इटाली भर्सेज स्पेन

एउटाको अपराजित यात्रा टुङ्ग्याउँदै युरोकपको फाइनल पुग्ने भिडन्त

युरो कप २०१२ को सेमिफाइनल इटालीका लागि यादगार छ। त्यतिबेला उपाधिको बलियो दाबेदार जर्मनीलाई २-१ गोलले पराजित गर्दै इटाली फाइनल पुगेको थियो।

तर दुर्भाग्य इटालीले उपाधि भिडन्तमा, युरोकप फाइनलको इतिहासकै नमिठो हार बेहोर्‍यो। उसलाई ४-० गोलले पराजित गर्ने टोली स्पेन थियो र युरोकप इतिहासमै सर्वाधिक ठूलो सफलता प्राप्त गरेको थियो। त्यो के भने, त्यसअघि लगातार दुई युरोकप र विश्वकप कुनै पनि टोलीले जितेको थिएन।

स्पेनले २००८  र २०१२ मा युरोकप र २०१० मा विश्वकप जितेको थियो। त्यतिबेला स्पेनको ‘सर्ट पास’ शैलीले विश्वका फुटबल शक्ति राष्ट्रहरुलाई हैरान बनाएको थियो। तर सन् २०१४ को विश्वकपसम्म आइपुग्दा ‘सर्ट पास’ शैलीले सफलता प्राप्त गर्न छाडिसकेको थियो। त्यस प्रतियोगितामा स्पेन पहिलो चरणबाटै बाहिरियो।

स्पेनिस टोलीका धेरै खेलाडी करियरको अन्तिम समयमा आइपुगेका थिए। खेलाडीको सन्यास सुरु भइसकेको थियो। युरोकपमा स्पेनको शानदार यात्रा सन् २०१६ को संस्करणमा आएर रोकियो जब प्रिक्वाटरफाइनलमा इटालीले २-० गोलले हरायो। दुर्भाग्य इटाली पनि क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन। सन् २०१८ को विश्वकपमा इटाली त छनाैट नै हुन सकेन। अधिकांश युवा खेलाडी आईसकेको स्पेनिस टोली प्रिक्वाटरफाइनलबाटै बाहिरियो।

तर त्यसयता इटाली र स्पेन दुवै शानदार लयमा छन्।

इटालीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ३ वर्षयता हार बेहोरेको छैन र यसबीचमा ३२ खेलयता अपराजित छ। स्पेनले पनि १३ खेलयता हार बेहोरेको छैन र करिब दुई वर्षयता अपराजित छ। यही पृष्ठभूमिमा मंगलबार मध्यरात युरोकपको सेमिफाइनलमा स्पेन र इटाली भिड्दैछन्।

यस खेलमा एउटा टोलीको अपराजित यात्रा टुंगिने छ र स्पेन विजयी भए ९ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्नेछन्। यता इटाली विजयी भए १५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनल पुग्ने छ। इटाली अन्तिमपटक सन् २००६ को विश्वकपको फाइनल पुगेको थियो। त्यतिबेला फ्रान्सलाई टाइब्रेकरमा हराएर उपाधि जितेको थियो।

जारी प्रतियोगितामा स्पेनले सुरुका दुई खेलमा बराबरी खेले पनि अन्तिम खेलमा स्लोभाकियामाथी ५-० गोलको  शानदार जित हात पार्दै  प्रिक्वाटरफाइनलमा स्थान बनाएको थियो। प्रिक्वाटरफाइनलमा ‍विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५-३ गोलले हराएको स्पेनले क्वाटरफाइनलमा स्विजरल्यान्डलाई २-१ गोलले पराजित गरेको थियो।

यता इटालीले समूह चरणमा तीनवटै खेलमा जित हात पारेको थियो भने प्रिक्वाटरफाइनलमा अस्ट्रियालाई २-१ र क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोलले हराएको थियो। अस्ट्रियासँगको खेल अघि  इटालीले लगातार ११ खेलमा एक पनि बेहोरेको थिएन।

इटालीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सन् २०१८ को सेप्टेम्बरयता हार ब्यहोरेको छैन। यसबीचमा २७ जित र ५ बराबरीको नतिजा निकालेको छ। यी खेलमा ९ गोल ब्यहोरेको छ भने ८५ गोल गरेको छ। इटालीले पछिल्ला लगातार १३ खेल जितेको छ। यीमध्ये पछिल्ला लगातार दुई खेल अतिरिक्त समयमा पुगेका छन्। जारी युरोकपको क्वाटरफाइनलमा इटालीले बेल्जियमलाई २-१ गोलले हराएको थियो। बेल्जियमले पहिलो हाफको अन्त्यतिर गरेको गोल पेनाल्टीमार्फत थियो।

इटाली र स्पेन अन्तिमपटक सन् २०१८ को विश्वकप छनोटमा भिडेका थिए।सन् २०१७ को सेप्टेम्बरमा भएको त्यस भिडन्तमा स्पेन ३-० गोलले विजयी भएको थियो।

असार २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्