क्लिन फिड लागू गर्न किन गर्दैछ सरकार आलटाल?

सोमप्रसाद धिताल। फाइल फोटो।

काठमाडौँ– सरकारले क्लिन फिड लागू गरेको करिब ८ महिना बितिसक्दा पनि विदेशी विज्ञापनहरु प्रसारण हुन अझै रोकिएको छैन। गत कात्तिक ८ गतेबाट सरकारले क्लिन फिड लागू गरेको थियो। जस अनुसार विदेशी विज्ञापन प्रसारण बन्द गर्नुपर्ने हुन्छ। तर अझै पनि टेलिभिजनमा विदेशी विज्ञापन प्रसारण नरोकिएको अवस्था छ।

नेपाल विज्ञापन संघका अध्यक्ष सोमप्रसाद धितालले विदेशी विज्ञापन प्रसारण हुन अलि कम भएपनि पूर्ण रुपमा भने बन्द हुन नसकेको बताए।

उनका अनुसार सूचना तथा प्रविधि मन्त्रालय र विज्ञापन बोर्डले सक्रिय रुपमा काम गरेको खण्डमा यो पूर्ण रुपमा बन्द हुन एक महिना पनि लाग्दैन।

‘क्लिन फिड लागू नभएको होइन, पूर्ण रुपमा भने लागु भएको छैन,’ उनले भने, ‘सूचना तथा प्रविधि मन्त्रालय र विज्ञापन बोर्डले सक्रिय रुपमा काम गरदियो भने यो पूर्ण रुपमा एक महिनामा बन्द हुन्छ।’

सरकारसँगै यस क्षेत्रसँग आबद्ध सरोकारवालाहरुले पनि सक्रिय रुपमा काम गरेमा क्लिन फिड पूर्ण रुपमा लागु हुने उनको भनाइ छ। यस विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको उनले बताए।

‘यस विषयमा सरोकारवालाहरुसँग छलफल भइरहेको छ। विज्ञापन बोर्डले पनि काम गरिरहेको छ। यो एक डेढ महिनामा बन्द हुन्छ,’ उनले भने।

यस्तै कोभिडका कारणले पनि यसमा ढिलाई भएको हो भने केही व्यवसायीहरुले अटेर गरेको उनको भनाइ छ। ‘विदेशी तथा नेपालका च्यानल  व्यवसायीहरुमध्ये क्लिन फिड केहीले लागु गरिसकेका छन्,’ उनले भने, ‘केहीले अटेर गरिरहेका छन्। त्यो हिसाबले यो ऐन कडाइका साथ लागु हुनु पर्‍यो भन्ने कुरामा हामी अगाडि बढिरहेका छौँ।’

यस्तै क्लिन फिड पूर्ण रुपमा लागु नहुनुमा प्राविधिक कारण पनि रहेको उनले बताए। ‘पूर्ण रुपमा विदेशी विज्ञापन रोक्न टेक्निकल कुराले पनि समस्या भएको छ। विज्ञापनरहित च्यानल बनाउन प्रसारण संस्थाले चाहनु पर्‍यो कि वितरक संस्थाले चाहनु पर्‍यो। उहाँहरुको बीचमा संयोजन भएन भने यो गाह्रो छ। वितरक तथा प्रसारकले चाहे पनि यो काम छिट्टै हल हुन्छ,’ उनले भने।

यस समस्यालाई हल गरिदिनआफूहरुले सरकार समक्ष आग्रह गरेको उनले बताए।

उनका अनुसार नेपालको विज्ञापन बजार करिब १२ अर्ब रुपैयाँको छ। कोरोनाका कारण तलमाथि भए पनि यो सामान्य भएमा अझै दुई/चार करोड बढ्छ।

‘नेपालको विज्ञापनको बजार करिब १२ अर्ब रुपैयाँ बराबरको छ,’ उनले भने, ‘कोभिड नभएको भए बढ्थ्यो। क्लिन फिड पूर्ण रुपमा लागु भयो भने मार्केट बढ्छ।’

तर सरकारले यसतर्फ चासो नदिएको उनको भनाइ छ। सरकारले हेलचक्र्याइँ गरेको उनको आरोप छ।

यस्तै क्लिन फिड लागू भइसकेको अवस्थामा विदेशी च्यानल विज्ञापनरहित हुनुपर्ने विज्ञापन बोर्डले जनाएको छ। बोर्डकाअनुसार अझै विज्ञापन प्रसारण भइरहेको छ भने त्यो गैरकानूनी हो। यदी कसैले यसरी विज्ञापन प्रसारण गरिरहेको छ भने उनीहरुलाई कारबाही गरिने विज्ञापन बोर्डले जानकारी दिएको छ।

असार २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्