प्रचण्डका घरबेटीको कम्पनी दुई वर्षलाई कालोसूचीमा पर्‍यो

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार)लाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई विभिन्न सरकारी कार्यालयको सिफारिसका आधारमा कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनीसमेत छ। कृषि सामाग्री कम्पनी लिमिटेडको सिफारिका आधारमा अनुगमन कार्यालयले शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटारलाई दुई वर्ष कालो सूचीमा राखेको हो। उक्त इन्टरप्राइजेजको प्रमुख व्यक्ति शारदाका छोरा निकेश रहेका छन्।

त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वर्ष कालो सूचीमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, डिएमएस बुट एन्डस्ट्रिज प्रालि बुढानिलकण्ठ, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, गैरीधारा परेका छन्।

यस्तै फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन सर्भिसेज प्रालि झापा, हिमालय कन्स्ट्रक्सन प्रालि संखुवासभा, सन्देश सौगात ट्रेड एण्ड सप्लायर्स मोरङ, चुनचुन फार्मेसी, पोखरा गुरा निर्माण सेवा, जुम्ला, कम्ला पोलेथिन एण्ड प्लास्टिक कम्पनी जनकपुर, अम्बा स्टोर, सुनसरी निरज स्टिल फर्निचर उद्योग लाहान, न्यू सिद्ध दउराली ट्रेडर्स चन्द्रागिरी, सोयाङ निर्माण सेवा मकवानपुर, र एसपी निर्माण सेवा, सुनसरीलाई एक वर्ष कालो सूचीमा राखिएको छ।

कालो सूचीमा राखिएको अवधिभर उनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।

असार २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्