सुदूरपश्चिमको भूस्वर्ग खप्तडका लोभलाग्दा छटा

तस्बिर: किशाेर खड्का

सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहार
हरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार ।
कहिले पाटन रंगीचंगी भुईंफूलले ढाकिन्छन्
कहिले पुरै पाटन हिउँ नै हिउँले छोपिन्छन् ।
कहिले सात थरी लालीगुराँस फुल्छन्
प्रकृतिका रंगहरु प्रकृतिकै काखमा डुल्छन् ।
जो पनि खप्तडको सौन्दर्यताले मोहित हुन्छन् ।।

माथि उल्लेख गरिएका हरफहरुले मात्रै केही सौन्दर्य वर्णन गरेको हो खप्तडको। जता हेर्‍यो उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू। पर्सियन कार्पेट ओछ्याएझैँ थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रङ्गीविरङ्गी पुतलीहरू। चारैतिर कलमी गरेझैँ लाग्ने घना जङ्गल र जङ्गलभित्र नौरङका लालीगुराँस। अनि, सुगन्धित जडीबुटी र हरिया घाँसे मैदान। डोटी, अछाम, बझाङ र बाजुराको संगम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन्।

त्यही हरियो पाटनमा लडीबुँडी खेलिरहुँझैँ लाग्छ। छिनमै वर्षात् र छिनमै हिउँ। केहीबेरमै मान्छे उडाउँलाझैँ हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम । अलि लम्किँदा छोइएला झैं लाग्ने हंसमुख हिमालहरू। खप्तड बाबाको कुटीको ठीक पछाडि उभिरहेझैँ देखिने अपि र सैपाल हरदम हाँसिरहेझैँ लाग्छ। खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो। क्षण–क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ।

खप्तडमा न्यूनतम पूर्वाधारको समेत विकास हुन सकेको छैन। यसैले, पर्यटकहरू कमै पुग्छन्। तर, खप्तडको विशेषता नै यसको दुरुह भूचित्र हो। यो अनकन्टार ठाउँमा छ, यसैले मानवीय क्रियाकलापबाट पनि अक्षुण्ण प्रायः छ। लाग्छ– यहाँ मानव द्वेष, लालच र भोकको कणहरू समेत छैनन्।

प्राकृतिक सौन्दर्यता थरि थरिका


प्राकृतिक नागढुंगा, केदारढुंगा, पुराना मठ–मन्दिर, बागबुट्टे निगालो, पाँचऔँले, बझाङी पादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तीर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउन सक्छ। डाँफेकोट, घोडादाउने पाटन र खप्तड दहमा पुगेर प्राकृतिक आनन्द लिने कुरा त खप्तडको विशेषता नै हो। ३ हजार २ सय मिटर उचाइमा रहेको खप्तडमा अत्यधिक चिसो हुन्छ। पाटनहरू हिउँले सेताम्मे हुन्छन्। सानो हावाको झोँकामा पनि सुसेरा हालेझैँ गर्ने रानीसल्ला, बाँच, नौरंगी लालीगुराँस, खस्रोउ, लेकसल्ला, लोठसल्लाका रुखको आनन्द लिने कोही छैनन्।

तस्बिरः खीमा महतरा

चार रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैँचा हो। नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २ सय २४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ। प्रकृतिको यो अनौठो संग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन्। खस्रे भ्यागुता र बझाङे पा गरी दुई प्रजातिका रैथाने उभयचर बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो। विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोता छन्। यो १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो। यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो।

प्रकृतिको धेरै उपहार एकै थलोमा


पारिपट्टि नजिकै जसरी लहरै हिमशृंखला । यता वारि फराकिला पाटनमा तपतप चुहिने सेताम्मे हिउँ । मधुर स्वरमा चिरबिर गर्दै भुर्र–भुर्र उड्ने चरा । जिस्क्याएझैँ गरी झाडी र पाटनमा लुकामारी खेल्दै आगन्तुकहरूलाई स्वागत गर्ने मृग एवं कस्तूरी । अञ्जुलीमा उठाएर पिउँदा अमृत बिर्साउने कञ्चन अनि कलकल बग्ने खोलाको पानी । कतै पहाड, कतै खोँच, कतै पाटन अनि सिमसार । सुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको थाप्लोमा पर्ने भूस्वर्ग खप्तडले अनेकौँ विविधता बोकेको छ।

तस्बिर: सुदर्शन पाण्डेय

वास्तवमा खप्तड अलौकिक छ । सुन्दर छ । अनुपम छ। धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक सबै हिसाबले अद्वितीय छ । खप्तडमा सिजन अनुसार जंगली फूल, हिउँ फूल तथा हिमाल हेर्न पाइन्छ । अपी र साइपाल हिमाल प्रस्टै देखिन्छन् । अन्य थुप्रै हिमशृंखला खप्तडको समानान्तर देखिँदा मन प्रफुल्ल हुन्छ । यहाँका फराकिला ठूला पाटनले बेलायतको घाँसे मैदानलाई बिर्साउँछ । खप्तडमा वर्षभरि घुमे पनि अघाइँदैन ।

दुर्लभ जीवजन्तु, वनस्पति एवं अनुपम प्राकृतिक छटायुक्त खप्तडले भूस्वर्गको उपमा त्यसै पाएको होइन । खप्तड काव्ययात्रा पुस्तकमा राष्ट्रिय गानका रचनाकार तथा गीतकार व्याकुल माइलाले खप्तड घुमफिरपछि लेखेका छन्–‘नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो–खप्तड ।’

थरीथरीका फूल फुलेर रंगीन हुने खप्तडका पाटनको दृश्य उत्तिकै लोभलाग्दो हुन्छ । महँगो अत्तर बिर्साउने फूलको मगमग बासनाले खप्तड पुग्ने जोसुकैको आँत हरर्र बनाइदिन्छ । चैतदेखि कात्तिकसम्म फूलैफूलले ढाकिने खप्तड हिउँदमा सेतो आँचलमा छोपिन्छ । चिसो भए पनि परिवेश रोमाञ्चक भैदिन्छ । पर्यटकहरू खप्तडमा जुनसुकै बेला रमाउन सक्छन्, खप्तडबाट प्राकृतिक प्रेम सिक्न सक्छन् ।

वनस्पति तथा जडीबुटी छन् अथाह


०४३ असार ९ मा स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २ सय २५ वर्गकिलोमिटर छ । निकुञ्ज कार्यालयका अनुसार यो निकुञ्ज अन्तर्गत वन क्षेत्र १ सय ९९ दशमलव ७३, घाँसे मैदान १३ दशमलव ४७, कृषि भूमि ९ र झाडी बुट्यान २ दशमलव ८० वर्गकिलोमिटर छ । यहाँ ५२ पाटन (चौर), ५३ थुम्का तथा २२ वटा दह छन् ।

खप्तडमा ३ सय ८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन् जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २ सय ३, लहरा ८ र उन्यू १९ प्रजातिका छन् । यो क्षेत्र कालकूट, पाँच औंले, नीरमसीजस्ता जडीबुटीको भण्डार मानिन्छ । लेकसल्लो, भोजपत्र, खस्रु, गुराँस, रानीसल्लो, उत्तीस, महुवा, लौठसल्ला आदिका रूख–वनस्पति पनि त्यहाँ पाइन्छन् ।

१२ वटा गुफा भएको खप्तड क्षेत्रमा २ सय ८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप तथा ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन्। हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तूरी, चितुवा आदि जनावर खप्तडमा उपलब्ध हुन्छन्। कस्तूरी मृग, चरीबाघ तथा ब्वाँसो जस्ता संरक्षित जीव खप्तडका सम्पत्ति नै हुन्।

पौराणिक महत्व बोकेको भूमि खप्तड बाबाको ध्यान भूमि


खप्तडको धार्मिक एवं पौराणिक महत्व छ । स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ पर्वत भनिएको छ । खेचर शब्द अप्रभंश हुँदै जाँदा खप्तड भएको स्थानीय बासिन्दाहरू बताउँछन। पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताहरू गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने आर्षपुराण आदि विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

देवीदेवता एवं सिद्धहरूको क्रीडास्थल खप्तड ऋषिमुनिहरूको पनि तपस्थल हो । युधिष्ठिर र पाण्डव पनि यतैबाट स्वर्ग गएको पौराणिक मान्यता छ । खप्तडको त्रिवेणी धाममा लाग्ने गङ्गा दशहरा मेला भरे मोक्ष प्राप्त हुने जनविश्वास छ । सहस्त्रलिङ्ग, केदार ढुङ्गा, नागढुङ्गा, भुदेउ ढुङ्गालाई शिव स्वरूप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ ।

तस्बिरः खीमा महतरा

घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिटको उचाइमा खप्तड बाबाको कुटी छ । बझाङ राज्यका अध्येता विष्णुभक्त शास्त्रीका अनुसार माझको झुत्ती भन्ने ठाउँमा अवस्थित यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तड बाबाका लागि निर्माण गरिदिएका थिए । स्लेटले छाएको यो कुटीमा योग साधना कक्ष, गर्भगृह तथा तप योग कक्ष आदि छन् ।

खप्तड स्वामीले त्यहाँ झन्डै ५० वर्ष साधना गरेका थिए । सुदूरपश्चिमको परम्परागत शैलीमा निर्माण गरिएको उक्त कुटीमा खप्तडबाबाले प्रयोग गरेका सामग्री, उनले लेखेका तथा अध्ययन गरेका पुस्तक लगायत अरू विभिन्न सामग्री अहिले पनि सुरक्षित छन् ।

धार्मिक महत्व बोकेको तपोभूमि


वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दूहरूको पवित्र तीर्थस्थान मानिन्छ। यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ। यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्र लिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरू निकै प्रख्यात छन्।

पुराण अनुसार महादेवले खप्तडको जडीबुटी प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ। खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू सदियौँदेखि प्रचलित र प्रख्यात छन्। हरेक ज्येष्ठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ ठूलो मेला लाग्छ। हजारौँ तीर्थयात्री र आन्तरिक पर्यटक पुग्छन् र त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्दछन्।

खप्तड स्वामीद्वारा लिखित धर्म विज्ञानमा उल्लेख भए अनुसार सोलिङ्ग खोला सहस्त्रलिङ्ग भएर बग्दै आउँछ । यसलाई ‘गङ्गा नदी’ भनिन्छ । डाँफेकोट भएर डाँफेकोट खोला बग्दै आउँछ । यसलाई ‘यमुना’ भनिन्छ । यसैगरी प्राचिन धर्मशाला मुन्तिर गुप्त बगेकी नदीलाई ‘सरस्वती नदी’ भनिन्छ । गङ्गा, यमुना र सरस्वतीको संगमस्थललाई नै त्रिवेणी भनिन्छ । निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गङ्गा दशहराका दिन मेला लाग्छ । उक्त त्रिवेणीमा स्नान गर्दा इच्छित फल प्राप्त हुनुका साथै पाप मोक्ष हुने जनविश्वास छ ।

समुद्री सतहबाट करिब १२ हजार फिटको उचाइमा रहेका तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्रलिङ्गका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीय बासिन्दाहरूले शंकरी शिला पनि भन्छन्। उक्त शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती तथा तेस्रोमा भगवान् गणेश विराजमान भएको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिङ्ग आकारका सयौँ स–साना चुचुरा छन् । धार्मिक ग्रन्थहरूमा उक्त सहस्रलिङ्गको महत्व काशी विश्वनाथ जत्तिकै बताइएको छ । तीर्थालुहरूले श्रद्धा–भक्तिका साथ त्यहाँ पूजाआजा गर्छन् । मनोकामना पूरा होस् भनेर सहस्रलिङ्गमा घण्ट चढाइन्छ।

तस्बिर: सुदर्शन पाण्डेय

करिब १ सय मिटर चौडाइ तथा ५० मिटर लम्बाइको यो तालको उद्गम र निकास छैन । यद्यपि यो दहमा बाह्रै महिना पानीको सतह भने एकनास रहन्छ । अर्काे अनौठो कुरा यो दहका दुई वटा नाम छन् र त्यसमा दुई रंगको पानी देखिन्छ । आधा दहमा निर्मल सेतो पानी हुन्छ । यसलाई खापर दह भनिन्छ । यसलाई दुधिर वीरको रूप मानिन्छ भने धमिलो पानी भएको आधा दहलाई अशंखी भनिन्छ र त्यसलाई नीलकण्ठ कालीको रूप मानिन्छ । यो दहको उत्तरमा काठैकाठले बनेको जगन्नाथको मन्दिर छ । छेवैमा हवनकुण्ड छ । यो मन्दिर तेह्राै शताब्दीभन्दा पहिले नै निर्माण भएको खप्तडको धार्मिक महत्वका अनुसन्धानकर्ता एवं पूर्व सचिव विष्णुप्रसाद खत्रीको भनाइ छ।

अर्काे अनौठो कुरा दलितलाई छोइछिटो गर्ने चलन रहेको सुदूरपश्चिममा यो मन्दिरका मूल पुजारी सार्की जातिका मानिसहरू हुनु हो। यति मात्र होइन त्यहाँ सार्की जातका पुजारीले दाँतले चपाएको चामलको अक्षता प्रसादका रूपमा चढाइन्छ। हरेक वर्ष भदौमा त्यहाँ ठूलो मेला लाग्छ । पूर्णिमाका दिन पुजारी गाउँ, बझाङबाट खापर जगन्नाथको डोली आउँछ।

केदारढुंगा त्रिवेणीधाम नजिकै छ । यसको कथा महाभारतसँग जोडिएको छ । महाभारतको युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचन गर्न पाण्डवहरू खप्तडको पाटन आइपुगे । पाण्डवहरूले त्यहाँ पूजा, होम, तर्पण आदि गरेपछि उनीहरू शिवजीको दर्शनका लागि एकाग्र भए । राँगा–भैँसीको बथानमा राँगाको भेषमा विचरण गरिरहेका शिवको दर्शन टाढैबाट गरे पनि नजिकै पुग्दा ती शिवस्वरूप केदार विशाल शिलामा परिणत भैसकेका थिए । तीर्थालुहरू अहिले त्यसको पूजाआजा गर्छन्। बझाङको खप्तड छान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन्। ती दुईवटा मन्दिरको बीचमा एउटा यज्ञमण्डप छ । मन्दिर नजिकै तीनवटा धर्मशाला छन । यहाँ हरेक चैत तथा असोज महिनाको अष्टमीका दिन पूजा आजा हुन्छ ।

वर्षभरी नै घुम्न मिल्ने गन्तव्य


अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य हो खप्तड । खप्तडको प्रचारमा खप्तड बाबाको योगदान ठूलो छ। जीवनको लामो कालखण्ड उनले यहाँ बिताएका थिए। योग, ध्यान र साधना गरेर बसे उनी। जाडोमा उनी तराई झर्थे, अरुबेला खप्तडमै बिताउँथे। उनलाई भेट्न राजा वीरेन्द्र हेलिकप्टरमा खप्तड पुग्थे।

ठूल–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य। प्रकृतिको सुन्दर आँगनमा पुग्दा मन हल्का हुन्छ। तनाबबाट मुक्ति मिल्छ। वर्षैभरी घुम्न सकिन्छ खप्तडमा। जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको उज्यालो छाउँछ खप्तडमा। त्यस क्षेत्रबाट अपि शैपाल मात्रै होईन, केही भारतीय हिमाल पनि देखिन्छ।

आवश्यक छ पूर्वाधार र सडक


माल पाएर पनि चाल पाएका छैनौँ हामीले । खप्तड जस्तो पवित्र भूमिलाई पर्यटकीय गन्तव्य बनाउन धेरै काम गर्न बाँकी छ। सँगै पदमार्ग स्तरोन्नती, होटल सुविधा र ठाउँ ठाउँमा आराम गृह जरुरी छ। खप्तडको पर्यटन विकासका लागि पर्यटन मन्त्रालय अन्तर्गत खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ।

समिति गठन गरिए पनि हुनुपर्ने जति विकास र प्रचार हुन सकेको छैन। खप्तड पर्यटन विकास समितिका निर्देशक भीम खड्का यो क्षेत्रमा पूर्वाधार विकासको काम भइरहेको बताउँछन्।

‘पछिल्लो समय खप्तडमा पूर्वाधार विकास भइरहेको छ। खप्तड क्षेत्रमा १५० जनाका लागि आवास हुने दुई ठाउँमा संरचना बन्दै छन् भने सडक सञ्जाल जोड्ने तयारी गर्न प्रदेश सरकारले योजना अगाडि सारेको छ’, खड्काले भने’, पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले थप जोड दिनुपर्छ।’

सुदूरपश्चिममै छ खप्तड धर्तीको भूस्वर्ग
२२ पाटन, ५२ झोतीको संगमको गरौँ गर्व ।
पूर्वाधारको कमि छ अब गरौँ खप्तडको विकास
सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनको यही हो ठूलो आश ।।

असार २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्