इटालीको कीर्तिमानी यात्राका कीर्तिमानधारी सहयात्री : गोलकिपर दोन्नरुम्मा जसलाई एक गोल गर्न पनि मुस्किल छ

प्रशिक्षणका क्रममा इटालीका पूर्व गोलरक्षक बुफोनसँग दोन्नरुम्मा। फाइल तस्विर

फेरी एकपटक इटालीले विपक्षीलाई गोल गर्न दिएको थिएन र सबैभन्दा लामो समय गोल नब्यहोर्ने आफ्नै विश्व कीर्तिमान तोडेको थियो।

युरो कप २०२० को प्रिक्वाटरफाइनलमा खेल्दै यो सफलता प्राप्त गर्नु इटालीका लागि स्मरणीय क्षण थियो। यसअघि इटालीले एक हजार एक सय ४३ मिनेटसम्म गोल ब्यहोरेको थिएन।

आफुले पनि गोल गर्न नसकेको र नकआउट चरण भएकाले खेल अतिरिक्त समयमा धकेलियो। निर्धारित ९० मिनेटमा इटालीलाई रोकेको अस्ट्रिया ९५ औँ मिनेटमा पछाडि परेको थियो।

१ सय ५ औँ मिनेटमा इटालीले अग्रता दोब्बर बनायो र क्वाटरफाइनल नजिक पुग्यो। तर एक सय १४ मिनेटमा इटालीले गोल ब्यहोर्‍यो।

इटालीले अन्तर्राष्ट्रिय फुटबलमा एक हजार १ सय ६८ मिनेटपछि पहिलो गोल ब्यहोरेको थियो। इटालीले यो खेल जित्यो र अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३० खेलसम्म नहार्ने यसअघि आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गर्‍यो।

इटाली अहिले युरो कपको सेमिफाइनल पुगेको छ र मंगलबार राती स्पेनसँग खेल्दै छ।

अन्तर्राष्ट्रिय फुटबलमा लगातार खेल नहार्ने सर्वाधिक खेलको कीर्तिमान ३५ खेलको छ जुन ब्राजिल र स्पेनको नाममा संयुक्त छ। तर इटालीलाई गोल नै गर्न मुस्किल भइरहेका कारण उसको यस अपराजित यात्राको चर्चा छुट्टै छ। इटालीका गोलकिपर जियाँलुइगी दोन्नरुम्मा यो सफलताको केन्द्रमा छन्।

२२ वर्ष मात्र उमेर भएका दोन्नरुम्माका नाममा केही कीर्तिमानहरु लेखिसकेका छन्। इटालीले भर्खरै कायम गरेको लगातार धेरै समय गोल नब्यहोर्ने विश्व कीर्तिमानमा दोन्नरुम्माले मात्र ९ सय ८७ मिनेट खेलेका थिए। अस्ट्रियासँगको खेल अघि इटालीले लगातार ११ खेलमा एक पनि ब्यहोरेको थिएन।

यसअघि इटालीले सन् १९७२ देखि १९७४ सम्म एक हजार एक सय ४३ मिनेट लगातार गोल नब्यहोरेर विश्व कीर्तिमान बनाएको थियो। ती सबै मिनेट गोलरक्षक डिनो जफ एक्लैले खेलेका थिए। दोन्नरुम्मा ‘खास’ देखिन्छन्। उनले इटालीका लागि हालसम्म ३१ खेल खेलेका छन् जसमध्ये १८ खेलमा इटालीले गोल ब्यहोरेको छैन।

‘उनी अद्धितिय क्षमताका गोलकिपर हुन्। २२ वर्षको उमेरमा उनले एसि मिलानको पहिलो रोजाइको गोलकिपर भएर धेरै सिजन खेलिसकेका छन्। यो राष्ट्रिय टोलीहरुले जुन कीर्तिमानहरु बनाइरहेको छ, त्यसबाट म प्रभावित छु। खेलकुदमा अंक सबै कुरा हो। यो युवा टिमको भविस्य राम्रो छ र आफ्नो छुट्टै पहिचान बनाउन थाल्ने छ’,  सन् १९६८ मा युरोकप र १९८२ मा विश्वकप जितेका गोलकिपर जफ, दोन्नरुम्माबारे भन्छन्। हुनपनि दोन्नरुम्माले इटालीका लागि खेलेका कुनैपनि खेलमा एक गोलभन्दा बढी ब्यहोरेका छैनन्। आधाभन्दा बढि खेलमा विपक्षीले उनलाई गोल नै गर्न सकेका छैनन्।

आदर्श बुफोन अनि उनैलाई विस्थापन 

इटालीका भेट्रान गोलकिपर जियाँलुइगी बुफोनले सिनियर राष्ट्रिय टोलीबाट खेल्न थाल्दा  दोन्नरुम्मा जन्मिएका पनि थिएनन् ।

४३ वर्षीय बुफोन अझैपनि खेलिरहेका छन्। गोलकिपरका रुपमा र फुटबलरका रुपमा बुफोनको छाप विश्व फुटबलमा बेजोड छ। इटालीमा नहुने कुरै भएन। सन् २००६ को विश्वकप इटालीले जित्दा फाइनलमा बुफोन निर्णायक थिए।

यस्ता धेरै खेल छन् जुन हेरेर फुटबलहरु आफु पनि गोलकिपर बन्ने सपना देख्न सक्छन्। दोन्नरुम्मा पनि त्यस्तै भए। ५ वर्षको उमेरमा उनलाई नापोलीको एकेडेमीमा भर्ना गरिएको थियो। १४ वर्षको हुँदा उनलाई एसि मिलानले आबद्ध गर्‍यो।

उनीले एसि मिलानबाट सुरुमा युथ फुटबल खेले। सन् २०१५ मा उनले राष्ट्रिय टोलीबाट यू-१७ युरोपियन च्याम्पियनसिप खेले। त्यसै वर्ष यू-२१ राष्ट्रिय टोलीबाट पनि खेले। त्यसको बलियो आधार एसि मिलानबाट तयार गरिरहेका थिए।

उनलाई त्यसै वर्ष एसि मिलानले सिनियर टोलीमा ल्याइसकेको थियो। एसि मिलानमा तेस्रो रोजाईका गोलकिपर थिए। तर चाँडै उनी पहिलो रोजाईमा उक्लिए। सन् २०१५ को अक्टोबरमा उनले पहिलो रोजाइका डिएगो लोपेजलाई पछाडि पार्दै ‘स्टार्टिङ-११’ मा ठाउँ बनाए, सिरि एअन्तर्गत सस्सुओलोविरुद्ध खेलका लागि। त्यस खेलमा एसि मिलान २-१ गोलले विजयी भयो।

इटालियन सिरि ए फुटबलमा उनी सुरुवाती-११ बाट खेल्ने दोस्रो सबैभन्दा कम उमेरको गोलकिपर बनेका थिए। त्यसपछिका लगातार दुई खेलमा पनि एसि मिलान विजयी भयो। दोन्नरुम्माले ठाउँ लिएका गोलकिपर लोपेजले उनी क्लबको भविस्य भएको बताउन थालिसकेका थिए। अब दोन्नरुम्मा नियमित पहिलो रोजाइका गोलकिपर हुन थाले। सन् २०१६ मा उनलाई इटालीको सिनियर राष्ट्रिय टोलीमा बोलाइएको थियो, युरोकपपछि।

उनी  इटालीको राष्ट्रिय टोलीमा पर्ने सन् १९११ यताकै सबैभन्दा कम उमेरका खेलाडी  बनेका थिए।  फ्रान्सविरुद्धको मैत्रिपूर्ण खेलमा उनले पहिलो हाफमा बुफोनलाई विस्थापन गरेका थिए र इटालीका लागि खेल्ने सबैभन्दा कम उमेरको गोलकिपरको कीर्तिमान बनाएका थिए। सन् २०१७ को मार्चमा उनी इटालीको स्टार्टिङ-११ मा पर्न सफल भएका थिए, नेदरल्याण्ड्सविरुद्धको खेलका लागि। उनी इटालीको स्टार्टिङ-११ मा पर्ने सबैभन्दा कम उमेरको गोलकिपर बने।

त्यतिबेला इटालीको टोलीमा बुफोनसहित साल्भागोर टिरिगु पनि थिए। टिरिगुले सन् २०१० मै इटालीको राष्ट्रिय टोलीका लागि खेलिसकेका थिए। तर टोलीमा बुफोनको विकल्प दोन्नरुम्मा हुँदै थिए।  सन् २०१८ को विश्वकपका इटाली छनोट नभएपछि टोलीमा ब्यापक ‘रिफर्म’ भयो। सन् २०१८ मा रोबर्टो म्यानसिनी प्रशिक्षकका रुपमा भित्रिए भने बुफोनले पनि सन्न्याश लिए।

त्यसै वर्षदेखि दोन्नरुम्माले राष्ट्रिय टोलीमा पहिलो रोजाईबाट नियमित खेलिरहेका छन्। इटालीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सन् २०१८ को सेप्टेम्बरयता हार ब्यहोरेको छैन। यसबीचमा २७ जित र ५ बराबरीको नतिजा निकालेको छ। यी खेलमा ९ गोल ब्यहोरेको छ भने ८५ गोल गरेको छ। इटालीले पछिल्ला लगातार १३ खेल जितेको छ। यीमध्ये पछिल्ला लगातार दुई खेल अतिरिक्त समयमा पुगेका छन्। जारी युरोकपको क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २-१ गोलले हराएको थियो। बेल्जियमले पहिलो हाफको अन्त्यतिर गरेको गोल पेनाल्टीमार्फत थियो।

‘हाम्रो उदेश्य भनेको कुनैपनि खेलमा गोल नब्यहोर्नु हो। हामी रक्षात्मकरुपमा निकै राम्रो गरिरहेका छौँ र यसलाई कायम राख्न प्रयाश गर्ने छौँ। धेरै खेलमा गोल नब्यहोर्नु गर्वको कुरा हो। तर त्योभन्दा महत्वपूर्ण टिम र टिमको जित हो’, दोन्नरुम्माले युरोपियन फुटबल महासंघ-यूईएफएको आधिकारिक अनलाइनसँग कुरा गर्दै भनेका छन्। इटालीको जर्सी लगाउँदा शब्दमा बयान नै गर्न नसकिने अनुभव हुने उनको भनाई छ।

भन्छन्, ‘म आशा गर्छु, यो जर्सी लामो-लामो समयका लागि लगाउन पाउँ। म अघिका गोलकिपरहरुले इतिहाँस बनाएको मलाई थाहा छ तर यसको दबाब ममा छैन।  उनिहरुको पदचाप पछ्याँउन पाउँदा गर्व लाग्छ। बुफोनका कीर्तिमानले धेरै उत्प्रेरित गर्छ। यो सजिलो छैन तर म उनिहरुका कीर्तिमानलाई तोड्न प्रयाश गर्ने छु।’

असार २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्