहरूको दृष्टिमा चीनको त्रास र इर्ष्याका कारण अमेरिका चीनलाई छेक्न हरसम्भव गरिरहेको छ चीनियाँ प्रभुसत्तामाथिको सवैभन्दा ठूलो खतरा भनेकै लामो समयदेखिको अमेरिकी हस्तक्षेप हो ()

गत मार्चमा चीन र अमेरिकावीच सम्पन्न अलास्का वार्तामा चीनियाँ टोलीका प्रमुख, पूर्व विदेशमन्त्री र चीनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख अर्थात् चीनमा वैदेशिक मामिलामा राष्ट्रपति सी जिन्पिङ् पछिका दोस्रा व्यक्ति र चीनका अत्यन्त अनुभवी विख्यात कूटनीतिज्ञ याङ् जेछेको अमेरिकाप्रतिको अत्यन्त आक्रामक र एक किसिमले गैर कूटनीतिक टिप्पणी एउटा तत्कालको आवेग मात्र थिएन । राष्ट्रपति सीको माथि उल्लेख टिप्पणीको एक किसिमको पुनर्व्याख्या थियो त्यो ।

स्वयम् चीनियाँ कम्युनिस्ट पार्टीकै प्रकाशन ग्लोबल टाइम्सले त्यसलाई कूटनीतिकरूपमा अस्वाभाविक बताए पनि त्यसले अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक प्रभाव उत्पन्न गरेको र त्यसलाई चीन- अमेरिका वीचको द्वन्द्वको परिणाम समेत उल्लेख गर्यो । ()

अलि अघि फर्कौं, डिसेम्बर ९, २००९मा ग्लोबल ल्याङ्गेज मनिटरले सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदन अनुसार यो सताव्दीको पहिलो दसकको सवैभन्दा ठूलो र महत्वपूर्ण समाचार नै चीन थियो ।

चीनियाँ र सबै अन्तर्राष्ट्रिय समाचार मध्यमहरू र दुनियाँभरका विज्ञ र विश्लेषकहरूको ध्यान खिचेको उक्त प्रतिवेदन अनुसार ग्लोबल ल्याङ्गेज मनिटरले संसारभरका ५० हजार भन्दा बढी समाचार माध्यमहरूको अनुगमन गर्दा अमेरिकाको ट्विन टावरमाथिको आक्रमण, इराक युद्ध, अमेरिकी इतिहासमा पहिलो काला जातीका व्यक्ति बाराक ओबामाको राष्ट्रपतिको पदमा भएको विजय र ब्रिटिस राजपरिवारको विवाह समारोह जस्ता समाचारहरू भन्दा चीनको उदय सम्बन्धी समाचारहरू बढी पढिए ।

अमेरिकीहरू जे लेख्छन् र भन्छन् -त्यसैलाई प्रमाण मान्ने विश्वमा अमेरिकाको पतन र चीनको उदय सम्बन्धमा अमेरिकी लेखक र विश्लेषकहरूले नै बढी कलम चलाएको, अमेरिकी थिङ्क ट्यांकहरूले अध्ययन र विश्लेषण गरेको र उनीहरूकै समाचार माध्यमहरूमा त्यस सम्बन्धी समाचारहरू आउने गरेपछि विश्वले नपत्याउने कुरै भएन ।

साथसाथै के पनि हो भने चीनभन्दा अमेरिकापछि पर्दैछ भन्ने कुरा जबसम्म कुनै अमेरिकीले भन्दैन, संसार त्यसलाई मान्दैन,पत्याउँदैन ।

नयाँ र शक्तिशाली भारत उदायो भनेर पनि उसैले भन्नु पर्दछ ।

उदीयमान र शक्तिशाली बन्दै गएको भियतनाम र इन्डोनेसियाको परिचय उसैले विश्वलाई गराउनु पर्दछ ।

यो पनि विश्वमा अमेरिकी प्रभुत्वको एउटा प्रमाण हो ।

अमेरिका विश्वको नेताहो भन्ने कुरालाई पनि यसले सावित गर्दछ ।

निश्चय नै, समृद्ध हुँदै गएको चीनको अर्थतन्त्र, उसको आर्थिक सफलताले विश्वव्यापीरूपमा उसले प्रभाव आर्जन गरिरहेको छ ।

चीनका विराट उद्योग, कल कारखानाहरूकालागि आवश्यक विशाल परिमाणका कच्चा पदार्थहरूकोलागि र त्यस्तै परिमाणका आफ्ना औद्योगिक उत्पादनकालागि संसारका सवै कुनाका बजारमा आफ्नो पहुँच सुनिश्चित गर्न त्यहाँ नियन्त्रण र प्रभुत्व स्थापनागर्नु पनि चीनको  राष्ट्रिय स्वार्थ र सरोकारको विषय बन्नपुगेको छ ।

कच्चा पदार्थको बजार र उत्पादित सामान बेच्ने बजार बेगर चीनको अर्थतन्त्र स्थीर र उन्नत हुन सक्दैन ।

ती मुलुकहरूसम्म पुग्ने र फर्किने रेल, सडक र समुद्री मार्गहरूमा आफ्नालागि कच्चा पदार्थ र व्यापारिक सामग्री ल्याऊ-लैजाऊ गर्दा आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीलाई सामना गर्न पनि उसले ठाँउ ठाँउमा सुरक्षा चौकी र सैन्य अड्डा स्थापना गरिरहेको छ ।

त्यसैले स्वाभाविक रूपमा चीनको आर्थिक सफलतालाई टिकाउन र अझ उचाईमा लैजान उसले आफ्नो राजनीतिक प्रभाव र हस्तक्षेप क्षमता आर्जन र प्रयोग गर्दछ , ती दुवैलाई बल र भर दिन र तिनको सुनिश्चितता निर्माण गर्न एउटा बलियो सैन्य शक्ति उसको आवश्यकता बन्न पुगेको छ ।

सैनिक र आर्थिक शक्तिले मात्र दिँदैन विश्व व्यवस्थाको नेतृत्व 

चीनको आर्थिक सामर्थ्यसँग कसैको गुनासो थिएन, अझ अमेरिका, युरोप र जापान जस्ता मुलुकहरू आफ्ना आर्थिक र प्राविधिक लगानीबाट चीनको आर्थिक कायापलट गराउन उत्साहित र प्रतिवद्ध रहेकै हुन् ।

परिणाम चीन संसारको सवैभन्दा ठूलो उपभोक्ता सामग्रीको उत्पादक र निर्यातक राष्ट्र बन्न पुग्यो ।

बेल्ट रोड विश्वभर विस्तारित बजारमा आफ्ना उत्पादनहरू पुर्याउने उसको विराट परियोजना हो ।

अर्थात् उसको अर्थतन्त्रको प्राण वाह्य बजारमा अडिएको छ ।

बाहिरका बजारले मात्रै उसका आर्थिक हित र सरोकारको सुरक्षागर्ने र त्यसले मात्र उसको राजनीतिक व्यवस्थालाई स्थिरता दिने सन्दर्भमा बेल्ट रोडको औचित्य देख्न -बुझ्न सकिन्छ ।

सुगम बजार उपलव्ध नभए आफ्नो अर्थतन्त्रलाई जीवन्त राख्न नसकिने र त्यो गर्न नसकिए आन्तरिक बजारको भरमा चीनियाँ राजनीतिक व्यवस्था टिकाउन सम्भव नभएकोले चीन अन्य मुलुकको आन्तरिक राजनीतिमा चासो राख्न र भूमिका रोज्न र ती मुलुकमा अन्य राष्ट्रको भूमिका खोस्न पनि थालेको छ ।

यसरी चीनको महत्वाकांक्षा आर्थिक महाशक्तिमा मात्र सीमित नभएर त्यसले व्यापक राजनीतिक र रणनीतिक आयाम बोकेको र चीन त्यसमा सफल भएमा दोस्रो विश्व युद्धपछिको पश्चिमी प्रभुत्वको विश्व व्यवस्था र विश्वव्यापी रूपमा ग्राह्य उदार प्रजातान्त्रिक प्रणालीमाथि घातक प्रहारगर्ने कुरालाई अमेरिका लगायतका पश्चिमी मुलुकहरू, जापान, भारत, अस्ट्रेलिया जस्ता मुलुकहरूले बुझेर नै उनीहरूले बेल्ट रोड परियोजना सम्बन्धी नीति र दृष्टिकोण तय गरेको बुझ्न सकिन्छ ।

हालैको जी ७को बैठकले यसै कुरालाई मध्यनजर गरेको स्पष्ट देखिन्छ । (१०)

त्यसैले आन्तरिक राजनीति, अर्थतन्त्र, विदेश नीतिका कतिपय सवालमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनवीच मात्र नभएर डेमोक्रेटिक र रिपब्लिकन पार्टीमा, अमेरिकी काङ्ग्रेसमा र वौद्धिक समुदायमा व्यापक मतभेद छ तर चीनलाई हेर्ने र चीनसँग जोडिएका सवालमा उनीहरू सवै एकमत छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकै चीन नीतिलाई र वर्तमान राष्ट्रपति जो बाइडेनले अनुशरण गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनको चीन नीति सम्वन्धी पहिलो कार्य चीनियाँ चुनौतीलाई सफलतापूर्वक सामनागर्ने उद्देस्यले अमेरिकी रक्षा मन्त्रालयमा एउटा चीन सम्वन्धी कार्यदल गठन गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले आफ्नो कार्यकालको शुरुदेखिनै सिन्जियाङ्, हंगकंग र ताइवान मामिलामा चीनियाँ गतिविधि विश्वमा स्थीरता र विधिमा आधारित विश्व व्यवस्थाकालागि चुनौती रहेको बताउँदै आएकाछन् (११

सन् २००४मा अमेरिका, जापान, भारत र अस्ट्रेलिया गरेर चार मुलुकहरूले अस्तित्वमा ल्याएको क्वाड्रिलेटरल सेक्युरिटी डायलग अर्थात क्वाड आज आएर करीव करीव चीन विरूद्ध एसियन नाटोको स्वरूप ग्रहण गरिसकेको छ ।

क्वाड संरचना यो सताव्दीको निर्णायक महत्वको भू-राजनीतिक घटना बन्नेबारे विज्ञहरू एकमत छन् ।

स्मरणीय छ, दोस्रो विश्व युद्धपछि सन् १९४९मा तत्कालीन सोभियत सङ्घ विरूद्ध अमेरिका र पश्चिम युरोपका मुलुकहरूले उत्तर अट्लान्टिक सन्धि संगठन ( नाटो ) गठनगरेका थिए ।

र नाटो स्थापनापछिको आजसम्मको सात दशक लामो युरोपको इतिहास नाटोको सेरोफेरोमा छ ।

आज अमेरिका युरोप र एसियामा चीन विरूद्ध गठबन्धन निर्माण गरिरहेको छ ।

त्यसले विश्वव्यापी चर्चा कमाइरहेको छ ।

अर्को विचारणीय कुरो, अमेरिका सन् १८७० देखि विश्वको सवैभन्दा ठूलो अर्थतन्त्र रहिआएको छ ।

सय वर्ष भन्दा बढी भयो, पश्चिमी मुलुकहरूको पतनको बारेमा लेख्न थालिएको, लेखिएको लेखियै छ । (१२)

मूख्य कुरो, अमेरिकी विश्व नेतृत्वको पतनको बारेमा लेख्ने मूलत: अमेरिकीहरू हुन् ।

अर्कोतिर, अमेरिकी विश्व नेतृत्व यथावत छ, रहन्छ र चुनौती विहीन छ भनेर पनि अर्काथरी अमेरिकी विद्वानहरू र लेखकहरू उत्तिकै बलिया र वजनदार विचार,तथ्य र तर्क प्रस्तुत गरिरहेका छन् । (१३)

प्रजातन्त्र र स्वतन्त्रताका मूल्य र विश्वाससँग जोडिएको उन्नत, समृद्ध र सुरक्षित विश्व निर्माणको अमेरिकी प्रतिवद्धताले संसारभर शिक्षा, ज्ञान, विज्ञान र प्रविधिमा सवैको पहुँच निर्माण गरेको र त्यसबाट भूमण्डलका धेरै राष्ट्रहरू लाभान्वितभई विकास र समृद्धि आर्जन गरे ।

अमेरिकाको विकास र समृद्धि अन्य धेरै मुलुकको विकास र समृद्धिसँग जोडिएको र ती मुलुकको विकास र समृद्धि फेरी अमेरिकाको समृद्धिसँग जोडिने पारस्परिकताको यो प्रक्रिया स्वयम् अमेरिकी हित, रूची, सरोकार, लक्ष र रणनीति समेत रहेको सन्दर्भमा अन्य मुलुकहरूको उदय अमेरिकाको अवनति या पतन हुनै सक्दैन ।

चीन र भारत जस्ता मुलुक अमेरिकाका उच्च मूल्यका अत्याधुनिक प्रविधि प्रयुक्त बस्तुका ठूला बजार हुन् ।

उदाहरणकालागि चीनले जेट विमान उत्पादन गर्दछ, नेपाल जस्ता मुलुकलाई वेच्दछ, तर ऊ आफू अमेरिका वा युरोपमा निर्मित बोइङ्ग वा एयर बस नै खरीद गर्दछ ।

चीनियाँहरूको रोजाई एपलको मोबाइल र ल्यापटप नै हुन्छ ।

अमेरिकाको विमान, मोबाइल र ल्यापटप किन्ने क्षमताका चीनियाँहरूको सङ्ख्या बढ्दा अमेरिका पनि थप समृद्ध हुन्छ ।

माओकालीन चीन गरीव थियो, त्यसैले ऊ अमेरिकाको समृद्धिको लागि सहयोगी हुन सक्दैन थियो ।

तर आजको समृद्ध चीन अमेरिका र युरोपका मुलुकहरूलाई थप समृद्धि प्रदान गर्ने हैसियतमा छ ।

तर विश्व व्यवस्थामा अमेरिका र पश्चिमी मुलुकहरू निर्णायक हैसियत मै छन् ।

निश्चित रूपमा चीनको इतिहास, आकार, जनसँख्या, प्राविधिक क्षमता, साधन र स्रोत सवै कुराले ऊ विश्व शक्ति बन्ने सामर्थ्य राख्दछ ।

बढ्दो आर्थिक र सैनिक सामर्थ्य, बढ्दो असुरक्षाको भावना र चीनियाँ सत्ताको केन्द्र वरिपरी उत्पन्न हुने स्वाभाविक प्रतिष्पर्धाबाट जन्मिने चुनौतीहरूले चीनलाई आक्रामक महाशक्तिमा रूपान्तरण गर्दैगरेको बुझ्न सकिन्छ । 

के ले दिएको छ अमेरिकालाई विश्व व्यवस्थाको नेतृत्व ?

तर के विचारणीय छ भने विश्व शक्तिको रूपमा, विश्व व्यवस्थाको नेतृत्व प्राप्ति गर्नु अगाडि अमेरिकाले त्यस्तो कुनै लक्ष राखेर अघि बढेको थिएन ।

प्रथम र दोस्रो विश्व युद्ध अवधि र युद्धपछिको विश्वको सामाजिक र आर्थिक सङ्कटलाई सामनागर्न,राहत वितरण, व्यवस्थापन र मानव कल्याणको पक्षमा शुद्ध मानवीय भावनाले उसले गरेको सहयोगको नैतिक पूँजीको परिणाममा उसले सहज र स्वाभाविक रूपमा विश्व व्यवस्थाको नेतृत्व प्राप्त गरेको हो । (१४)

अर्थात आर्थिक र सैनिक सामर्थ्य आर्जन गरेर क्षेत्र र विश्वमा प्रभुत्व स्थापना गर्न सकिन्छ, भय र त्रास र प्रभुत्व स्थापना पनि गर्न सकिन्छ तर  विश्व व्यवस्थाको नेतृत्व गर्न सकिन्न किन कि नेतृत्व भनेको साझा हित, सरोकार, सम्मान, मूल्य र विश्वासमा खडा भएको नैतिक शक्ति पनि हो ।

डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिज सम्बद्ध प्राज्ञ डा. ल्युक पाटेको हालै प्रकाशित एक बहुचर्चित पुस्तक (१५) अनुसार एसिया, अफ्रिका जताततै चीनियाँ उपस्थितिसँगै त्यहाँका प्राकृतिक साधन र स्रोतमाथि नियन्त्रण स्थापनाको क्रममा उसका हैकमी अभ्यास र व्यवहार अनि फरक राजनीतिक सामाजिक र आर्थिक मूल्य र सुरक्षा चुनौतीहरूका कारण ती मुलुकहरूमा चीन विरूद्ध आक्रोश र असन्तोष पनि उत्पन्न गर्ने गरेको छ ।

ल्युक पाटेको पुस्तक भन्दा अलिअघि प्रकाशित सिंगापुरका विख्यात कूटनीतिज्ञ र लेखकको पुस्तक (१६मा उनले चीनले अन्तर्राष्ट्रिय वौद्धिक सम्पत्ति हस्तान्तरण/स्थानान्तरणमा गर्ने गरेको जबर्जस्ती, त्यस्तो सम्पत्तिको चोरी, साइबर आक्रमण, द्विपक्षीय र वहुपक्षीय सन्धि , सम्झौताको उल्लङ्घन र आफ्नो आर्थिक सफलताजन्य शक्ति  र सामर्थ्यबाट उत्पन्न अहङ्कारले अमेरिकी उद्यमी र व्यापारिक समुदायमा असन्तोष र आक्रोश बढाएको छ ।

त्यसैगरी दक्षिण चीन सागरमा आफ्नो हेपाहा र मिचाहा प्रवृत्ति प्रदर्शन गरेर चीनले क्षेत्रमा पनि अविश्वास र तनाव बढाएको र त्यसले अन्तत:चीनको भावी सम्भावनालाई क्षति पुर्याउने छ । (१७) उनले चीनलाई विस्तारवादी राष्ट्र त भनेका छैनन् तर दक्षिण चीन सागरमा उसको विस्तारवादी चरित्रलाई प्रस्तुत गरेका छन् । (१८)

महबुबानी अमेरिकाप्रति पनि त्यत्तिकै आक्रामक छन् । चीन जस्तो विशाल र क्षमता र सम्भावना युक्त मुलुकसँग भूराजनीतिक पौंठेजोरी खेल्दा त्यसको दीर्घकालीन असरबारेमा राम्रो गृहकार्य नगरिएकोले त्यसले अमेरिकाको शक्ति र वर्चस्वमा असर पुग्ने उनको निष्कर्ष छ  (१९)

जोनाथन फेन्बीले आफ्नो एउटा चर्चित पुस्तकमा (२०) समसामयिक चीनको समग्र राजनीतिक, आर्थिक,कूटनीतिक , रणनीतिक र सैनिक परिवेश र उसका नीतिहरूको समीक्षा गर्दै निष्कर्षको रूपमा पुस्तकको अन्तिम अध्यायमा (२१)

चीनको विश्व व्यवस्थाको नेतृत्व गर्ने महत्वाकांक्षालाई सम्वोधन गर्न अनुकूल क्षेत्रीय परिवेश नभएको र उसको कूटनीतिक, रणनीतिक, सैनिक क्षमता र प्रभाव शक्ति ज्यादै सीमित भएको उल्लेख गरेकाछन् ।

ब्लुमबर्गमा डेभिड फिक्लिङ्गपनि त्यस्तै दावी गर्दछन् (२२) स्मरणीय छ–फिक्लिङ्गले एउटा थिङ्क ट्यांकलाई उद्धृत गर्दै सो थिङ्कट्यांकले  २०१०मा नै  सन् २०२० सम्ममा चीनले अमेरिकालाई उछिन्ने र २०३० सम्ममा चीनको अर्थतन्त्रको आकार अमेरिकाको भन्दा दोब्बर ठूलो हुने दावी गरेको उल्लेख गरेका थिए ।

ब्रिटिस र जापानी थिङ्क ट्यांकहरूले २०२८ र २०२५ सम्म मै चीनले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने पूर्वानुमान गरेका थिए ।

अमेरिकासँग यसरी चीनलाई गरिने तुलना सम्बन्धी पूर्वानुमानबारे सावधान रहनु पर्ने र अमेरिकालाई उछिन्ने भन्ने कुरो अत्यन्त लामो र सकस पूर्ण यात्रा हुनेबारे  स्वयम्  चीनियाँ कम्युनिस्ट पार्टीको प्रकाशन ग्लोबल टाइम्सले आफ्नो एउटा सम्पादकीयमा उल्लेख गरेको छ । (२३)

त्यसकारण ग्लोबल टाइम्स लेख्दछ- अमेरिकासँग रणनीतिक मूठभेडका सम्भावनालाई आउन नदिन चीनले अत्यन्त सावधानीपूर्वक रणनीतिक विनम्रताको नीति अवलम्वन गर्नुपर्दछ । (२४)

पूर्वानुमान र भविष्यवाणीहरू यस्तै हुन् -अमेरिकाको विख्यात हड्सन इन्स्टिच्युटका सँस्थापक हर्मन काहनले आधा सताव्दी अघि प्रकाशित आफ्नो पुस्तकमा (२५) मा १९९० सम्ममा नै जापानको प्रतिव्यक्ति आय अमेरिकाको बराबरी हुने र सन् २०२० सम्ममा जापानको कूल गार्हस्थ उत्पादन अमेरिकाको भन्दा बढी हुने पूर्वानुमान गरेका थिए । (२६)

अर्थतन्त्रको आकारको कुरा गर्ने हो भने हाल चीनको अर्थतन्त्रको आकार १४ हजार अर्व डलर बराबर र अमेरिकाको २१ हजार अर्व डलर बरावर छ ।

प्रति व्यक्ति आयको हिसावले चीनको १० हजार डलर र अमेरिकाको ६५ हजार डलर बराबरी छ ।

अर्थतन्त्रको आकारको दृष्टिले राज्यको रूपमा चीन शक्तिशाली छ, उसको अर्थतन्त्र अमेरिकाको भन्दा एक तिहाई मात्रै सानो हो, तर अमेरिकाको भन्दा चार दोब्बर ठूलो जनसँख्यामा अमेरिकी अर्थतन्त्रको तीन भागको दुई भाग आकारको आयलाई भाग लगाउँदा वास्तवमा अमेरिकालाई उछिन्न सजिलो छैन ।

फेरि पनि अर्थतन्त्रको आकारको दृष्टिले चीन अमेरिकालाई उछिन्न सक्दछ भन्ने मानौ रे, सैनिक शक्तिको हिसावमा पनि सक्ला, सैन्य सामर्थय्को दृष्टिले सोभियत सङ्घ पनि अमेरिकाको टक्कर मै थियो ।

अमेरिकाका शक्ति र चीनका सीमा र चुनौती

तर ,अमेरिकाको शक्ति भनेको त्यहाँका विश्व विख्यात विश्व विद्यालयहरू, स्कूल र कलेजहरू, प्रयोगशालाहरू, अनुषन्धान केन्द्रहरू र थिङ्क ट्यांकहरूहरू हुन् ।

ती कुनै भवन, पुल वा सडक जस्तै दुई चार हप्ता वा वर्षमा तयार हुन सक्दैनन्।

ऊ सँग वैज्ञानिक र विश्वव्यापी प्रभाव भएका सिएनएन, न्युयोर्क टाइम्स,टाइम, फरेन अफियर्सहरू हुन् ।

उसको राजनीतिक व्यवस्था, संसद, न्यायपालिका हुन् । अभाव र कमीहरुका बाबजुद प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताका मूल्यहरूप्रतिको उसको प्रतिवद्धता हो ।

उसको भाषा र संस्कृति हो ।

उसका ब्राण्डहुन् , अमेरिकी ब्राण्ड र अमेरिकी उत्पादन भन्ने बित्तिकै एउटा विशिष्ट गुण र स्तरको परिचय हो ।

सवै हावापानी, मौसमदेखि अत्यन्त प्रतिकूल भूमि र जलक्षेत्रमा रण कुशल सेना अत्याधुनिक अश्त्र-शस्त्र प्रणाली र ससारको हरेक कुनामा जतिखेर पर्यो उतिखेर आफ्नो सेनालाई उपस्थित गराउने र तिनलाई तैनाथ राखिरहने उसको क्षमता हो ।

अत्यन्त मित्रवत छिमेकी र सुरक्षित र विवादरहित सीमा हो । दुवैतर्फ विस्तारित हजारौँ किलोमिटर लामो सुरक्षित समुद्र हो ।

तर चीनका वरिपरी भारत, जापान, दक्षिण कोरिया जस्ता संसारका एकसे एक आर्थिक र सैनिक शक्ति छन् ।

छिमेकका र निकटका भारत, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, भियतनाम जस्ता शक्तिशाली आर्थिक र सैनिक सामर्थ्य भएका मुलुकहरूसँगका सम्बन्धमा गम्भीर विवाद र समस्या छन् ।

त्यसैले आफ्नै क्षेत्रमा बलिया सैन्य शक्तिहरूबाट घेरिएको चीनलाई त्यो घेरो छिचोलेर अमेरिकासँग भिड्ने सामर्थ्य जुटाउन सहज छैन ।

प्राविधिक उत्कृष्टताको दृष्टिले अमेरिका, युरोप र जापानका हतियार र युद्ध सामग्रीहरुको तुलनामा चीनका त्यस्ता सामग्रीहरू दरिन नसक्नेबारे पनि विज्ञहरू एकमत छन्।

अनि अमेरिकाको शक्ति भनेको संसारका ठूला र शक्तिशाली अर्थतन्त्र सहित  ठूला सैन्य शक्तिहरूसँगको बलियो गठबन्धन सञ्जाल हो , उनीहरूसँगको समान मूल्य, स्वार्थ र विश्वासमा आधारित रणनीतिक साझेदारी हो ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोश र विश्व व्यापार संगठन हुन् ।

त्यसैले उसलाई विश्व व्यवस्थाको नेतृत्व दिएको छ ।

अमेरिकालाई उछिन्ने भनेको यी सवै क्षेत्रमा पनि उछिन्ने सामर्थ्य आर्जन गर्नु हो ।

एकातिर हंगकंग, ताइवान, तिब्बत र सिन्जियाङ्का समस्या छन् ।

बुझ्नु पर्दछ,मुलुकका सवैजसो वाह्य चुनौतीका स्रोत आन्तरिक हुन्छन् र वाह्य शक्तिहरूले पनि त्यसैलाई दोहन र शोषण गरेर उक्त मुलुकमाथि आफ्नो रणनीतिक स्वार्थ थोपर्ने हुन् ।

यो सत्यलाईलाई पनि चीनियाँ नेतृत्वले नबुझ्ने कुरो भएन, त्यसैले उनीहरूका कठोर शव्द र भाषा चीनको आन्तरिक समस्याका कारण उत्पन्न भएका पनि हुन सक्दछन् ।

आन्तरिक असन्तोषलाई सामना गर्ने प्रशिक्षण र अनुभव नभएको चीन जस्ता मुलुक मा बिद्रोह र असन्तोषको मोडेल भनेको येल्त्सिन मोडेल हो र समाधान भनेको तियाननमेन दमनको मोडेल मात्रै हो ।

यौटै व्यक्ति आजीवन जस्तो सत्ता र शक्तिमा रहिरहने र खुला रूपमा जनताले आफ्नो मत अभिव्यक्त गर्न नपाउने व्यवस्था बाहिर जतिसुकै बलियो देखिए पनि आन्तरिक रूपमा ऊ कमजोर नै रहेको हुन्छ ।

एउटा त आर्थिक शक्ति र क्षमताको मापन र तुलनाको वस्तुगत आधारको सवाल छँदै छ ।

अर्को, चीनको आयातित कच्चा पदार्थ र  निर्यात व्यापारमा आधारित  विराट औद्योगिक व्यापारिक लाभहरू वाह्य बजारको मागमा र बजारमा नयाँ प्रतिष्पर्धी प्रवेशगर्ने बित्तिकै उथलपुथलको शिकार हुन पुग्दछन् ।

जस्तो तयारी पोशाकको बजारमा बंगलादेश र भियतनामको सशक्त प्रवेश हुने बित्तिकै चीनको त्यस्तो बजार निकै सङ्कुचित हुन पुग्यो ।

तेस्रो, चीनको सवैभन्दा ठूलो चिन्ता भनेको इन्धन सुरक्षा हो ।

भारत र अमेरिकाको सैनिक र रणनीतिक प्रभुत्वको मलक्का जलमार्गको बाटो भएर इन्धन आयात गर्नु पर्ने वाध्यताका कारण चीन-अमेरिका सम्बन्धमा कुनै ठूलै सङ्कट उत्पन्न हुने बित्तिकै चीनका रणनीतिक विकल्पहरू सङ्कुचित हुन पुग्दछन ।

अन्त्यमा दुई महत्वपूर्ण कुरा – एक, अमेरिका कुनै धर्म वा राष्ट्रवादको नाउँमा जन्मिएको राज्य होइन, ऊ स्वतन्त्रता र प्रजातन्त्रको मूल्यमा स्थापना भएको संसारको पहिलो मुलुक हो ।

जुन मुलुकको स्थापना नै कुनै वैचारिक आस्था र निष्ठाले गर्यो त्यो आस्था र निष्ठा आज आएर संसारका सवैजसो मुलुकको साझा आस्था बन्न पुगेको छ । त्यसकारण अमेरिकाका हजारौँ अभावहरूका बाबजुद संसारका करोडौँ करोड़ जनताको आशा र विश्वासको बल अमेरिकाको पक्षमा छ ।

चीनका वरिपरीका भारत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत युरोपका शक्तिशाली र समृद्ध मुलुकहरूको चीनसँगको व्यापारिक स्वार्थले अमेरिका सँगको साझा विचार र मूल्यलाई अवमूल्यन गर्न दिंदैन ।

त्यसैले जव कुनै बेला चीन अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको विकल्प दिने अवस्थामा आइपुग्छ त्यतिखेर माथि उल्लेखित सबै मुलुक चीन विरूद्ध उभिनेछन् र यी सवैकोसामूहिक शक्तिलाई सामना गर्ने क्षमता चीनसँग हुनेछैन ।

सम्भवत यही कुरालाई ग्लोबल टाइम्सको माथि उल्लेखित सम्पादकीयले सङ्केत गरेको हो ।

यस श्रृंखलाका अघिल्ला लेखहरु यहाँ पढ्नुहोस्:

१. चीन र अमेरिकाः तनाव र द्वन्द्वको त्यो चरणदेखि यो चरणसम्म

२. अफगानिस्तान र सिञ्जियाङ्को भूराजनीतिमा चीन र अमेरिका

३. युद्ध उन्मुख चीन र अमेरिका

श्रोत तथा सन्दर्भ सूची

() दी न्यु योर्कर ( एडम गोपनिक) लेटर फ्रम फ्रान्सदी ह्युमन बम , दी सार्कोजी रेजिम बिगिन्स, अगस्ट २७, २००७

() दी सिडनी मर्निङ्ग हेराल्ड ( पिटर हार्टचर ) रुड अफ़र्स अ चिके लेसन इन सफ्ट पावर, सेप्टेम्बर ७, २००७.

() डेभिड डेजोन कर्टिन: अ लाइफ, हार्पर कोलिन्स, २००६

() जोसुवा कुर्लन्जिकचार्म अफ़ेन्सिभ : हाउ चाइनाज सफ्ट पावर इज ट्रान्स फर्मिंङ्ग दी वर्ल्ड, अ न्यु रिपब्लिक बुकयेल युनिभर्सिटी प्रेस, २००७.

() क्विलियान न्यूज डट कम, (हे बिन) अ स्पीच एट दी स्पेसल सेमिनार फर दी काउन्टी लेभल लिडर्स ……सेन्ट्रल कमिटी अफ दी पार्टी फेब्रुवरी २५, २०२१

() दी न्युयोर्क टाइम्स (क्रिस बक्ले). ‘दी इस्ट इज राइजिङ्‘: सी म्याप्स आउट चाइनाज पोस्ट कोभिड एस्सेन्ट मार्च ३, २०२१.

() दी न्युयोर्क टाइम्स (क्रिस बक्ले) ऐजन

() फरेन अफियर्सजुलाईअगस्ट २०२१ अङ्कक्यान चाइना किप राइजिङ्ग अन्तर्गत वाङ् जिसीदी प्लट अगेन्स्ट चाइना

() ग्लोबल टाइम्सचाइनाउल्फ वेरियर डिप्लोमेसीइन अलास्का इम्प्रेसेज दी वर्ल्ड; बिहाइन्ड इज दी वेस्टइस्ट ब्याटल्स : अब्जर्भर्स, मार्च २५, २०२१.

(१०) निक्के एसिया ( रह्यन्नोन बार्ट्लेट्इम्देगवा) –जी ७ अग्रिज अन इन्फ्रास्ट्रक्चर प्लान टु काउन्टर बेल्ट रोड, जुन ११, २०२१ र ऐजन (अलेक्स फाङ्), बाइडेन पुसेज बेल्ट एण्ड रोड राइभलब्लु डटविथ जापान एण्ड अस्ट्रेलिया,जुन ९, २०२१.

प्रोजेक्ट सिन्डिकेट ( माइकेल स्पेन्स)- हाउ ग्रेट पावर सुड कम्पिट ?,जुन २५, २०२१.

(११) निक्के एसिया (मिकियो सुगेनो र केन मोरियासु आदि) – इज चाइना अ थ्रेट टु वर्ल्ड अर्डर ? टु एनालिस्ट इक्स्प्लेइन, मार्च २५, २०२१.

(१२) ओस्वाल्ड स्पेङ्ग्लरदी डिक्लाइन अफ दी वेस्ट, १९१८, अंग्रेजी अनुवाद चार्ल्स फ्रान्सिस एट्किन्सन, अल्फ्रेड ए. नोफ, १९२६

पल केनेडीदी राइज एण्ड फल अफ दी ग्रेट पावर्स् : इकोनोमिक चेन्ज एण्ड मिलिटरी कन्फ्लिक्ट फ्रम १५०० टु २०००, अन्विन हाइम्यान, १९८८.

जोसेफ एस. नाईइज दी अमेरिकन सेन्चुरी ओभर ? पोलिटी प्रेस, २०१५

क्रिस्टोफेर जे फेट्वेससाइकोलोजी अफ अ सुपर पावर: सेक्युरिटी एण्ड डोमिनेन्स इन युएस फरेन पलिसी, कोलम्बिया युनिभार्सिटी प्रेस, २०१८.

जोसेफ एस. नाईदी प्याराडक्स अफ अमेरिकन पावर : ह्वाई दी वर्ल्डज वन्ली सुपर पावर कान्ट गो इट अलोन, अक्सफोर्ड युनिभर्सिटी प्रेस, २००२.

फरिद जकारियादी पोस्ट अमेरिकन वर्ल्ड, डब्ल्यु डब्ल्यु नोर्टन एण्ड कम्पनी, २००८.

माइकेल मन्डेलबौमदी फ्रुगल सुपर पावर : अमेरिकाज ग्लोबल लिडरसिप इन अ क्यास स्ट्र्याप्ड इरा, पब्लिक अफियर्स, २०१०.  

थोमस एल. फ्राइडमेन एण्ड माइकेल मन्डेलबुमद्याट युज्ड टु बी अस: हाउ अमेरिका फेल बिहाइन्ड इन दी वर्ल्ड…… पिकाडोर, २०११.

चार्ल्स केनीदी अप साइड अफ डाउन : ह्वाई दी राइज अफ दी रेस्ट इज गुड फर दी वेस्ट, बेसिक बुक्स, २०१३

स्टेवार्ट प्याट्रिकदी सोवरेन्टी वार्स : रिकन्सिलिङ्ग अमेरिका विथ दी वर्ल्ड,दी ब्रुकिङ्गस् इन्स्टिच्युसन, २०१८.  

क्लाइड प्रेस्टोविट्जदी वर्ल्ड टर्न्ड अप्साइड डाउन, येल युनिभर्सिटी प्रेस, २०२१.

(१३) माइकेल बेक्लेह्वाइ अमेरिका विल रिमेन दी वर्ल्डज सोल सुपर पावर, कोर्नेल युनिभर्सिटी प्रेस २०१८

गियोफ डायर–  दी कन्टेस्ट अफ दी सेन्चुरी : दी न्यू इरा अफ कम्पिटिसन विथ चाइना एण्ड हाउ अमेरिका क्यान विन, अल्फ्रेड ए. नफ, २०१४

रेबिका फ्राइडम्यान लिस्नर र मिरा र्याप हुपरएन ओपन वर्ल्ड: हाउ अमेरिका क्यान विन दी कन्टेस्ट फर ट्वेन्टी फर्स्ट सेन्चुरी अर्डर, येल युनिभर्सिटी प्रेस, २०२०.

(१४ ) युरेसिया रिभ्यु (केशवप्रसाद भट्टराई). हुवर, ट्रुमन , ट्रम्प एण्ड क्रस एटलान्टिक रिलेसन्स, अक्टोबर ८. २०१८ र  ऐजनऐजनअमेरिका इज सेफ वन्ली ह्वेन युरोप इज युनाइटेड एण्ड सेफ

(१५). हाउ चाइना लुजेज : दी पुस ब्याक अगेन्स्ट चाइनिज ग्लोबल एम्बिसन्स, अक्सफोर्ड युनिभर्सिटी प्रेस, २०२१.

(१६) किशोर महबुबानीह्याज चाइना ओन : दी चाइनिज च्यालेन्ज टु अमेरिकन प्राइमेसी, पब्लिक अफियर्स, २०२०.

(१७) महबुबानी, ऐजन पृष्ठ २५४८.

(१८ ) ऐजन पृष्ठ १०११०४.

(१९) ऐजन पृष्ठ४९७८

(२०) जोनाथन फेन्बीविल चाइना डोमिनेट दी ट्वेन्टी फस्ट सेन्चुरी (सेकेन्ड इडिसन) पोलिटी प्रेस, २०१७,इपब संस्करण,

(२१) ऐजन,च्याप्टर ५, पृष्ठ २७८३०९.

(२२) ब्लुमबर्ग (डेभिड फिक्लिङ्ग) –चाइना कुड आउट रन, मार्च ८, २०१९.

(२३) ग्लोबल टाइम्स , चाइना सर्पासिङ् युएस इन २०२८ इज फ़ेइन्ट प्रेइज, डिसेम्बर २७, २०२०.

(२४) ग्लोबल टाइम्स, ऐजन

(२५) दी इमर्जिङ्ग जापानिज सुपर स्टेट; च्यालेन्ज एण्ड रेस्पन्स, प्रेन्टिस हल, १९७०.

(२६) दी न्युयोर्क टाइम्स ( ताकासी ओका ) दी इमर्जिङ्ग जापानिज सुपरस्टेट, डिसेम्बर १३, १९७०.

असार २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्