ब्राजिलविरुद्ध इतिहासमा कमजोर पेरु जसले पछिल्ला ५ भिडन्तमा १६ गोल ब्यहोरेको छ

इतिहास र त्यसमा पनि पछिल्ला भिडन्तहरु हेर्ने हो भने ब्राजिल जारी कोपा अमेरिका फुटबलको फाइनलमा सहजै पुग्न सक्छ।

मंगलबार बिहान नेपाली समयअनुसार पौने ५ बजे सुरु हुने सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्दै छ जसलाई दुई साता अघि भएको समूहगत चरणको खेलमा ४-० गोलले हराएको थियो।

ब्राजिलले दुई वर्षअघि आयोजित कोपा अमेरिकाको पछिल्लो संस्करणमा पेरुलाई नै हराएर उपाधि जितेको थियो। त्यस खेलमा ब्राजिल ३-१ गोलले विजयी भएको थियो। त्यतिबेला पनि यी दुई टोली समूहगत चरणमा भिडेका थिए। त्यस खेलमा ब्राजिल ५-० गोलले विजयी भएको थियो।

ब्राजिलले पेरुविरुद्ध पछिल्ला ६ भिडन्तमध्ये ५ वटामा जित र एकमा हार ब्यहोरेको छ। गत अक्टोबरमा भएको विश्वकप छनोटको खेलमा ब्राजिलले पेरुलाई ४-२ गोलले हराएको थियो। सन् २०१९ को सेप्टेम्बरमा भएको मैत्रिपूर्ण खेलमा भने पेरुले ब्राजिललाई १-० गोलले पराजित गरेको थियो। सन् १९९७ मा भएको कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलले पेरुलाई ७-० गोलले हराएको थियो।

ब्राजिल १२ खेलयता अपराजित रहेको छ। उसले अन्तिमपटक अर्जेन्टिनासँग हार ब्यहोरेको थियो, सन् २०१९ को अक्टोबरमा भएको मैत्रिपूर्ण खेलमा १-० गोलले। त्यसयता ११ जित र १ बराबरीको नतिजा निकालेको छ।

जारी प्रतियोगितामा पहिलो चरणमा ब्राजिलले इक्वेडरसँग अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्नुअघि तीनवटै खेल जितेको थियो। क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० गोलले हराएको हो। लुकास पाक्वेटाले ४६ औँ मिनेटमा गोल गरेको थियो। त्यसको दुई मिनेटमा गाब्रियल जिससले रातो कार्ड पाएर ब्राजिल १० खेलाडीमा सिमित भएको थियो।

ब्राजिल उपाधि रक्षा गर्ने प्रयाशमा छ। यसअघि उसले अन्तिमपटक सन् २००७ मा कोपा अमेरिकाको उपाधि रक्षा गरेको थियो। पेरुले सेमिफाइनलको यात्रा तय गर्न क्वाटरफाइनलमा पाराग्वेलाई टाइब्रेकरमा हराएको थियो। समूहगत चरणका अन्तिम दुई खेलमा गोल गरेका स्ट्राइकर आन्ड्रे कारिल्लोले पाराग्वेविरुद्ध रातो कार्ड पाएका कारण ब्राजिलविरुद्ध उपलब्ध हुने छैनन्। यस खेलको विजेताले अर्जेन्टिना र कोलम्बियाबीच हुने खेलको विजेतासँग उपाधिका लागि खेल्ने छ।

 

असार २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्