कोरोना कहरः हुम्लाको होटल व्यवसाय जोखिममा

सिमकोट– मानसरोवर कैलाश यात्राका लागि लक्षित गरेर निर्माण भइ सञ्चालनमा आएका हिल्सा र सिमकोटका होटेलहरुको लगानी जोखिममा परेको व्यवसायीले बताएका छन्।

ठूलो धनराशी लगानी गरी सञ्चालनमा आएका होटेलहरु कोरोनाको कारण लगातार बन्द गर्नुपर्ने भएपछि व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

सिमकोटस्थित होटेल कैलाशका सञ्चालक रिन्जिन लामाले दुई वर्ष लगातार होटेल बन्द गर्नु परेपछि निक्कै चिन्ता थपिएको बताए। उनले भने, ‘बैंकको ऋण र भएको सम्पत्ति लगानी गरेर निर्माण गरी सञ्चालनमा आएको दुई वर्षमै होटेल बन्द गर्नु परेपछि लगानी सबै डुबेको छ।’

यो सिजनमा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरुले भरिभराउ हुने होटेलहरु बन्द गरेर बस्नुको विकल्प नभएको लामाले बताए।

हिल्सा र सिमकोटमा सञ्चालनमा आएका दुई दर्जनभन्दा बढी पर्यटकीय होटेलहरुको सत्तरी करोडभन्दा बढी लगानी जोखिममा परेको होटेल व्यवसायी संघका अध्यक्ष मिम बहादुर लामाले बताए। होटेल सञ्चालनमा नआएपछि बैंकबाट लिएको ऋण तिर्न पनि व्यवसायीलाई सकस भएको छ।

यता हिल्साको मानसरोवर होटेलका मालिक कर्मा लामाले ठूलो लगानी गरेर सञ्चालनमा आएका होटेल कोरोनाले चौपट पारेको बताए। उनले कोरोनाले चीनसँगको हिल्सा नाका बन्द भएपछि मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरु आउने क्रम बन्द हुँदा हिल्सामा होटेल कुरेर बस्नु पर्ने बाध्यता रहेको बताए।

२०७२ सालको भुकम्पपछि हिल्सा नाकाबाट वर्षेनी दस हजारको संख्या भारतीय पर्यटकहरु मानसरोवर कैलाशको यात्रा गर्न आउँदा हिल्सा सिमकोटमा पर्यटकीय होटेल व्यवसाय फस्टाउदो क्रममा रहेको थियो। यसबाट उत्साहित व्यवसायीहरुले ठूलो लगानी गरेर होटल खोलेका थिए।

असार २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्